बजारका मुख्य सकडमा बल्न छाडे बत्ती

बालाराम खड्का
तुलसीपुर, १६ साउन । तुलसीपुर र घोराही बजारका मुख्य सडक नै रातको समयमा अन्धकार हुने गरेका छन् । सडकमा जडान गरेका बत्तीको पैसा नतिरेपछि सडकमा राखिएको बत्ती बल्नसकेको छैन । तुलसीपुरमा लामो समयदेखि मुख्य सडकको बत्ती बल्न सकेको छैन भने घोराही बजारको वीपी चोकदेखि तुलसीपुर चोकसम्मको सडकबत्ती समेत बल्न छोडेको झण्डै तीन साता पुगेको छ ।
तुलसीपुरको घोराही रोडमा कुनै बेला झिलीमिली हुने गरेको थियो तर हाल भने तुलसीपुरको घोराही मुख्य सडक अहिले रातमा अन्धकार हुने गरेको छ ।

सडकमा गाडिएका सडकबत्तीका पोलहरू केही ढलेका छन् भने केही जीर्ण छन् । त्यस्तै सडकमा रहेको विज्ञापनका बोडहरू पनि तितरवितर छन् । केही समय पहिले दाङको सोनापुर सिमेन्टले सडकमा ग्रीनबेल्ट र बत्तीका लागि पोलहरू गाडिएको थियो । कम्पनीले पनि ग्रीनबेल्टको काम भने पूरा गरेको थिएन् । तुलसीपुरको वीरेन्द्र चोकदेखि हात्तीखैवा चोकसम्म सडकमा सडकबत्ती बाल्न नगरपालिकाले सो सडकको बत्ती र होर्डिङबोर्डका लागि ठेक्का दिइएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र अपटेकसिस प्रालिबिच दुई पक्षबिच सम्झौता भए पनि लामो समयसम्म तुलसीपुर उपमहानगरपालिकाले सडकबत्तीको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण तुलसीपुरले लाइन काटेको हो । अहिले तुलसीपुरको वीरेन्द्र चोकदेखि हात्तीखौवासम्म रहेका सडकबत्तीको लाइन काटेको छ ।

उपमहानगरपालिकाको सो क्षेत्रमा सडकबत्तीको व्यवस्थापन प्रालिले गर्ने र सोबापत उसले पोलहरूमा विज्ञापन गर्नेलगायतको सम्झौता भएको इन्जिनियर पवन योगीले बताए । उनले सम्झौतामा अन्य शर्तहरू पनि रहेको बताए । उपमहानगरपालिकाले १५ वर्षका लागि सडकबत्तीहरू बाल्नका लागि सो कम्पनीलाई ठेक्का दिइएको थियो । वार्षिक ८ लाख ३० हजार रकम उपमहानगरपालिकालाई दिने सम्झौता भए पनि हाल सम्झौताअनुसार काम र रकम नआएको तुलसीपुर उपमहानगरपालिका राजस्व व्यवस्थापन शाखाका प्रमुख ललित घर्तीले जानकारी दिए ।

‘गत आर्थिक वर्षको पनि रकम आएको छैन, कम्पनीलाई बोलाएर ठेक्का तोड्ने वा के गर्ने भन्ने विषयमा छलफल हुँदैछ’, घर्तीले भने । त्यस्तै अप्टेकसिस प्रालिले भने विज्ञापनबापत रकम उठाएर आफूहरूले पनि तिर्ने भएकाले विज्ञापन नै नभएको बताएको छ । प्रालिका सदस्य नारायण भट्टराईले अहिले सो क्षेत्रमा बत्तीहरू लाइन काटेका कारण जडान नभएको भन्दै उज्यालो अभियानमा आफूहरू छिट्टै लाग्ने बताए । अहिले करिब ३३ लाख आफूहरू घाटामा रहेको भन्दै उपमहानगरपालिकाले पनि सम्झौता बमोजिम काम नगरेको बताए । ‘हामीले विज्ञापनबाट उठेको रकमले सबै काम गर्ने हो,े अन्यत्र बाहिर विज्ञापन गरिदिन्छन् अनि हाम्रो लगानी कसरी सुनिश्चिता हुन्छ ?’, उनले भने । उनले सम्झौतमा धेरै कुराहरू रहेको भन्दै सबै बजारमा बत्ती विस्तारदेखि अन्य कुरा गर्ने भने पनि सो हुन नसकेको बताए ।

घोराही रोड टोलका पदाधिकारीले पनि नगरपालिकामा पुगेर सडकबत्तीको व्यवस्थानका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरूले काटिएको लाइन जडानका साथै सडकको व्यवस्थापनको समेत माग गरेका छन् । भएका संरचना पनि जीर्ण हुनुका साथै उज्यालो दिने सडकका पोलहरू आफै असुरक्षा र ओझेलमा परेको बताउँछन् । पहिले झिलीमिली देखिने सडक अहिले कुरूप भएको छ ।
थानीय डिल्ली डाँगीले विगत केही महिनादेखि सडक बत्तीहरू काटिएकाले सडकमा रातपरेपछि अन्धकार हुने गरेको बताए । घोराहीको मुख्य बजारको मेनरोड नै अन्धकार छ । उज्यालो घोराही कार्यक्रम अन्तर्गत घोराहीको मेनरोडमा सडकबत्ती जडान गरिएको छ ।

त्यसको लागि एक कम्पनीसँग घोराही उपमहानगरपालिकाले सम्झौता गरेको छ तर कम्पनीले विद्युत पैसा नबुझाउँदा सडकको बत्ती काटेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ । तुलसीपुर चोकदेखि वीपी चोकसम्मको मेन सडकमा बत्ती नबल्दा साँझ तथा रातीको समयमा अँध्यारो हुने गरेको छ । विद्युतको रकम नतिर्दा विद्युतले लाइन काटेपछि पोलमा बत्ती बल्न छाडेका हुन् । सडकबत्तीको ६७ हजार ८ सय ३४ रुपैयाँ ४४ पैसा तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण घोराहीले जनाएको छ ।

सडकबत्ती बल्न छोडेपछि जोखिम समेत बढेको छ । उक्त क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीले पनि सडकबत्ती नहुँदा जोखिम बढेको बताएका छन् । घोराहीमा एपेक्स नेपाल प्रालि र घोराही उपमहानगरपालिकाबिच सम्झौता गरी सडकमा बती जडान गर्न सुरु गरिएको थियो । सडकबत्तीको जडान सुरक्षा समेत प्रालिले गर्ने गरी सम्झौता भएको छ ।