काठमाडौं, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताउनुभएको छ । काठमाडौंस्थित सफ्टवेरिका कलेजले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी कार्यक्रम उद्घाटनका क्रममा सूचना प्रविधि क्षेत्रलाई विद्यार्थीहरुलाई सम्वोधन गर्दै उहाँले यस्ता जानकारी दिनुभएको हो ।
‘पछिल्लो समय नयाँ पुस्तामा सूचना प्रविधिको क्षेत्रमा आशालाग्दो गरी आकर्षण बढिरहेको छ । तर, दक्ष जनशक्तिलाई नेपालभित्रै टिकाउन सकिएको छैन’– उहाँले भन्नुभयो– ‘सूचना प्रविधिको दक्ष जनशक्तिलाई सरकारी सेवामा भित्र्याउन र उनीहरुलाई कसरी टिका राख्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौं । संघीय कर्मचारी ऐनमार्फत सूचना प्रविधि क्षेत्रलाई छुट्टै सेवा समूहको रुपमा विकास गर्नेदेखि सूचना प्रविधि क्षेत्रका विज्ञहरुलाई सम्मानजकरुपमा पारिश्रमिक दिएर देशभित्रै योगदान गर्ने वातावरण बनाउन सरकार लागिरहेको छ ।’
त्यस्तो जनशक्तिलाई वृत्ति विकासका हिसाबले अन्य निजामति सरह तथा पारिश्रमिक दक्षता र विज्ञताका आधारमा दिने गरी ‘हाइब्रिड’ मोडल लागु गर्ने सोंच रहेको पनि उहाँले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एम.फिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यलय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
‘सूचना प्रविधिको विकास र प्रयोगलाई राष्ट्रिय महत्वको क्षेत्रको रुपमा स्थापित गर्न हामीले केही नयाँ अवधारणा अघि सार्नुपर्छ भन्ने पनि सोचिरहेका छौं’– उहाँले भन्नुभयो– ‘सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका युवाहरुलाई आविष्कार र नवपर्वर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने र त्यसबाट छानिने प्रतिभाहरुलाई थप अगाडि बढ्न सहयोग पुग्ने गरी कार्यक्रम बनाउन हामीले मन्त्रालयमा छलफल गरिरहेका छौं ।’ त्यस्तै सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीहरुलाई सेवा प्रवेशका लागि सहयोग पुग्ने गरी निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने गरी पनि हामीले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
‘म तपाइँहरुलाई के विश्वस्त बनाउन चाहन्छु भने तपाईहरुले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेका आविष्कार र नवपर्वर्तनहरुलाई प्रोत्साहन गर्दै तपाईहरुका सिर्जना र उत्पादनलाई सरकारले प्रयोगमा ल्याउने वातवारण बनाउने छ’– मन्त्री शर्माले भन्नुभयो– ‘कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारको क्षेत्रमा केन्द्रित रहेर तपाइँहरुले आविष्कार र नवपर्वर्तन गर्नुभयो भने त्यसलाई प्रयोगमा ल्याउन सरकारले प्राथमिकतामा राख्ने छ । यी क्षेत्रमा डिजिटलाइजेसन गर्दै हरेक क्षेत्रलाई स्मार्ट बनाउन तपाईहरुको योगदानका लागि आग्रह गर्न चाहन्छु ।’ विज्ञान प्रविधिको क्षेत्रमा हुने कुनै पनि विकासको अन्तिम उद्देश्य मानव सुरक्षा र मानवीय हित भएकाले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
मन्त्री शर्माले भन्नुभयो– ‘अब सूचना प्रविधि क्षेत्रको मात्र होइन, समग्र राष्ट्रिय सुरक्षाकै अंग बन्ने स्थिति सिर्जना भएको छ । साइबर स्पेसको सुरक्षा अब राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको सवालसँग पनि जोडिन पुगेको छ । त्यसैले सरकारले साइबर सुरक्षाको सवाललाई प्राथमिकताका साथ अघि बढाएको छ । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति पारित हुने अन्तिम चरणमा रहेको छ ।’ अब देश युवाहरुले चलाउनुपर्नेमा धारणा राख्दै मन्त्री शर्माले दक्षता भएका युवाहरु अब जिम्मेवार भएर राष्ट्र निर्माणमा अगाडि आउनुपर्ने बताउनुभयो ।
‘मैले अघि पनि भनें सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दक्षता भएका युवाहरुको पलायनलाई रोक्नको लागि सरकारले गम्भीरताका साथ योजना बनाइरहेको छ’– उहाँले भन्नुभयो– ‘प्रविधि मात्र एउटा यस्तो क्षेत्र हो, जुन क्षेत्रमा नेपालमै रहेर पनि देश विदेशको काम गर्न सकिन्छ । नेपाल सरकार त्यसको लागि थप वातावरण बनाउन पहल गरिरहेको छ । यस विषयमा म युवा विद्यार्थीहरुलाई सहकार्य गरेर अगाडि बढ्न हार्दिक अपील पनि गर्न चाहन्छु ।’