के.पी. सुवेदी
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि अहिले बसिरहेको छ । साधारणतः दुई महिनामा बस्नुपर्ने र केही महत्वपूर्ण मुद्दाहरुप्रति पार्टीको धारणा स्पस्टताका साथ बाहिर ल्याएर विधिविधान र पद्धति अनुसार पार्टी सञ्चालन भइरहेको जानकारमूलक सन्देश दिन आवश्यक भएर पनि त्यसको बेवास्ता गरिरहेको गुनासो बढिरहेको छ ।
मुलुककै लोकतान्त्रिक पार्टी जसले लोकतान्त्रिक विचारको खुला विश्वविद्यालयलेझैँ सबैलाई दीक्षित गर्दै विचारमा अझ बढी निखार ल्याउँदै मुलुक र सबै राजनीतिक शक्तिलाई लोकतान्त्रिक समाजवादको मार्गमा सूत्रबद्ध गर्दै अगाडि बढ्नुछ । कांग्रेस आफ्नो आदर्शमा चुकेको बेला मुलुक कसरी दुर्घटनामा पर्छ त्यसको उदाहरण २०५२ सालपछिका विभिन्न घटनाहरुलाई लिन सकिन्छ ।
गौरवपूर्ण इतिहासको पुँजी सदुपयोग गर्न नसकेर दिग्भ्रमित भइरहेको बेला त्यसलाई सच्याउन गम्भीर बहसमा पार्टी लाग्दैछ भन्ने बहस कांग्रेसमा सुरु भएको अर्थमा यस पटकको बैठकलाई लिइएको हुनुपर्छ । संयोग पनि जुराएर यो बैठकको आयोजना गरिएको छ । कांग्रेसका पिता एवम् प्रजातान्त्रिक समाजवादी सिद्धान्तका प्रणेता वीपी कोइरालाको पुण्यतिथि सप्ताहकै बिचमा सुरु भएको छ र उहाँलाई सम्झिँदा उहाँले निर्दिष्ट गरेको नीति र सिद्धान्तको मार्ग कहाँबाट छोडियो भन्ने पत्ता लगाउनेतर्फ ध्यान केन्द्रित हुने अवसर आएको छ ।
नेपाली कांग्रेस विचारप्रधान नीति र सिद्धान्तमा सङ्गठित पार्टी हो । सिद्धान्तविपरीत हुने कुनै पनि गतिविधि यसको सिद्धान्तप्रति समर्पित व्यक्तिले स्वीकार गर्दैन । व्यक्ति–व्यक्तिमा विचारको विविधता हुने कुरा कांग्रेसले स्वीकार गर्छ । तिनै विचार समूहको सार साझाकरण हुँदै पार्टीको सिद्धान्तमा रुपान्तरित हुन्छ । पद र जिम्मेवारीले ठुलो, सानो भए पनि विचारको दृष्टिमा सबै समान हुन्छन् भन्ने मान्यता राख्ने हुँदा नेतृत्व पनि विधिले बाँधिएको हुन्छ । तर केही समययता कांग्रेसको नेतृत्व स्वइच्छाचारी हुन खोजेको छ ।
अलोकतान्त्रिक निर्वाचन प्रक्रियामा जानुअघि पार्टीलाई दीर्घकालीन असर पर्ने निर्णय गर्दा मनपरेका र दास चरित्र धारण गरेका व्यक्तिको सानो समूहलाई साथमा लिएर समर्थकको आस्थामा प्रहार गरियो । आज भइरहेको बैठकमा त्यसको वृहत बहस भएर पार्टीलाई नीति, सिद्धान्तअनुसार विधि र प्रक्रियाबाट चलाउन सपथ लिने र ऐतिहासिक गल्तीप्रति सबैसँग क्षमा याचना गर्ने बेला हो, यो ।
अहिलेसम्म आफ्नो धारणा राखेका केन्द्रीय सदस्यहरुको बोली नै कांग्रेसको बोली मानिने भए एक वर्षपछि बसेको यो बैठक पनि सामन्ती संस्थाको भारदारी सभाभन्दा पृथक हुनेछैन । किनभने कांग्रेस बिगार्ने तङ्खवको प्रसस्ती गाएर नथाक्नेको भिडले कांग्रेस बचाउन सम्भव छैन । केही व्यक्तिहरु सरकारमा पुग्न सफल भएको भनेर सभापतिको आरती उतार्दा रहेछन् । सत्ताको सुविधामा बाँच्ने र त्यसको लागि विवेक बन्धकी राखेर भए पनि सुविधा पाए जसको पनि खाने, परजीवीहरुको जमातले पार्टी नियन्त्रण गर्न खोज्यो भने त्यहाँ कसको हालत के हुन्छ, सबैलाई थाहा हुने कुरा हो ।
