ईंटा उद्योगका श्रमिकहरु भन्छन् : हामी घर फर्कन चाहन्छौं
खेमराज रिजाल
नारायणपुर, ४ बैसाख । दाङ जिल्लाका विभिन्न ईंटा उद्योगहरुमा रहेका श्रमिकहरुले आफुहरु घर फर्कन चाहेको बताउंदै त्यसको वातावरण मिलाउन स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका नारायणपुर स्थित मनकामना ईंटा तथा गोल्ड ईंटा उद्योगमा कार्यरत करिव ५ सय भारतीय श्रमिकहरुले सन्चारकर्मीहरु सामु बुधवार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल सरकारले विगत तीन सातादेखि लकडाउन आदेश जारीगरेपछि अन्य उद्योगसंगै जिल्लाका सवै ईंटा उद्योगहरु पनि बन्द भएका छन् । उद्योगबन्द भएसंगै पारिश्रमिकविहिन भएका भारतीय मज्दुरहरुले आफुहरुलाई काम अथवा माम दिनुपर्ने अन्यथा घरफर्काउनुपर्ने माग गरेका हुन् । ती दुई उद्योगमा रहेका कम्तिमा ५ सय भारतीय श्रमिकहरुसंगै जिल्लाभरीका इटा उद्योगहरुमा झण्डै ७ हजार भारतीय मज्दुरहरु कार्यरत छन् । उनीहरु भारतीय सिमा जिल्लाका स्थानीय नागरीक हुन् ।
ईंटा उद्योगमा काम गर्न अधिकांस मजदुरहरु परिवारसहित यहां आएका छन् । जसका कारण उनीहरुसंग कम्तिमा एक हजार वालवालिकाहरु समेत आश्रित छन् । अव्यवस्थित बसोबास गर्ने उनीहरु विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका हिसावले पनि बढि जोखिममा छन् ।
‘हामी यो अवस्थामा जसरी पनि घरफर्कन चाहन्छौं, भोकभोकै यहां बसिरहनुले झनै समस्या निम्त्याउन सक्छ’-वडहराको मनकामना इटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने । उनले आफु जसरी पनि घरजान चाहेको भन्दै आवस्यक परे भारतीय क्वारेन्टाइनमा बस्न पनि तयार रहेको अभिव्यक्ति दिए । काम विहिन भएर बस्नुपर्दा मज्दुरहरुमात्र नभएर वालवालिकाहरु समेत समस्यामा पर्ने सम्भावना आएको उनीहरुले बताएका छन् । अर्का श्रमिक सुनिता चौहान भन्छिन्, ‘न दालचामल न त दवाइको व्यवस्था, यस्तो अवस्थामा हामी जसरी पनि घरपुग्न चाहन्छौं, सरकारले हाम्रा समस्या सुन्नुपर्यो ।’ उनीसंगै उनका चार बच्चा पनि संगै छन् । उनीहरु समेत भोकभोकै पर्ने पिरलो पनि ती श्रमिकहरुसंगै छ । उनीहरुले एक महिनादेखि नियमित काम नहुंदा सातावारी पारिश्रमिकसमेत पाएका छैनन् । सांझ विहान भने हातमुखजोर्ने मेसो हालसम्म चलेको छ । लकडाउन लम्विंदै गए आफुहरुको अवस्था के हुने भन्नेमा उनीहरु चिन्तित छन् ।
स्थानीयहरु त्रसित
यस्तो परिस्थितिमा भारतीय श्रमिकहरुको वाहुल्यता भएका ईंटा उद्योग आसपासका स्थानीयबासी समेत उनीहरुकै कारण विश्वव्यापी महामारीका रुपमा आइरहेको कोरोनाको संक्रमण फैलन सक्नेमा त्रसित छन् । ‘हामी उद्योग बन्द होस भन्ने चाहेका होइनौं, तर लकडाउनको समयमा अव्यवस्थित भएर हिंडडुल र घुमफिर गर्ने भारतीय श्रमिकका कारण संक्रमण फैलन सक्नेमा त्रसित छौं’—स्थानियबासी तथा शिक्षक शरद गौतमले भने । अर्का स्थानीयबासी वडहराकै देवराज लामीछानेको भनाइमा श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउँबस्तीमा समस्या आउन सक्ने छ । ‘हामीलेनै जग्गा लिजमा दिएर उद्योग सन्चालनको वातावरण बनायौं, तर अहिलेको विषम परिस्थितिमा सकेसम्म भारतीय श्रमिकहरुलाई सहज रुपमा घरफर्कने वातावरण सरकारले गराउनुपर्दछ’—अर्का स्थानीयबासी जयवहादुर बुढाले भने ।
