गोरक्ष समाचारदाता
दाङ, ७ असार । रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ निर्वाचित भएका छन् । क्लबको वर्ष २०२३÷०२४ का लागि मजगैयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
मजगैयाँले शनिवार पदभार ग्रहण गरेका छन् । शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गराइएको छ । निवर्तमान अध्यक्ष ओविन्द्रबहादुर महराले नवनिर्वाचित अध्यक्ष मजगैयाँलाई पद हस्तान्तरण गरेका थिए ।
क्लबको नयाँ कार्यसमितिको प्रस्तावित आगामी अध्यक्ष प्रदीप सुवेदी, मनोनित अध्यक्ष रोशन दाहाल, उपाध्यक्ष मस्कुर अहमद, सचिव भरतराज देवकोटा, कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा, सजेन्ट इनाम रजिव उल्लाह खान, क्लब ट्रेनर डा.चेतनारायण पाण्डे, सहसचिव युवराज पन्त, सर्भिस डाइरेक्टर गजेन्द्र बर्मा, सदस्य डाइरेक्टर बसन्तराज अधिकारी, पब्लिक इमेज डाइरेक्टर कमल रेग्मी, सर्भिस डाइरेक्टर रामप्रसाद पोख्रेल, फाउन्डेसन डाइरेक्टर ई. जीवन आचार्य, क्लब मेन्टर पदमकुमार केसी र मिडिया कोअर्डिनेटरमा आरके शीतल छन् ।
रोटरी क्लब अफ घोराहीमा वर्ष २०२२÷०२३ का अध्यक्ष ओविन्द्र महराको अध्यक्षता एवम् रोटरी क्लब अफ नेपालका असाइन एसिस्टेन गभर्नर बिमल रिजालको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि रोटरी क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । कार्यक्रममा क्लबका एसिस्टेन गभर्नर डा. चेतनारायण पाण्डेयलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ नेपालका असाइन एसिस्टेन गभर्नर बिमल रिजालले नवनिर्वाचित अध्यक्ष मजगैयाँलाई शपथ गराएका थिए । नवनिर्वाचित अध्यक्ष मजगैयाँले कार्यसमितिका पदाधिकारीलाई शपथ गराएका थिए । अध्यक्ष मजगैयाँले मानवीय विकास र वातावरण संरक्षणको क्षेत्रमा रोटरी क्लबले अबको एक वर्ष काम गर्ने गरी योजना बनाएर अगाडि बढेको बताए । उनले युवाहरूको क्षमता विकाससँगै समग्र समाजको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम संयोजक रोशन दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भरतराज देवकोटाले गरेका थिए ।
रोटरी घोराहीका तीन स्थानमा वृक्षारोपण गर्ने
रोटरी क्लब अफ दाङले आइतवार घोराहीमा वृक्षरोपण कार्यक्रम गर्ने भएको छ । क्लबले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा घोराहीको तीन स्थानमा वृक्षरोपण गर्ने भएको हो । आइतवार बिहान साढे ७ बजेदेखि रणसिंह दल गण भरतपुर, गुलरिया क्रिकेट मैदान र सिद्ध रत्ननाथ मठ चौघेरामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको अध्यक्ष मजगैयाँले बताए ।