एकपछि अर्को नयाँ पार्टीहरु उदाउँदा कांग्रेसको अवस्था के हुन्छ भनेर सामान्य चिन्तन नगर्ने अनि भूत, भविष्य र वर्तमानबारे बेखबर हुनेहरुले नै सत्ताको दुरुपयोग गरेका छन् । नक्कली भुटानी सरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेताहरु वा जिउँदै मानिस जलाएको आरोपमा मुद्दा खेपिरहेका, ललिता निवास प्रकरणमा मुद्दा खेपिरहेका नेताहरुको बचाउमा लाग्ने भनेको कांग्रेस कमजोर गराउने सोच हो ।
एकपटक मनन् गर्न आवश्यक छ कि तिनीहरुको क्षेत्रमा जनमत कसरी घट्यो । यसलाई आत्मसात गर्ने कि नगर्ने ? समर्थकले धमाधम पार्टी परित्याग गर्दा पार्टीको अगाडि अहम् प्रश्न उभिएको छ, एक÷दुईजना भ्रष्टलाई बचाउने कि पार्टीलाई बचाउने ? जसका कारण पार्टी र प्रणाली दुवै बदनाम हुँदैछन् । चर्चित भ्रष्टाचार प्रकरणका फाइलहरु खोलेर भ्रष्टहरुलाई कार्यबाही गर्न सकेको भए कांग्रेस छोडेर लाखौँ कार्यकर्ता नयाँ पार्टीमा जाने थियनन्, यो प्रणालीसँग राजतन्त्र तुलना गर्ने दुस्साहस कसैले गर्ने थिएन ।
पार्टी र मुलुकको कुनै चिन्ता नभएका, विचार र निष्ठाको लेस पनि नभएका सुविधाभोगी लाछीहरुले कोसँग मिल्न हुने, कोसँग मिल्नै नहुने भन्ने विचार गर्न आवश्यक नठानेपछि अहिलेको अवस्था आएको हो । माओवादी काँधमा बोकेर सत्ताको सपना देख्दा सङ्गठन कति कमजोर भएको छ भन्ने गएको बैशाखमा भएका उपनिर्वाचनले देखाइसकेको छ । आफ्नै अगाडि यति ठुलो क्षतिको घटना देख्दादेख्दै नबुझे जसरी यस्तो सरकार बनाउन पाएकोमा नाक फुलाउन कसरी लाज नलागेको हो ?
कांग्रेसलाई समसामयिक सङ्गठन बनाउँदै कार्यकर्ता र बौद्धिक शुभचिन्तकहरुको भावना समेटिएको नीति कार्यक्रम लिएर बैठक स्थलबाट बाहिरिनु पर्छ । पार्टीको सिद्धान्त विपरीत सत्ताको सुविधाका लागि अप्राकृतिक, असांस्कृत गठबन्धन गर्नु अनुशासनहीनता हो, सच्चिनु पर्ने सुधार्नु पर्ने अनुशासनहीन प्रवृत्तिलाई हो । रुपान्तरणको अभियान कर्णप्रिय र मुग्ध नहोस् । यसले परिणाम दिनसक्छ, त्यसको लागि खराब आचरण बिरुद्ध कठोर हुनैपर्छ । यसबाट जसको सुविधा खोसिनेछ उनीहरु अहिले पनि रिसले चुर देखिएका छन् । जथाभावी बोलेर गुट बचाउने प्रयास जारी छ ।
जायज, नाजायज परख्ने उनीहरुसँग क्षमतै देखिएन । भ्रष्टाचारको अभियोगमा आजका भन्दा ठूलानेताहरु जेल गएकै थिए र उनीहरुलाई तत्कालीन समितिले निलम्बन गरेको थियो । खराब चरित्रको बचाउ गरेर सङ्गठन बलियो हुँदैन भन्ने धेरै उदाहरणबाट प्रमाणित भइसकेको कुरा जति सक्यो चाँडो आत्मसात गर्नु सर्वथा सही निर्णय हो । गल्तीलाई लुकाउने होइन, प्रमाणित भएका गल्तीलाई स्वीकार्दै नदोहो¥याउने सङ्कल्प गर्दै अधि बढ्ने हो ।