भुवन पोख्रेल
नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकलाई भारदारी सभाको संज्ञा दिइरहँदा पक्ष–विपक्षका मतमतान्तर सार्वजनिक भएका छन् । आलोचना र समीक्षाकै बिचमा आठ दिन चलेर साउन १० गते सकिएको कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । कांग्रेस बैठक सभापतिको इसारामा चल्ने भारदारी सभाको झल्को थियो भनी आलोचकहरुले गम्भीर आरोप लगाएका छन् ।
त्यस्तो किन देखियो भने बैठकको विमर्शको केन्द्रका राष्ट्रिय राजनीतिक मुद्दाहरु थिएनन् ।अधिकांश केन्द्रीय सदस्य वक्ताहरु सभापति शेरबहादुर देउवाको स्तुतिगानमा जुटेका थिए । सभापति संस्था हो, पार्टीको शिर हो । सभापतिमाथि सार्वजनिक टीकाटिप्पणी गर्न मिल्दैन भन्ने सबैको अभिव्यक्ति थियो । देउवाप्रति बफदारी मात्र देखिएन, यसै क्रममा वक्ताहरु महामन्त्री गगन थापामाथि खनिएर कटुआलोचना गर्न पनि चुकेनन् । गगनलाई संसदीय दलको नेता हुन हतारिएको आरोप लगाउँदै शब्द छर्राहरु बर्साए ।
त्यतिमात्र नभई वक्ताहरुले पार्टीलाई नै नोक्सान हुने गरी सार्वजनिक टीकाटिप्पणी गरेको भनी गगन थापामाथि चौतर्फी हमला र तिखो आलोचना गरे । कतिले राजिनामा नै माग्न भ्याए । कांग्रेसले आम सरोकारका मुद्दामाथि सम्बोधन र बहस होला, गर्ला भनेर कसैले पनि आशा गर्दैनन् । बरु आन्तरिक कलह र आरोप प्रत्यारोपको चाहिँ अनुमान गर्न सक्छन् । कांग्रेसको आन्तरिक जीवनमा हुने विचार विमर्श बैठकले देशमा केही पनि दिशानिर्देश गर्दैन भन्ने आम नागरिक समूहमा चेतना निर्माण भइसकेको छ । यसर्थ बैठकलाई नागरिकले नोटिसमा लिन छाडिसकेका छन् ।
चौधौँ महाधिवेशबाट शक्तिशाली सभापतिमा उदय भएका देउवाले यो बैठकमा फेरि आफ्नो वर्चस्व प्रदर्शन गरेका छन् । चौधौँ महाधिवेशनका प्रत्यासी शेखर समूह कमजोर हुँदै गएकाले देउवाको दम्भ र शक्ति अझ बढेको हो । आलोचनाको भयले कांग्रेस बैठक टार्दै आएका देउवाको उल्टै प्रशंसा भएको छ । उल्टै धन्यवादका पात्र बने ।बैठकको प्रत्यक्ष प्रसारण गरेर उनले विपक्षी आवाज कमजोर र आफू बलियो भएको सन्देश प्रवाह गरेका छन् ।
पार्टीका शीर्ष नेता गतिशील, वैचारिक र राजनीतिक रुपले तर देउवाले आफूलाई त्यसरी उभ्याउन सकेका छैनन् । जे भए पनि सत्ता राजनीतिका उनी पक्का खेलाडी सावित भएका छन् । गुट निर्माणमा माहिर उनले कांग्रेसलाई गतिशील बनाउन सकेका पक्कै छैनन् । पाँच पटक प्रधानमन्त्री बनिसकेका उनले पार्टी सुदृढीकरणका मुद्दामा आफूलाई ध्यान केन्द्रित गर्नुको साटो आफ्नो अर्जुनदृष्टि आफू कसरी छैठौँ प्रधानमन्त्री बन्ने भन्ने सत्ता लिप्सामा केन्द्रित छ ।
राजनीति अचम्मको खेल रहेछ । कोही जितेर पनि हार्छ, कोही हारेर पनि जित्छ । अहिले गगनको नियति पनि यस्तै सावित भएको छ । वैचारिक खडेरी भएको कांग्रेसमा युवा नेता गगनले देउवालाई चुनौती दिएका छन् । बैठकमा अधिकांश वक्ताले कांग्रेसको मूल नेतृत्वमाथि प्रश्न गर्नुको साटो गगनमाथि खनिनुले उनका समकालीन मात्र नभइ पाका उमेरकाले पनि गगनको आरिस र भय महसुस गरेका छन् ।
