च्याउ नपाउनेले, फलाउने भए सुनका स्याउ

मधुसूदन सुवेदी
हामीले नेपालको राजनीतिमा खाएको र देखेको विकृति नै यही हो । जति राम्रो व्यवस्था भने पनि, जति राम्रो परिवर्तन भने पनि, जति राम्रो उपलब्धि भने पनि, जति ठुलो सङ्घर्ष भने पनि, जति ठुलो बलिदानी भने पनि त्यो सबै सीमित वर्ग, व्यक्ति, शक्ति, समृद्ध सङ्गठन, दल र मोर्चाका लागि मात्र भयो ।

समग्र देशबासीको लागि र नेपाल आमाका लागि केही पनि भएन । नेता हिजो कुनै धरातलमा थिए र आज कहाँ आइपुगे ? नेता हिजो कुन स्थितिमा थिए, आज कहाँ आइपुगे ? नेता हिजो कुन अवस्थामा थिए, आज कहाँ आइपुगे ? नेता हिजो के खान्थे र कहाँ बस्थे, आज नेता के खान्छन् र कहाँ बस्छन् ? हिजो पूजेको शिला ढुङ्गो नभेटाउने नेता आज सुनैसुनको गजुर भएको मन्दिरभित्र पसेर देवताको दर्शन र पूजा गर्दैछन् ।

हिजो देवीदेवताका ढुङ्गा राखेको राम झुपडी नदेखेका नेताले आज सुन, तामा र पितलको छाना भएको मन्दिरभित्र पसेर देवताको दर्शन र पूजा गर्दैछन् । हिजो माटोको, काठको, बालुवाको, पत्थरको आकृतिसम्म नदेखेका नेताले आज सुन, चाँदी, हिरा र मोती जडित देवीदेवताको मूर्तिमा पूजा गर्दैछन् र दर्शन गर्दैछन् । हिजो काठको पाटोमा, कालोमहिलो, कालो पाटीमा, माटोको धुलोमा, रुखको बोक्रामा, घरको भित्तामा, बाँसको धोतीमा आफ्नो नाम लेख्न र लेखाउन नसकेको नेताले आज भगवान्को आकृति र मूर्तिमा आफ्नो नाम लेख्दैछन् । हिजो ग्वाला जाँदा भैँसीको आङ्मा समेत नचढेका नेता आज हेलिकप्टर र हवाइजहाज जतिबेला पायो त्यतिबेला चढ्दैछन् ।

हिजो खोलाको बग्ने पानीमा बग्न नपाएका नेताहरु आज चिल्ला र महँगा गाडीमा सलल बग्दैछन् । हिजो सनको धागोले बनेको सनपाट, भाङोको धागोले बनेको भाङ्ग्रो, भिमलको धागोले बनेको पटुवा, सिस्नाको धागोले बनेको सिस्नेरो, भेडाँको रौँले बनेको काम्लोले बनेको छाँटको कपडाले आफ्नो शरीर बेर्न नपाएका नेताहरु आज ढाका, मखमली स्लिकन जस्ता अति महँगा र सुन्दर पोसाकमा सजिँदै छन् । हिजो महीको कडी, पिठको फाँडो, अम्चुरको झोल, सुकाएको सागको झोल, सिन्कीको झोल, खोले, न्यूरो, तीतेको साग नपाउने नेताले आज दिनहुँ चौरासी व्यञ्जनमा डुबेका छन् ।

हिजो वर्ष दिनमा एकदिन फर्सीका बियाँ, काँक्रीको बियाँ र वनका हरिया पात पट्याएर एक पटक गलामा माला पहिरेकाले आज दिनहुँ मखमली, सयपत्री, बेली, चमेली, गुलाब जाइजुईजस्ता अति महँगा माला दिनहुँ गलामा झुण्ड्याएका छन् । हिजो वनमा च्याउ खोज्न नपाउने नेताले आज मुस्ताङ्को स्याउ खोज्छ । हिजो च्याउ खान नपाउनेले आज बरगर, पिजा र मःम खान्छन् । हिजो वनको च्याउ खान बिष मार्नको लागि लसुन र टिमुर खोज्ने आज दरबारमा सुन खोज्दै छ ।

