Goraksha

National Daily

अनलाइनबाट पठन–पाठन गराउँदै राप्ती बबै क्याम्पस

बालाराम खड्का

तुलसीपुर , ४ बैशाख । यहाँको एक क्याम्पसले अनलाइनबाट पठन–पाठन गराउन सुरु गरेको छ । दाङको तुलसीपुर स्थित राप्ती बबई बहुमुखी क्याम्पसले लकडाउनको समयलाई मध्यनजर गरी अनलाईनबाटै विद्यार्थीहरुलाई पठन– पाठन गराउन सुरु गरेको हो ।

क्याम्पसले व्यबस्थापन शंकायको स्नातकोत्तर तह(एमबिएस) दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई अनलाइनबाट पठन–पाठन सुरु गरिएको सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘‘केहि दिन देखि, अनलाईनबाट लेखा बिषयको पठन–पाठन शुरु गरेका छौं,’’-उनले भने । अहिले एमबिएसका केही बिषयका परीक्षा भईसकेको र लेखाको परीक्षा बाँकी रहेकाले पुनःस्मरणका लागि कक्षा लिइरहेको उनको भनाई छ ।

‘केही बिषयका परीक्षा भईसक्यो तर लकडाउनले गर्दा लेखालगायतका बिषयको परीक्षा बाँकी छ, बाँकी बिषयको परीक्षा कहिले हो निश्चित छैन, सो सम्म विद्यार्थीले पढेको कुरा नभुलुन भनेर कक्षा सुरु गरिएको हो ।’

दैनिक एक घण्टा सञ्चालन हुने कक्षा घरमा बसिबसी पढ्न पाइने भएपछि विद्यार्थीहरुले पनि यो कक्षा उपयोगी भएको बताए । बैशाख १ गतेदेखि राप्ती ववईका विद्यार्थीलाई अनलाइनबाटै तालीम प्रदान गरिरहेको छ ।

शर्माका अनुसार स्नातक र स्नातकोतरका सबै बिद्यार्थीहरुलाई अनलाईनबाटै तालीम प्रदान गरिने छ । ‘‘लकडाउनको समयमा फुर्सदमा बसिरहेका विद्यार्थीहरुलाई मध्येनजर गरि अनलाईनबाट बिभिन्न शीर्षकमा तालीम दिन सुरुगरेका छौं यो हाम्रो पहिलो अभ्यासपनि हो’’ उनले भने । पश्चिम दाङको एकमात्र सामुदायिक क्याम्पस राप्ती बबई हो ।