रुख रोपेर वीपीको स्मरण, साहित्यमा स्वच्छन्दवाद र राजनीतिमा समाजवाद 

खेमराज रिजाल
दाङ,७ साउन । नेपाली कांग्रेस दाङले वृक्षारोपण कार्यक्रमको आयोजना गरी नेपाली राजनीतिका युगपुरुष महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ४१औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दाङले पर्यटकीय स्थल ज्यामिरे दह र घोराही उपमहानगरपालिका–१३ को वडा कार्यालय परिसरमा वृक्षारोपण गरी स्व महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरेको हो ।
वृक्षारोपण कार्यक्रमपछि आयोजित स्मृतिसभा कार्यक्रममा बोल्ने कांग्रेस अग्रज नेताहरूले महामानव विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक योगदान र साहित्यिक लगावबारे चर्चा गरेका थिए । वीपीका विषयमा जति बोले पनि अधुरै हुने कांग्रेस अग्रज नेताहरूको अभिव्यक्ति थियो । वीपीको जीवनी एउटा राजनीति र साहित्यको खुल्ला किताब नै भएकाले यसलाई जोकोहीको व्याख्याले पूरा हुन नसक्ने अग्रज नेताले बताएका थिए ।
कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले वीपीको विचारलाई आत्मसात गर्न नसक्दा कांग्रेस बिग्रिएको र कांग्रेस बिग्रिएकै कारण अरुहरूले ठाउँ पाएको बताए । नेता पाण्डेले दलीय भागबण्डाका कारण कांग्रेस आधा मात्र भएकाले कांग्रेस पूर्ण हुन भागबण्डाको राजनीति अन्त्य हुनुपर्ने बताएका थिए । उनले वीपीले भनेजस्तै असल मान्छे बन्न सबै नेता कार्यकर्तालाई सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति वीरकेशरी गौतमले वीपी कोइराला साहित्यमा अराजक र स्वच्छन्दतावाद तथा राजनीतिमा समाजवादमा विश्वास राख्ने व्यक्तित्व भएको बताउँदै वीपीको प्रजातान्त्रिक समाजवाद अहिले कम्युनिस्टहरूको समेत प्रशंसाको वाद भएको बताए । ‘अहिले यहाँका कट्टर कम्युनिस्टहरू पनि वीपीवादमा आएका छन् तर हामीले वीपीको आदर्श र चिन्तनलाई भुल्न थाल्यौँ, कांग्रेस पार्टी अंशबन्डाको आधारमा चलिरहेको छ’, स्मृतिसभालाई सम्बोधन गर्दै पूर्व सभापति गौतमले भने । उनले कांग्रेसको एजेण्डाले जितेको तर कांग्रेसले चुनाव हारेको पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले वीपीको नाम भँजाएर मात्र कांग्रेस पार्टी भित्रको समस्या समाधान नहुने भन्दै विधि, विधान र पद्धतिमा अघि बढ्न कांग्रेस नेतृत्वलाई आग्रह गरे । कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य शंकर गिरीले वीपी कोइरालाका विषयमा जुनसुकै विद्वानले जतिसुकै बोले पनि अधुरो हुने भन्दै वीपीका हरेक शब्दले मुलुकको राजनीतिलाई सही मार्गमा डो¥याउन मद्दत गरिरहेको अभिव्यक्ति दिए । कांग्रेसले वीपीको प्रजातान्त्रिक समाजवादलाई आत्मसात गर्न नसक्दा अहिले यो अवस्था आएको उनले बताए । नेता गिरीले कांग्रेस दासताको मनोवृत्तिबाट अघि बढिरहेको बताउँदै भ्रष्टाचारको मुद्दामा समेत मौन बसेको आरोप लगाए ।
नेपाली कांग्रेसका उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व सभापति मोहनलाल वली, नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगी, नेपाल दलित सङ्घका लुम्बिनी प्रदेश संयोजक जोगेन्द्र विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं ३ क का सभापति देवेन्द्र रिजाल, ३ ख का सभापति खिमबहादुर वली, महिला नेतृ पुष्पा श्रेष्ठ, नेविसङ्घका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, शिक्षक सङ्घका जिल्ला अध्यक्ष प्रकाश डाँगी, तरुणदलका केन्द्रीय सदस्य टोपबहादुर बुढाथोकी, तरुणदलका केन्द्रीय सदस्य श्रीधर शर्मा, नेपाली कांग्रेस घोराही–१३ का वडा सभापति गोपाल गिरी, वीपी विचार समाजका रमेशकुमार पाण्डेलगायतले महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गर्दै उनले देखाएको बाटोमा हिड्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रममा कांग्रेस दाङका सभापति डाँगीले यो दिनलाई नेपाली कांग्रेसको ऐतिहासिक पर्वका रूपमा लिन आह्वान गर्दै महामानव विश्वेश्वरप्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाई आत्मसात गरी अघि बढ्न आम जिल्ला कार्यसमितिका पदाधिकारी, भ्रातृ संस्थाका पदाधिकारी, शुभेच्छुक तथा शुभचिन्तक संस्थाका पदाधिकारीलाई आग्रह गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन उपसभापति कमानसिंह भारतीले गरेका थिए भने सहजीकरण सचिव बालिका लम्सालले गरेकबी थिइन् ।
दुई सय बढी बिरुवा रोपिए
यसैबीच वीपी कोइरालाको स्मृतिको अवसर पारेर नेपाली कांग्रेस दाङले घोराही उपमहानगरपालिकाको वडा नम्बर १३ को ज्यामिरे दहमा विभिन्न प्रजातिका एक सय बिरुवा रोपेको छ । यसैगरी शनिवारै नेपाली कांग्रेस दाङले ज्यामिरे सामुदायिक वन र घोराही उपमहानगरपालिका–१३ को प्राङ्गणमा सय बढी बिरुवा रोपिएको नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनकुमार योगीले बताए । रोपिएका बिरुवा हुर्काउने पनि आफ्नो दायित्व भएको भन्दै नेपाली कांग्रेस दाङले आगामी भदौ २३ गते वीपी जयन्तीको अवसर पारेर शनिवार रोपिएका बिरुवा गोडमेल गर्ने र मलजल गर्ने जनाएको छ ।