सहकारीको कुपन

युवराज शर्मा
सहकारी संस्थाहरु गाउँमा भन्दा सहरबजारका केन्द्रित भएका छन् । धेरैजसो सहकारीहरु रकम बचत गर्ने र ऋण वितरण गर्ने काम मात्र गर्छन् । जो सहकारीको कार्यक्षेत्र सीमित देखिन्छ । कतिपय सहकारी संस्थाहरुका पदाधिकारी सहकारीको रकम हिनामिना गर्ने र बचतकर्ताहरुको रकम भुक्का पारेर भागेका छन् ।

दुःख–कष्ट गरेका बचतकर्ताहरु चिल्ली विचल्लीमा छन् । उनीहरुको बचत रकम पनि कहिले कसरी पाउने हो ? सरकार मौन छ । वर्तमान समयमा जसले जसलाई ठग्न सक्यो त्यो बहादुर, साहसी र कमाइ गर्नसक्ने व्यक्तिमा गनिन्छ । त्यस्ता व्यक्तिलाई सरकारबाट कदर भएको पाइन्छ । शिक्षित, सरल, ज्ञानी व्यक्तिभन्दा मूर्खहरुको सङ्गत उत्तम गन्नेहरु धेरै छन् ।त्यसैले होला आजभोलि सहकारीहरुले आफ्ना समस्याहरु दर्शाउनका लागि कुपनको व्यवस्था गरेका छन् । भन्छन्– सेवाग्राहीलाई सहजताका लागि कुपन व्यवस्था उत्तम तरिका अपनाइएको छ ।

पहिले रामपुर गाउँ विकास समिति थियो । अहिले उक्त गाउँ विकास समिति घोराही उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १ र २ मा विभाजित छ । वडा नं. २ मा दुईवटा सहकारी संस्थाहरु छन् । जसमा साना किसान सहकारी संस्था र जैविक विविधता कृषक सहकारी संस्था हुन् । यी दुवै सहकारीहरुले रासायनिक मल बेच्छन् । साना किसानले कुपन बाँडेर बेच्छन् । जैविक विविधता कृषक सहकारी संस्थाले बिउ उत्पादनलाई रासायनिक मल बेच्छ । विभिन्न जातका बिउहरु सङ्कलन गरेको छ ।

दाङको रैथाने बिउहरु भण्डारण गरेको पनि छ । साना किसान सहकारी संस्थाले बचत गर्न प्रेरणा दिन्छ । समूहगत ग्रहण लगानी गर्न । कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कार्पोरेसनको रासायनिक मल बेच्ने एजेन्ट पनि भएको छ । यी दुवैको कार्यक्षेत्र हेर्दा साना किसान सहकारी ठुलो र सम्पन्नताले भरिपूर्ण छ । बर्सेनि रासायनिक मलको बिक्री वितरण व्यवस्थित गर्न सकेको अवस्था छैन ।

खेती गर्ने जमिन र किसानलाई हेरेर रासायनिक मल बिक्री गर्नुपर्ने थियो तर त्यसो नगरेर कुपनका आधारमा मल बिक्री गर्दा मलको अभावमा खेतीपाती गर्ने कृषकहरु धेरै विचल्लीमा परेका छन् । यो दोष कसको ? सहकारीका पदाधिकारीको भन्न सकिन्छ । जवाफदेही, जिम्मेवारीपन र पारदर्शी भएको पाइएन । यस्ता विषयहरुमा सङ्घीय सरकारले ध्यान दिनुपर्छ ।

जैविक विविधता कृषक सहकारी भए पनि कृषकको समस्यातर्फ गहिरो अध्ययन छैन । वडा नं. १ का किसानलाई समयमा मल उपलब्ध गराउनु पथ्र्यो तर त्यसो गर्न सकेको पाइएन । साना किसान सहकारी संस्थाले धेरै मल कुपनबाट पाउने व्यवस्था मिलाएका छन् । लाइनमा भए पनि कुपन नै सकियो भने खाली हात फर्कनुपर्छ । पैसा तिर्दा पनि रासायनिक मल किसानले पाउन नसकेर जमिन पनि खाली (बाँझो) राख्नु परेको कथा र व्यथा सुनाउँछन् ।