गगनले आफूलाई लोकप्रियतावाद र सार्वजनिक वाह–वाहमा मात्र सीमित नराखी साच्चिकै गतिशील नेताको पहिचान र छवि बनाउन सक्नुपर्छ । आफ्ना अडान र अभिव्यक्तिमा स्थिर हुँदै निरन्तर अधि बढ्न सके गगन गन्तव्यमा पुग्न टाढा छैन । बैठकमा सहभागी वक्ताको प्रतिक्रिया सुन्दा लाग्दछ सबैजसो गगनमाथि खनिनुले कति ‘थे्रटनिड’ महसुस रहेछ, सहजै अनुमान लगाउन सकिन्छ ।
देउवालाई सत्ता लिप्सामा सीमित हुँदै जाँदा गगन ब्राण्ड पनि बलियो नहोला भन्न सकिन्छ । कांग्रेसको मूल नेतृत्व सम्हाल्ने नेताका रुपमा गगन दह्रिलो भएर उभिन सक्नुपर्छ । बैठकमा चौतर्फी घेराबन्दीमा परे पनि गगन कत्ति विचलित नभइ दह्रिलो आत्मविश्वासका साथ प्रस्तुत हुनुले उनको राजनीतिकवाद बढेको छ । गगनका समर्थकहरु बैठकमा झिनो सङ्ख्यामा देखिएकाले गगनको सेखी झार्ने देउवा रणनीति सफल भएको आत्मरतीमा कांग्रेसको संस्थापन पक्ष दङ्ग हुनु हुँदैन ।
यथार्थले बैठकमा गुट–उपगटको चस्मा फुकालेर हेर्ने हो भने देउवा अङ्कगणितीय खेलमा अगाडि देखिए पनि गगनको राजनीतक पाइन अझ धारिलो सावित भएको छ । शेखर कोइरालाको पार्टीभित्र कमजोर उपस्थितिले गगनलाई देउवासँग सिधै भिड्ने अवसर प्राप्त भएको हो । चौधौँ महाधिवेशनमा देउवालाई चुनौती दिँदै पार्टी सभापतिमा भिडेर सम्मानजनक मत ल्याउन सफल शेखर कोइरालाको छवि शालीन र बौद्धिक छ । बैठकमा शेखर कोइरालाको सशक्त भूमिका नदेखिनु र धिमा स्वर सुनिनुले कतै उनी पनि कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधिजस्तै देउवासँग समर्पणको बाटोमा त छैनन् भन्ने भान हुन्छ । पार्टी नेतृत्वमा पुग्न वा शासकीय अनुभव बटुल्न देउवाको साथ र सहयोग अनिवार्य छ भन्ने उनको बुझाइ छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाशलाई ‘नोट अफ डिसेन्ट’ लेख्न बाध्य पारिएको यो बैठकपछि कांग्रेस तीव्र धु्रवीकरणको बाटोमा जानेछ । तत्काललाई निर्विकल्प देखिएका देउवा दङ्ग हुने परिस्थिति छैन । विद्यार्थी राजनीतिबाट खारिँदै माझिँदै आएका महामन्त्री द्वय विश्व र गगनले भारदारी सभामा कांग्रेसलाई सीमित नराखी गुट उपगुटको पर्खाल भत्काउन पक्कै सफल हुन्छन् । यसले कांग्रेसलाई थप शुद्धीकरणको बाटोमा अग्रसर तुल्याउँछ । यही जागरणको दियोले कांग्रेस भित्रको उज्यालो पक्षलाई उजागर गरी अन्धकारलाई चिर्ने छ ।
