बजारको फोहोर वनमा

प्रियास्मृति गजमेर
लमही, १६ साउन । पूर्व–पश्चिम राजमार्गदेखि मुस्किलले ५ सय मिटर उत्तरतर्फ वनमा फोहोरैफोहोरको चाङ छ । त्यो फोहोरमा प्रायः आगो सल्किरहेको हुन्छ । कुनै बेला त्यो फोहोरमा लागेको आगोको धुवाँले लमही बजार घपक्कै ढाकेको समेत हुन्छ । फोहोरमा लागेको आगोको धुवाँले निसास्सिने जस्तो, आँखा पिरो हुने, आँखा चिलाउनेजस्ता समस्या हुने गर्छ । यो समस्या लमहीका स्थानीयले लामो समयदेखि भोग्दै आएका छन् ।

लमही नगरपालिकाले लामो समयदेखि अजम्मरी सामुदायिक वन क्षेत्रलाई फोहोर फाल्ने डम्पिङसाइट बनाएको छ । फोहोरमैला व्यवस्थापनको कुनै दीर्घकालीन योजना नबनाएर वन क्षेत्रमा फोहोर फाल्दा वातावरण दुर्गन्धित बनेको छ । वनको खुल्ला चौरमा छरपस्ट फालिएको सडेगलेका फोहोर खाँदा कैयौँ जङ्गली जनावर मरेका छन् भने त्यही फोहोरको थुप्रोमा कबाड खोज्न जानेहरूले आगो लगाइदिँदा आगो जङगल क्षेत्रमा फैलिएर क्षति पु¥याउने गरेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि दाङको लमही नगरपालिकाले भने अझैसम्म कार्यान्वयन गरेको छैन ।

लमही नगरपालिकाले बजार क्षेत्रका फोहोर सङ्कलन गरी वन क्षेत्रमा जथाभावी फाल्नाले दुर्गन्ध बढेको हो । विभिन्न उद्योग, घर, पसलबाट निस्किने फोहोर जथाभावी फालिने गरिएको छ । गल्ने र नगल्ने दुवै प्रकारका फोहोर नगरपालिकाले एकै स्थानमा डम्पिङ गर्दै आएको छ । गल्ने र नगल्ने फोहोर अलग–अलग राख्ने भनेर डम्पिङ साइटमा दुईवटा घर निर्माण भए तापनि ती घरहरू प्रयोगविहीन छन् । मानव स्वास्थ्यमै असर पर्ने गरी जङ्गलमा रक्सीका बोतल, लत्ताकपडा, प्लास्टिकजन्य वस्तु, मेडिकलमा प्रयोग भएका सुई, सिसा, बोतल जथाभावी फालिएका छन् ।
लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक

वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिको गुनासो छ । खुल्ला चौरमा फोहोर यत्रतत्र छरिएको छ । त्यस फोहोरका कारण जैविक ग्रीनपार्क, बजार, बसपार्क र बस्तीमा प्रत्यक्ष असर परेको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । ‘सामुदायिक वनमा फालिएको फोहोरको दुर्गन्धका कारण जैविक पार्क आसपास बस्न समेत समस्या भएको छ र मानव स्वास्थ्यमा समेत असर परेको छ’– रिजालले भने ।

सामुदायिक वनको केही क्षेत्रफलमा जैविक पार्क निर्माण गर्न सङ्घ, प्रदेश सरकार र नगरपालिका आफैले लाखौँ बजेट विनियोजन गरेको छ तर सोही स्थान नजिकै नगरपालिकाले फोहोरको डम्पिङसाइट बनाएको छ । जसका कारण जैविक पार्कमा प्रत्यक्ष असर परेको छ । फोहोर फाल्ने स्थानको दुर्गन्ध पार्कदेखि बजार तथा बस्तीसम्म आउने गरेको छ । लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुट्याउन भवन निर्माण गरेको छ । भवन प्रयोहविहीन हुँदा ती घरहरू मानसिक सन्तुलन गुमाएका सडक मानव र गाँजा खाने मानिसका अखडा भएको छ ।

लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) ले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोरले वातावरण प्रदूषण भएको स्वीकार गर्दै नगरपालिकाले फोहोर सङ्कलन स्थल मानव बस्तीदेखि टाढा राख्नु पर्ने बताए । वन क्षेत्रभित्र रहेको फोहोर स–साना खोल्साको नजिक भएकोले वर्षा याममा बगेर फेरि किसानका खेतमा र बजारतिर बगाएर ल्याउने गरेकोले स्थानीय पीडित बनेको बताए । सामुदायिक वनभित्र फोहोर फाल्नु उचित होइन, अब छुट्टै स्थानको विकल्प खोज्नु पर्ने देखिएको वडाबध्यक्ष सुवेदीले बताए ।

वन समितिले सामुदायिक वन क्षेत्रमा डम्पिङसाइट नराख्न आग्रह गरेको छ भने राख्न परे व्यवस्थित गर्न अनुरोध गरेको छ । वन क्षेत्रमा फालिएको फोहोरबारे सर्वत्र रूपमा आलोचना भएपछि सामुदायिक वन समितिको आग्रहमा सोमवार लमही नगरपालिका प्रमुख जोगराज चौधरीले पालिकाले डम्पिङसाइटको रूपमा प्रयोग गर्दै आएको स्थलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा नगर प्रमुख चौधरीले फोहोर व्यवस्थापनमा आफ्नो ध्यान गएको र केही समयपछि उक्त कामले गति पाउने बताए । नगरबासीलाई स्वस्थ राख्नु आफ्नो दायित्व भएको बताउँदै नगर प्रमुख चौधरीले फोहोर व्यवस्थापन कार्यमा सबैको सहयोग आवश्यक पर्ने बताए ।

लमहीसँग यस क्षेत्रका अन्य पालिकाले पनि फोहर व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउनसकेका छैनन् । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको अवस्था पनि उस्तै छ । विगतमा भालुबाङ बजारको फोहोर राप्ती नदीनमा समेत फाल्ने गरिएको थियो । नदीमा फोहोर फाल्दा नागरिकस्तरबाट आलोचना हुने गरेको थियो । राप्ती गाउँपालिकाले भने दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनको लागि काम भइराखेको बताएको छ । राजपुर गाउँपालिकामा भने सहरी क्षेत्र छैन । सहरी क्षेत्र नभएका कारण फोहोर व्यवस्थापनको चुनौती खडा नभएको पालिकाले जनाएको छ । गढवा गाउँपालिकाले पनि फोहर व्यवस्थापनमा प्रभावकारी काम गर्नसकेको छैन । पालिकाको क्षेत्रमा पनि थोरै सहरी क्षेत्र छ ।

यता तुलसीपुर उपमहानगरपालिकामा पनि फोहर व्यवस्थापनमा चुनौती बन्दै गएको छ । फोहर व्यवस्थापनको स्थानमा यहाँ विगतदेखि चुनौती बन्दै आएको छ । पछिल्नो चरणमा तुलसीपुर उपमहानगरपालिकाको सारेको १८ नम्बर वडामा पर्ने क्षेत्रमा समेत चुनौती देखापरेको छ । घोराही उपमहानगरपालिकामा मात्र फोहोर व्यवस्थापन सहज रूपमा भएको छ । यहाँ फोहोरबाट ग्यास समेत निकाल्ने काम भएको छ । घोराहीले १६ नम्बर वडाको करौती डाँडामा फोहोर व्यवस्थापन गर्दै आएको छ ।