प्रियास्मृति गजमेर
लमही, ४ असार । लमही कोइलाबास सडकखण्डमा पर्ने कोलही खोलामा बन्दै गरेको पक्की पुल १८ महिना बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
असार मसान्तमा ठिक १८ महिना पूरा भएको छ । यो १८ महिनामा फाउन्डेसनको काम भएको छ भने एकातिरको एस्टिमको मात्र काम भएको छ । बाँकी काम सुरु कहिले हुन्छ भने एकिन छैन । पुल बन्दाबन्दै अलपत्र परेपछि यो बाटो भएर हिड्ने पैदलयात्री, साइकलयात्री, विद्यालय जाने विद्यार्थीलगायतले निकै सास्ती बेहोर्नु परेको छ ।
लमही नगरपालिकादेखि ६÷७ सय मिटरको दूरीमा रहेको यो खोलामा कैयौँ पटक दुर्घटना समेत भएका छन् ।
वडा सदस्य, प्रदेश सांसददेखि लिएर प्रदेशका मन्त्री तथा मुख्यमन्त्री समेत यही बाटो हुँदै कोइलाबाससम्म आउने–जाने गर्दछन् तर यो पुलको बारेमा कसैले चासो राखेका छैनन् । ‘स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकोले हामीले केही गर्न सकेनौँ, यो हुलाकी राजमार्गको काम हो तर पनि यो पुलको काम किन ढिला भएको भनेर मैले निर्देशनालयमा बुझ्दा कम्पनीकै कारण ढिला भएको जवाफ दिनुभएको छ’, लमही नगरपालिका पूर्व नगर प्रमुख कूलबहादुर केसीले भने ।
लमही कोइलाबास सडक दैनिकजसो सैयौँ सवारी साधन आवागमन गर्ने प्रमुख सडक हो । प्रमुख सडकमै रहेको पक्की पुल समयमा बन्न नसक्दा हुलाकी राजमार्ग र निर्माण कम्पनीप्रतिको विश्वसनियता माथि प्रश्न खडा भएको लमहीका ईश्वर केसीले बताए ।
राप्ती पारिको गढवा गाउँपालिका जोड्ने मुख्य सडकमै लामो समयदेखि पुल बन्न नसक्दा वर्षामा स्थानीयले सास्ती खेप्नु परेको गढवा गाउँपालिका–५ का स्थानीय सुबोध घर्तीले बताए । खोलामा अस्थायी रूपले आवतजावत गर्नका लागि ह्युम–पाइप राख्ने गरे तापनि वर्षामा खोलाले बगाएर लैजाने गर्दा झनै समस्या हुने गरेको घर्तीले बताए । स्थानीय जनप्रतिनिधिले सम्बन्धित निकायलाई घच्घचाउनु पर्ने हो, कसैले चासो नराखेको हामीलाई अनुभूति भएको छ’, घर्तीले भने ।
बितेको आर्थिक वर्ष २०७९ मा २ करोड ९२ लाख ५० हजार ९९ रूपैयाँ बजेट विनियोजन भएर बर्दियाको गेलुवा मेनुका जेभी निर्माण कम्पनीले काम थालेको हो । निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनिएर सुनिलकुमार गुप्ताले बताए । यो १८ महिनामा सक्नुपर्ने योजना हो । जुन कम्पनीले पुल बनाउने जिम्मा पाएको थियो उसले बिचमा दोस्रो व्यक्तिलाई काम दिएको र उसले पनि काम गर्न नसक्ने भन्दै छोडेपछि गेलुवा मेनुका जेभी आफैले काम सुरु गरेको हो ।
‘बिचमा कहिले पैसाको कारण त कहिले कच्चापदार्थ अभावमा काम गर्न नसकेको भनेर निर्माण कम्पनीले हामीलाई जानकारी गराएको छ’, इन्जिनिएर गुप्ताले भने, ‘काम समयमा नसक्ने कारणहरू पुष्टि हुने गरी कम्पनीलाई पत्राचार गर्नु भनेका छौँ, कम्पनीले सोहीअनुसार पत्राचार ग¥यो भने पुनः म्याद थप गरेर काम अगाडि बढ्छ र काम अगाडि बढेको ६ महिनामा पुलको काम सम्पन्न हुनेछ’, उनले भने ।