रामपुर क्षेत्रमा धान, मकै, कोदो, फापर, गहुँ, जौँ, दलहनको खेती हुन्छ । साथै तरकारी खेती पनि हुन्छ । यो तरकारी उत्पादन गर्ने पकेट क्षेत्र पनि हो । वर्षा याममा गरिने खेती धान, मकै, कोदो, फापर हो । हिउँदे खेतीमा गहूँ, जौँ, तोरी दलहन बाली पर्छन् । यस्त वस्तुहरु उत्पादन गर्न रासायनिक मल चाहिन्छ तर किसानहरुले समयमा मल र बिउ पाउँदैनन् ।

साना किसान सहकारी संस्थाका ७ प्रकारका विशेषता भए पनि रासायनिक मल किसानहरुलाई बिक्री वितरण गर्ने कुपन बाहेक हर्को तरिका छैन । लाइनमा बसेर कुपन लिने र मल खरिद गर्ने तरिका छ । यसले कुन किसानलाई कति मात्रा रासायनिक मल चाहिन्छ, भन्न सकिन्न । कुनै किसानले दश बोरी लग्छ, जब कि उसको खेती गर्ने जमिन ५ कठ्ठा मात्र छ । बढी मात्राको मल पनि लगेको महँगोमा बेच्छ । वास्तवमा यो कमजोरी पदाधिकारीहरुको हो । आफ्नो विशेषता सहकारीले झल्काए पनि प्रभावकारी बन्न सकेको छैन ।

ग्रामीण स्तरमा छरिएर रहेका साना किसानद्वारा गठित समूहबाट सञ्चालन भएको, छिटो र छरिटो तथा सौलिहत व्याज दरमा सदस्यहरुलाई सरल सुलभ तरिकाले ऋण प्रवाह गर्ने, सहुलियत दरमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल (युरिया, डिएपी, पोटाँस) को व्यवस्था भएको, सदस्यहरुलाई क्षमता वृद्धिका लागि समय–समयमा अन्तत्र्रिmया तालिम गोष्ठी भ्रमण सञ्चालन गर्दै आएको, सदस्यलाई सफल व्यवसायी बनाउनका लागि सस्तो व्याजदरमा ऋण प्रवाह तथा पशु बिमा समेत गरेको, शेयर सदस्यहरुको बिमाको व्यवस्था भएको, सेयर सदस्यहरुलाई बिउविजन वितरण गर्दै आएको ।

यस्ता विशेषताको नं ३ नम्बरको काम किसानहरुका लागि भएको देखिन्छ । कृषि सहकारी भने पनि धेरै फाइदा शेयर सदस्यहरुका लागि संस्थाको जवाफदेही र जिम्मेवार देखियो । किसानहरुको हितमा सहकारी संस्था हुनुपर्दथ्यो तर देखिएन । किसानहरुको हितमा रासायनिक मल बिक्री वितरण गर्ने नयाँ तरिका अपनाउनु पर्छ । जसमा वडा नं. १ को जैविक विविधता कृषि सहकारीले किसानको खेतीयोग्य जमिनको लगत तयार गर्ने । वडा नं २ को साना किसान कृषि सहकारी संस्थाले खेतीयोग्य जमिनको लगत लिने ।

दुवैको खेतीयोग्य जमिनको लगतका आधारमा चाहिने मल, बिउ, कीट्नाशक ओखती र कृषि उपकरण व्यवस्था गर्न गराउन स्थानीय सरकारसँग माग गर्ने । मलको विक्री वितरण व्यवस्थित र पारदर्शी बनाउनुपर्ने समय भएको छ । दुवै संस्थाका अध्यक्ष र पदाधिकारीहरु समझदार र अनुभवी छन् तर किसानहरुले अनुभूति गर्ने काम गराउन नसकेको पाइयो । रासायनिक मलको वितरण गर्ने मल बिक्री वितरण कार्ड बनाउनु पर्ने हुन्छ । यसले समानरुपमा सिजनअनुसार मलको बिक्री वितरण किसानहरुलाई हुनेछ । बिचौलियाहरु कुपन लिन सहकारीमा भिड लाग्ने छैनन् । किसानहरुले बिचौलियाबाट महङ्गोमा मल किन्नुपर्ने छैन । सहकारीको मल बिक्रीको कुपन पनि हट्नेछ ।