साउन महिना नेपाली कांग्रेसका लागि विशेष महिना वीपीको जन्मोत्सवले गर्दा पनि मानिन्छ । वीपीको सम्झनामा वृक्षारोपण, रक्तदान, सभा, सम्मेलन, बैठक जस्ता कार्यक्रम गरेर उनलाई स्मरण गरिन्छ । यसरी कांग्रेसले वीपीप्रति सम्मान प्रकट गरेर आफ्नो अस्तित्व प्रस्तुत गरिरहन्छ । वीपी कोइराला नेपाली कांग्रेसका मात्र नेता नभइ लोकतन्त्रका भाग्य निर्माता र प्रयोगकर्ता स्वयम् हुन् । यही साउनमा चलेको कांग्रेसको केन्द्रीय समिति बैठकले वीपीको सम्झना ग¥यो कि गरेन ? बरु यो बैठकमा गुट–उपगुट, आरोप, प्रत्यारोप, आ–आफ्नो पक्षको बचाउ बाहेक कुनै पनि अर्थपूर्ण छलफल हुन सकेन ।
विधानतः प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक वर्ष दिनको अन्तरालामा बस्नु नै ठुलो समाचार मात्र बनेन, अझ त्यसमा फेसबुक लाइभ गरिदिएपछि त कसले के बोल्यो ? कसरी बोल्यो ? त्यो जनताले तमासा देख्न पाए । प्रत्यक्ष प्रसाराणले बैठकलाई थप व्यवस्थित बनायो । सबै दलहरुले कांग्रेसलेझैँ पारदशी देखाउन सक्नुपर्छ । बैठक कोरा भाषणबाजी, गुटगत आरोपप्रत्यारोपमा सीमित हुने सम्भावनालाई चिर्दै महामन्त्री द्वय गगन र विश्वप्रकाशका प्रस्तुतीले बैठकलाई अर्थपूर्ण विषयसूचीमा प्रवेश गराए ।
महामन्त्रीहरुले पार्टी सञ्चालनसम्बन्धी आफ्नो् दृष्टिकोण र तयारी गरेका रहेछ् । त्यसैले बैठकलाई गति दियो । कांग्रेसलाई हेरिरहेका दर्शकमा पनि केही आशाको सञ्चार भयो । बैठकको धेरै समय सभापति देउवा पक्ष बलियो कि उनका प्रतिस्पर्धी गगन थापा भनेर रस्साकस्सीमै खर्चियो । देउवाका पक्षका सदस्यहरु सभापतिको बचाउ र महामन्त्री थापामाथि खनिनुमै केन्द्रित भए । वीपी कोइराला भन्थे, ‘प्रजातन्त्र आएपछि विद्यमान खराबी र कमजोरी हट्छन् । देशमा विधिको शासन हुन्छ, निष्ठावान् राजनीति हुन्छ ।
देशको राष्ट्रियता मजबुत हुन्छ । जनताले अनुभूति गर्ने गरी देशमा विकास र प्रगति हुन्छ । त्यो प्रगति र विकास विशेष गरी किसान, मजदुर र गरिबीको चपेटामा परेका वर्गको सुखमा केन्द्रित हुनेछ । बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाबाट चुनिएका राजनीतिक दलहरु र नेतृत्वले जनमतको सम्मान गर्दै सुख, शान्ति र समृद्ध मुलु निर्माण गर्ने परिकल्पना गरिएको थियो । अहिले राजनीतिमा दलहरु र नेतृत्वले इमानदार भएर काम गर्न सकेका छैनन् । राजनीति लुटतन्त्रमा रुपान्तरण हुन पुगेको छ ।
राष्ट्रियता कमजोर बन्न पुगेको छ । बाह्य शक्तिको नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप र व्यापक चलखेल देखिएको छ । विशेष गरी छिमेकी मुलुक भारतको प्रत्यक्ष हस्तक्षेप देखिन्छ । उनीहरुकै चाहनामा सत्ताको अदलबदल, प्रधानमन्त्रीको चयनदेखि सरकारको आयुसम्म निश्चित हुन थालेको छ । भारतका इसारामा नेपालको विकास, उत्पादन, व्यापार चल्ने भएको छ । भारतको भूमिका त पहिलेदेखि नै थियो । अब चीनले पनि उत्तिकै नेपालको आन्तरिक राजनीतिमा सरोकार राख्न थालेको छ ।
