वन कार्यालयको वार्षिक प्रगति समीक्षा,विज्ञान पार्क निर्माणदेखि नमुना कृषि वनसम्म

खेमराज रिजाल
खिेमराज रिजाल
दाङ, ४ असार । डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा प्रस्तुतीकरण गर्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले डिभिजन वन कार्यालय दाङले गरेका आर्थिक तथा भौतिक प्रगतिका विषयमा जानकारी गराए ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको प्रगति समीक्षा कार्यक्रममा डिभिजन वन कार्यालयले सामुदायिक विद्यालयमा विज्ञान पार्क निर्माणदेखि केही पालिकामा निजी कृषि वनसम्मको क्षेत्रमा लगानी गरेको बताइयो । डिभिजन वन कार्यालय दाङले गएको आर्थिक वर्षमा घोराही उपमहानगरपालिका रामपुरको सिमलतारा स्थित आधारभूत माध्यमिक विद्यालय सुनपुरमा विज्ञान पार्क निर्माण गरिएको बताइयो । सामाजिक उत्तरदायित्वसँगै विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षामा सहजता ल्याउन सो विज्ञान पार्क निर्माण गरिएको बताइएको छ ।

यसैगरी हरियाली कम हुँदै गएको र कृषियोग्य निजी जमिन बाँझै भएको अवस्थामा जग्गाधनीलाई प्रतिबिरुवा हुर्काउन ३० रूपैयाँ अनुदान तथा निःशुल्क रूपमा बिरुवा उपलब्ध गराएर यस कार्यालयको कार्यक्षेत्र अन्तर्गतका बंगलाचुली गाउपालिका र घोराही उपमहानगरपालिकामा कृषि वन कार्यक्रम सञ्चालनमा ल्याइएको पनि कार्यालय प्रमुख श्रेष्ठले समीक्षा कार्यक्रममा जानकारी दिए ।

प्रगति समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार डिभिजन वन कार्यालयको वित्तीय प्रगति करिब ९० प्रतिशतभन्दा माथि र भौतिक प्रगति पनि त्यसकै हाराहारीमा भएको बताइएको छ ।
कार्यालयले आप्mना केही कार्याक्रमलाई आहा कार्यक्रम भनेको छ । आहा कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता कार्यालयले जनाएको छ ।

कार्यक्रममा डिभिजन प्रमुख श्रेष्ठले गत असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर १४ हजार ५ सय बिरुवा रोपिएको, तुलसीपुरको अस्वारा सामुदायिक वनमा भएको अतिक्रमण हटाइएको, यस डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत अम्बापुर, तुलसीपुर, पुरन्धारा र दंगीशरण गाउँपालिकामा नर्सरी निर्माण गरी कम्तिमा दुई लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको पनि वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी गराइएको छ ।

यसैगरी एक घर दुई बिरुवा र एक वडा एक पोखरी निर्माण गरी पर्यावरणीय सन्तुलनमा पनि सहकार्य गरी वातावरण संरक्षणमा योगदान पुगेको समीक्षामा बताइएको छ । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा त्यस्ता पोखरी निर्माण गरिएको थियो । डिभिजन वन दाङले बबई गाउँपालिकाको पुरन्धारा छहरामा पर्यापर्यटन कार्यक्रम अन्तर्गत रेलिङ र सिँढी सहितको सडक निर्माण गरिएको समीक्षा कार्यक्रममा बताइएको थियो ।

डिभिजन कार्यालयमा १३ वटा शीर्षकमा बजेट विनियोजन भएकोमा १० वटा शीर्षकमा ११ करोड २० लाख रूपैयाँ खर्च गरिएको थियो । यसमा वित्तीय प्रगति करिब ९१ प्रतिशतभन्दा बढी भएको समीक्षामा उल्लेख गरिएको छ । यस्तै वनलाई आयआर्जनसँग जोड्न केही सामुदायिक वनमा प्राङ्गारिक मल उत्पादनको कार्यक्रम पनि यसै वर्ष सञ्चालन गरिएको थियो ।

कार्यालयले नेपाल सरकारलाई गत आर्थिक वर्षमा कम्तिमा अढाइकरोड रूपैयाँभन्दा बढी राजस्व बुझाएको छ । केही मात्रामा वनले जफत गरेका सदुपयोगी काठ विक्रीका कार्यक्रम पनि सम्पन्न भएको उल्लेख गर्दै केही काठ भने अदालती मुद्दा प्रक्रियामा रहेकाले लिलाम गर्न नसकिएको समीक्षामा बताइएको थियो ।

कार्यालयमा करिब तीनदशकदेखि जफत गरिएका काठ समेत लिलाम हुन सकेका छैनन् । ती काठमा बर्सेनि धमिराले सखाप पारिरहेको बताइएको छ । त्यस्तै डिभिजन वनले हापुर बिजौरीमा बोटानिकल गार्डेनको निर्माणसँगै कार्यालयका कर्मचारीलाई स्वस्थ र तन्दुरुस्त राख्न तालिम हलसँगै जिमखाना समेत निर्माण गरेको छ ।

डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माणदेखि बिरामी परेका वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनका कार्यक्रम समेत गएको आर्थिक वर्षमा सम्पन्न भएको कार्यालय प्रमुख श्रेष्ठले बताएका छन् । कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जीवप्रसाद चौधरी, जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीलगायतले समीक्षा कार्यक्रममा सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुुख अतिथिको मन्तव्य व्यक्त गर्दै वन मानिस मात्र नभएर समस्त जीवको जीवनसँग जोडिएको भन्दै वनको उचित व्यवस्थापन, सदुपयोग र संरक्षणमा सबै निकायको सहकार्य आवश्यक रहेको बताए । समग्रमा डिभिजन वन कार्यालय दाङले गरेको भौतिक तथा आर्थिक प्रगति सन्तोषजनक भएको बताउँदै आगामी आर्थिक वर्षमा यसलाई अझ फलदायी बनाउन डिभिजन वन कार्यालयलाई सुझाव दिए ।

‘वन मानिसको जीवनसँग मात्र होइन, यो समस्त जीवको जीवन तथा जैविक विविधतासँग पनि जोडिएको छ, यसैले यसको संरक्षणसँगै वैज्ञानिक व्यवस्थापनमा हामी सबैले ध्यान दिन जरुरी छ’, प्रमुख अतिथि शर्माले भने । सहायक वन अधिकृत भक्तबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का सहायक वन अधिकृत खिमबहादुर केसीले गरेका थिए ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टंक गौतम, अनुसन्धान कार्यालय दाङका प्रमुख केशव राज न्यौपाने, जिल्ला समन्वय अधिकारी मोहनप्रसाद सुवेदी, पत्रकार हेमराज शर्मालगायत यस डिभिजन अन्तर्गत ८ वटा सव डिभिजन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।