शिवराज खनाल
देउखुरी, १७ साउन । दाङमा क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीसाधनलाई कारवाही गर्न थालिएको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी र राप्ती अञ्चल संयुक्त ट्रक ब्यबसायी समितिको समन्वयमा बिगत ३ दिनदेखि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई चेकजाँच गर्दै आएको छ ।
चेकजाचका क्रममा ओभर लोड बोकेर निर्बाध रुपमा ढुवानीका साधनहरु सञ्चालन हुदै आएको पाइएको छ । भारवान क्षमता भन्दा धेरै बोकेर हिडेका भारवान साधनलाई ठाउँको ठाउँ कारबाही समेत गरिएको छ । यो अबधिमा करिब २० वटाभन्दा धेरै साधनलाई ट्राफिक जरिवाना सहितको कारवाही गरिएको हो । ट्राफिक प्रहरी, नेपाल प्रहरी, समितिका पदाधिकारीसहित अध्यक्ष रत्नप्रसाद श्रेष्ठ स्वयम् चेक जाँचमा खटिदै आईरहेका छन ।
ओभरलोड निर्मुल पार्नलगातार चेकजाँच गरिने समितिका अध्यक्ष श्रेष्ठले बताए । ‘भारवान क्षेमता भन्दा बढी सामान बोकेर ट्रकहरु बाटोमा दौडिदा एकातर्फ दुर्घटनाको डर छ अर्कोतर्फ गाडिमा क्षतीसंगै बाटो बिग्रन्छ’ अध्यक्ष श्रेष्ठले भने । ओभरलोडबाट खर्च उठाउने लोभमा प्रदाज राज्यले तोकेको भाडा समेत ट्रक व्यावसायिहरुले पाउन सकेका छैनन ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ। तर १२ चक्के ट्रकले २५ टनसम्म लोड बोकेको पाइएपछि २० बढी मालबाहक सवारीहरु कारबाहीमा परेका हुन्।