राजनीति भ्रष्टाचारबाट मुक्त छैन । लोकतन्त्रको अभ्यास गर्ने पात्रले नैतिकता, बुझाइ र व्यवहार तथा चरित्र गुमाएका छन् । चाहे जुनसुकै पार्टी कांग्रेस, कम्युनिस्ट, माओवादी, एमाले जो होउन् सबैले आफ्नो चारित्रिक र नैतिक धरातल गुमाएर सत्ता कब्जा गर्नमै लिप्त छन् । लोकतान्त्रिक संस्कृति र चरित्र किर्माणमा देशको ठुलो दल नेपाली कांग्रेस कटिबद्ध भएर लाग्न अब ढिला भइसकेको छ । मुलुकको सबैभन्दा ठुलो र जेठो राजनीतिक दल कांग्रेसको केन्द्रीय समिति बैठकमा निकै मतभेद देखिए ।
नेपाली कांग्रेसको धु्रवीकरण सतहमा देखियो । कांग्रेसका युवा महामन्त्री द्वय गगन र विश्वप्रकाशको केमेस्ट्रीले देउवा पक्षका सबैलाई हतास र ‘थे्रट’ प्रदान गरेको आभाष भएको छ । सभापति देउवा निकट वफादार केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन–विश्वप्रकाशको खुलेर आलोचना गरे । उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई निलम्बन गर्नुभन्दा बचाउको मत राखे तर यो प्रस्तावमा गगनले फरक मत राख्दै आफूलाई कांग्रेसको लोकतान्त्रिक नीति र वैकल्पिक नेतृत्वका रुपमा उभ्याए । वैचारिक दृष्टिकोणमा कांग्रेस लोकतान्त्रिक पार्टी हो ।
पार्टी कानुनी शासन, सुशासनमा अडिग रहनुपर्छ भन्ने हेक्का देउवा पक्षधर नेताले राख्न सकेनन् । महामन्त्री गगनले प्रस्तुत गरेको प्रस्तावलाई समर्थन गरी अपनत्व लिन पनि सकेनन् । उल्टै आरोप र खण्डनमा उत्रिए । पार्टीका संस्थापन पक्षका अधिकांश नेता–कार्यकर्ताले गगनको कार्यशैलीमा आलोचना गर्ने ठाउँ नपाउँदा उनलाई पपुलिज्मबाट उदाएको आरोप लगाउँछन् । उनको मिहिनेतलाई स्वीकार्दैनन् ।
पार्टीलाई समय सापेक्ष, विधान अनुरुप, आम अपेक्षामुखी रुपमा रुपान्तरण गरेर जनताको कांग्रेस बनाउने उद्घोष गरेका महामन्त्री द्वयको भिजनले कांग्रेस कार्यकर्तादेखि सर्वसाधरणमा आशाको सञ्चार गरेको छ । भूँइतहदेखि केन्द्रसम्मै कांग्रेसको नेतृत्वप्रति देखिएको वितृष्णाको विकल्प खोजिरहेका उनीहरु पार्टीभित्रै संस्थापनको प्रतिपक्षका रुपमा वा वैकल्पिक शक्तिका रुपमा उदाएका छन् ।
कांग्रेस भित्रको अन्तसङ्घर्ष र रुपान्तरणको बहस घनिभूत रुपमा चलिरहेको छ । कांग्रेस सच्चिने कि सक्किने बहस चलिरहेको छ । कांग्रेसमा खस्किँदो सुशासन, संस्थापन पक्षको बलमिच्चाइँ, एकलौटी शैली, संस्थापन इतर समूहका शेखर, गगनमै मतभेदबिच पार्टीभित्रैको अन्तसङ्घर्ष, कार्यशैलीको विरोध र पार्टीको नवीनता सहितको रुपान्तरण चाहिँ कसरी सम्भव होला ।
कांग्रेसमा नीतिगत स्पष्टता, नेतृत्वको कुशलता, साङ्गठनिक व्यवस्थापन र लोकतान्त्रिक विधि चार स्तम्भ बलियो हुन जरुरी छ । बदलिँदो राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै क्षमतावान् र योग्य युवा पुस्तालाई कांग्रेसतिर आकर्षण गर्ने रणनीति तय गरेर रुपान्तरणको आशा सञ्चार गर्न नसके पार्टीको अस्तित्व जोखिममा पर्ने निश्चित छ । सत्तरीको दशक पार गरेका अब सक्रिय राजनीतिको केन्द्रमाभन्दा सल्लाहकार भइ किनारा लाग्नु उचित हुन्छ ।