कतिसम्म पाल्ने ? : व्यवसायी
यसै प्रसंगमा संबन्धित ईंटा उद्योगीहरुले काम विहिन भएको अवस्थामा मजदुरहरुलाई पाल्न कठिनाइ हुने भन्दै उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारको समन्वयको अपेक्षा गरेका छन् । ‘काम रोकिएको करीव एक महिना भयो, जेनतेन दालचामलको व्यवस्थापन गरेका छौं, तर कतिसम्म गर्ने भन्नेमा हामीहरु समेत समस्यामा छौं’—मनकामना ईंटा उद्योगका सन्चालक तथा दाङ देउखुरी ईंटा व्यवसायी संघका अध्यक्ष रोम वलीले भने । विश्वभरी कोरोनाको सक्रमण फैलिइरहेकावेला नेपालमा पनि समस्या कतिसम्म रहने हो भन्नेमा कसैले पनि भन्न सक्ने अवस्था छैन । यो संवेदनशील अवस्थामा भारतीय मजदुरको व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने उनको अभिव्यक्ती थियो । लकडाउनका कारण उद्योग बन्द भएसंगै ती श्रमिकहरुलाई संबन्धित उद्योगहरुलेनै दालचामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकहरुलाई स्थानीय सरकारले भने राहत उपलव्ध गराएको छैन ।
‘यी मज्दुरहरुलाइ वोर्डरसम्म पु¥याउने आर्थिक व्यावस्थापन गर्न व्यवसायीहरु तयार छौं, तर उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाउन सरकारले कुटनीतिक पहल गरोस भन्ने चाहन्छौं’—अर्का उद्योगी किरण पोख्रेलले भने । लकडाउन भनेर मजदुरलाई भोकभोकै पार्न नहुने तर्कगर्दै हालसम्म संबन्धित उद्योगी व्यवसायीले दालचामलको व्यवस्थापन गरेको बताउंदै उनले लामो समयसम्म आफुहरुले यसरी राहत उपलव्ध गराइरहन नसक्ने पनि वताए । मौसमको प्रतिकुलतासंगै यो बर्ष ईंटा व्यवसायीहरु आर्थिक रुपले धेरै समस्यामा परिरहेका वेला अहिलेको अनुकुल मौसममा पनि काम गर्न नपाएकोमा थप समस्यामा परेको बताएका छन् । ‘पहिले मौसमले धोका दियो, अहिले महामारीको प्रकोपले प्रभाव पार्यो, हाम्रो समस्यामा सरकारपनि गम्भीर बन्नुपर्छ भन्ने हाम्रो विनम्र आग्रह हो’, पोख्रेलले भने । यो अवस्थामा अव आफुहरु समेत झोला बोकेर आफै राहत माग्न हिंड्ने अवस्था आउन सक्ने पनि उनको अभिव्यक्ति थियो । मौसम र प्रकोप सामान्य रहेको अवस्थामा असार पहिलो सातासम्म पनि ईंटा उद्योगमा दैनिक रुपमा काम गर्न सकिन्छ, तर संक्रमणको अवस्था दिनदिनै भयावह भएका कारण व्यवसायी एवं मजदुरहरु बढि त्रसित भएका हुन् ।
कुटनीतिक पहल हुनुपर्छः प्रमुख जिल्ला अधिकारी
यसैबीच प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले ईंटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुलाई घरफर्काउने सवालमा दुवैदेशवीच कुटनीतिक पहल हुनुपर्ने बताएका छन् । यसका लागि स्थानीय प्रशासनले रिपोटिङ गरिरहेको पनि उनको अभिव्यक्ति थियो ।
‘जिल्लाका हरेक ईंटा उद्योगबाट त्यहां कार्यरत भारतीय श्रमिकहरुको तथ्यांक संकलन गर्ने काम भैरहेको छ, तर घरफर्काउने सवालमा नेपाल भारत दुई देशबीच कुटनीतिक पहल हुनु आवस्यक छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने,- ‘यसको रिपोर्टिङ गृहमन्त्रालयमा भैरहेको छ ।’