हिजो गाउँ, समाज, छिमेकका बस्ती डुल्न नपाएका नेता आज विदेशका शक्तिशाली राष्ट्रहरुमा भ्रमण गर्दैछन् । हिजो काफल गेडी कुटुक्क नगर्नेले आज पाँचतारे होटलमा लुटुक्क निदाएको छ । हिजो माटोको डसना, ढुङ्गाको सिरानी, स्याउलाको तन्ना र आकाशको छत सम्झेर रात बिताउने नेताले आज अमरापुरी कान्तिपुरी नगरीमा दरबारमा रात बिताउँदछ । हिजो घैँटोमा कुहिएको मकैको जाँड नपाउने नेताले आज मार्सी बिएर पिएर सुतेको छ ।

हिजो मकैको पातको चकटी, मकैको भुत्तामे चकटी, काठको पिर्का र आइमाइको धोतीको नाङ्ग्रीमा बस्न नपाउने नेता आज घुम्ने कुर्सीको सिंहासनमा बस्दैछ । हिजो गाउँघरमा दर्शन, नमस्ते, ढोग कुनै कुराको सम्मान नभोगेको नेता आज दिनहुँ सलामी खाएर बसेको छ । हिजो तीन जिउ गाई, गोरु, भैँसी, राँगो, बाख्रो, भेँडा, कुखुरा, हाँस कुनै पनि पशुपन्छी चराउन नपाउने नेताले आज देशभरिका ३ करोढ जनतालाई चराइरहेको छ । हिजो गाउँघरमा खोलाखालीमा गँगटा, भ्यागुता, माछाका भुरा छोपेर दिन फाल्नेले आज सहरका सहरबस्तीका बस्ती भाषण छाँटेर दिन बिताएको छ ।

हिजो आफू जन्मेको ठाउँमा फर्सी, भिमल, साल, साज, धाइरो, बैदारो, खर, बन्सो, कुनै पनि घाँस नकाटेको नेताले आज सहरका ठुला–ठुला भवन, दरबार, होटेल, पार्टी, पूल, बगैँचा, पूmल, दरबार पुल, सडकमा महँगा–महँगा रिबन काट्दै छ । यति ठूलो फड्को नेतामा आउँदा जनतामा के आयो ? प्रश्न यही हो । जड यही हो, समस्या यही हो, विकृति यही हो, विसङ्गति यही हो, अधर्म यही हो, अन्याय यही हो, अशान्ति यही हो, असन्तोष यही हो । यसको समाधान खोइ ? नेतामा यति ठूलो परिवर्तन, जनतामा जस्ताको त्यस्तै ? यही हो समाजवाद ? यही हो लोकतन्त्र ? हिजो २० हजार प्रतितोला सुन हुँदा सुन तस्करी नेपालमा थियो ? थिएन ।

शून्य पनि थिएन । आज एक लाख २० हजार प्रतितोला हुँदा नेपालमा किन यस्तो विचित्रको घटना ? यो सुनको भाउ यसरी बढाउने गैरकानुनी हिम्मत कसले गरेको रहेछ ? सारा सम्पत्तिलाई सुनमा बदलेर देशभरि, जिउभरि र परिवारभरि छाउनको लागि सम्पत्तिलाई सुनमा बदल्ने काम कसले ग¥यो ? जग्गा देखिने भए जमिन देखिने भयो, भवन देखिने भयो, गाडी देखिने भयो, व्यापार देखिने भयो । उद्योगधन्दा देखिने भयो तर सुनका गहना र पोसाक कसले देख्ने ? त्यसैले सुनको धन्दा फस्टायो । चेतना भयो ।