अमरराज आचार्य
दाङ, ५ साउन । आर्थिकमन्दीलगायत अन्य कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योग र वाणिज्य व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङकाअनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला २ सय ९८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् भने वाणिज्यतर्फ ३ सय २३ गरेर ६ सय २१ वटा बन्द भएका छन् । बन्दको मुख्य कारण कोभिड र लगातारको आर्थिकमन्दी नै हो ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङकाअनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फर्म बढी छन् । बन्द हुने उद्योगमध्ये कृषि तथा वनजन्य उद्योग बढी छन् । जुन १ सय ४० वटा छन् । बन्द हुने उद्योगमध्ये उत्पादनमूलक उद्योग ५४ वटा, पर्यटन उद्योग ४८ वटा, सेवामूलक उद्योग ५६ वटा छन् ।
कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या यो भए पनि धेरै उद्योग तथा व्यवसाय बन्द भएका छन् । कार्यालयमा गएर धेरैले व्यवसाय बन्द नगराएको व्यवसायीहरू बताउँछन् । कोभिड–१९ को प्रभाव त्यसपछि वृद्धि गरिएको बैङ्क ब्याज, आर्थिक तरलतालगायतका कारण उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् ।
उद्योग तथा वाणिज्य फर्महरू बन्द भएपछि अहिले पनि बजारमा व्यावसायिक सटरहरू खाली छन् भने उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ७ सय ४२ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् । चालु तथा स्थिर पुँजी गरेर १ अर्ब ४१ करोड १ लाख ६४ हजार १ सय २६ रूपैयाँ लगानी भएको छ । राजस्व ६३ लाख ३१ हजार ७ सय ६३ रूपैयाँ सङ्कलन भएको छ । जिल्लामा हालसम्म ११ हजार ३ सय २ वटा घरेलु तथा साना उद्योगहरू छन् । सुरुदेखि २०७९ असार मसान्तसम्म १० हजार ९ सय ३ वटा र आर्थिक वर्ष २०७९÷०८० मा ७ सय ४२ वटा थपिएका हुन् ।
एक वर्षको अवधिमा ७ सय १७ वटा उद्योग नवीकरण भएका छन् । दर्ता भएका उद्योगमा ८ सय १२ जना उद्यमी थपिएका छन् । २ हजार ५ सय ५३ जनाले रोजगार प्राप्त गरेका छन् । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । एक सय जना उद्यमी थपिएका छन् भने ६ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन् । १ सय ९ वटा उद्योग नवीकरण भएका छन् । कृषि तथा वनजन्य उद्योगमा ४ सय ३२ वटा दर्ता भएका छन् । ४ सय ६६ उद्यमी थपिएका छन् । जसमा १ हजार १ सय ६ जनाले रोजगार प्राप्त गरेका छन् ।
कृषि तथा वनजन्य उद्योगका २ सय १८ वटा उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ एउटा थपिएको छ । जसमा ८६ जना उद्यमी भएका छन् भने २ सय २ जनाले रोजगार प्राप्त गरेका छन् । पर्यटन उद्योगतर्फ ७० वटा नवीकरण भएका छन् । सेवामूलक उद्योगतर्फ १ सय ५४ वटा दर्ता भएका छन् । १ सय ६० जना उद्यमी थपिएका छन् भने ४ सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक उद्योग २ सय ४० वटा नवीकरण भएका छन् ।
वाणिज्यतर्फ ८ सय २७ वटा फर्म दर्ता भएका छन् । जसमा प्राइभेट फर्म ८ सय १९ वटा र साझेदारी फर्म ८ वटा गरेर ८ सय २७ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जसमा ९१ करोड ७ लाख ११ हजार लगानी भएको छ । वाणिज्यतर्फ ७ सय ७४ वटा फर्म नवीकरण भएका छन् । ३३ वटाको नामसारी, १० वटाले ठाउँसारी, ३० वटाले अन्य उद्देश्य, पँुजी वृद्धि २ सय ६३ वटाले गरेका छन् । कार्यालयले वाणिज्यतर्फ ८० लाख ६५ हजार ३० रूपैयाँ राजस्व सङ्कलन गरेको छ । जसमा नयाँ फर्म दर्ताबाट ३२ लाख २० हजार ४ सय र अन्य कार्यालयको राजस्व ४ लाख ४४ हजार ६ सय ३० रूपैयाँ सङ्कलन गरेको छ ।