गोरक्ष समाचारदाता
तुलसीपुर, १९ साउन । रुट परमिटअनुसार अटोहरूले नियम पालना नगर्दा अन्य ठुला तथा साना गाडी व्यवसायी मर्कामा परेका छन् । तुलसीपुरदेखि पश्चिम जाने तथा अन्य स्थानमा पनि रुट परमिटभन्दा बाहिर गएर अटो सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न टेक्सी तथा बस व्यवसायीले माग गरेका छन् ।
यातायात व्यवस्था कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका अन्तर्गत राजमार्ग बाहेक ३ किलोमिटर नगरभित्र सञ्चालन गर्न भनी रुट परमिट कायम गरी सञ्चालन गर्नु गराउनु भनी अनुमति दिए पनि अटोले मनोमानी ढङ्गबाट नगर बाहिर २२÷२४ किलोमिटरसम्ममा यात्रुहरू बोक्दा आफूहरूलाई समस्या परेको व्यवसायी बताउँछन् । ‘गाउँपालिका भित्रकाले गाउँपालिका र नगरपालिका भित्रमा ३ किलोमिटर नगभित्र सञ्चालन गर्ने भनिएको छ तर पश्चिममा रगैँचासम्म अटोहरू सञ्चालन भएका छन्, यसले गर्दा हाम्रो व्यवसाय मर्कामा परेको छ’, तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले भने ।
उनले यसमा सहजीकरण गरिदन भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय घोराही, यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङ, तुलसीपुर उपमहानगरपालिकामा समेत आफूहरूले सहजीकरणका लागि आग्रह गरेको बताए । उनले अटोले विगतमा गरेका सम्झौता समेत कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वय नगरे आफूहरूले आन्दोलन गर्ने चेतावनी दिए । ‘हामीले सबै सरोकारवाला निकायमा जानकारी गराएका छौँ, यसमा पहल गर्ने आश्वासन पाएका छौँ’, अध्यक्ष बुढाथोकीले भने । उनले आफूहरूले विभिन्न सरोकारवालालाई जानकारी गराएको र यसको कार्यान्वय नभए आफूहरू सबै गाडी सडकमा ल्याउन बाध्य हुने बताए ।
उनले अहिले पश्चिम क्षेत्रमा विभिन्न स्थानमा कर्मचारी परिचालन गरेको समेत बताए । यता जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले भने नियमानुसार सबै चल्नुपर्ने भन्दै नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही हुने बताए । ‘हामीले हेर्ने भनेको रुट परमिट तथा यात्रुमैत्री व्यवहार र ट्राफिक नियम पालना गरेको छ वा छैन भन्ने हो । उल्लङ्घन गरे कारबाही हुन्छ’, प्रमुख मल्लले भने । उनले पर्याप्त जनशक्ति नहुँदा चेकजाँचमा समस्या हुने गरेको भन्दै समस्या समाधान गर्न आफूहरू लाग्ने बताए । ‘नियम सबैले मान्नु पर्छ, नियममा तल–माथि गर्न कसैलाई छुट छैन’, उनले भने ।
त्यस्तै एक वर्ष पहिले यस्तै समस्या आएपछि अटो व्यवसायी र अन्य यातायात प्रालिबिच विभिन्न सम्झौता समेत भएको थियो तर सो सम्झौता वमोजिम अहिले अटो नचलेको व्यवसायीको गुनासो छ । पटक–पटक अटो व्यवसायीसँग सम्झौता भए पनि कार्यान्वयन नभएको तुलसीपुर यातायात प्रालिका कार्यालय प्रमुख बलबहादुर खत्रीले बताए । तुलसीपुर यातायाता प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले व्यवसायीलाई यात्रुमैत्री व्यवहारका साथै यात्रुलाई सहज यातायात सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे । उनले नियम पालना गरी गाडी सञ्चालन गर्न आग्रह गरे । ‘जहाँ पायो त्यहीँ यात्रु नझार्न तथा सडकमा जहाँ पायो त्यहीँ गाडी पार्किङ नगर्न निर्देशन दिने काम भएको छ’, उनले भने ।