मेरो खुसी : कोषाध्यक्षको जिम्मेवारी ….
थोरै भए पनि कांग्रेस पढेका छन् र बुझ्दै समेत छन् । मेसो मिलेको ठाउँमा भन्छन्, ‘समाजलाई सही दिशाबोध गर्न नथाक्ने आन्दोलन नै कांग्रेस हो ।’ घरपरिवार नै राजनीतिमय भएकाले सानैदेखि कांग्रेस सुन्ने र चिन्ने मौका प्राप्त गरे घोराही –१४ का प्रकाश सुवेदीले ।
सपना देख्नेहरू नै जीवनमा अघि बढ्छन् । सम्भवतः उनले पनि धेरै सपना देखेका छन् । घरपरिवार कांग्रेस भएकै कारण उनमा पनि पार्टीप्रति सदासयता त्यही बेलाबाट नै बढ्दै आएको थियो तर कुर्नुको विकल्प थिएन । पार्टीको १२ औँ महाधिवेशनबाट उनी औपचारिक रूपमा पार्टीमा जोडिए । पार्टीको क्रियाशील सदस्य भएर हिडेको बाटो फराकिलो हँुदै आएको छ । त्यही बाटो भएर उनी अहिले कांग्रेस दाङको कोषाध्यक्ष भएका छन् । उनले यसलाई खुसीको क्षणको रूपमा सम्झना गर्छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचन जितेका सुवेदी झण्डै ५ महिनापछि कोषाध्यक्षमा मनोनित भए । ‘यो मेरो लागि खुसीको क्षण भएर बसेको छ’, उनले भने, ‘हिड्नु पर्ने धेरै उचाई छ । बेस तयार भएको छ ।’ कमर्श नै पढेका सुवेदीले पार्टीको कोषाध्यक्षमा आएपछि पार्टीको लेखाप्रणालीलाई जीवित राख्ने प्रयास गरेका छन् । ‘लेखा प्रणालीलाई व्यवस्थित राख्न धेरै प्रयास गरेको छु ।
पार्टीको तल्लो समितिसम्म यो प्रक्रिया थालेका छौँ । सबै क्षेत्रबाट सहयोग र सद्भाव प्राप्त भएको छ’, उनले भने, ‘यो जिम्मेवारीमा पनि धेरै खुसी भेटेको छु ।’ जीवन सुख र दुःखको बाटैबाट हिड्छ । सम्भवतः उनको जीवन पनि त्यही बाटो भएर हिडिरहेको छ । जिन्दगीको यही गोरेटोमा पनि उनले धेरै खुसी भेटेका छन् । उनले अर्को खुसी मोटरसाइकल किन्दाको सम्झना गरे । विगतमा घोराही बजार पैदल र साइकलका भरमा नापेको अनुभव उनीसँग ताजै छ तर त्यही यात्रालाई छोटो बनाउन उनले २०५९ सालमा मोटरसाइकल किने ।
उनले त्यो कार्यलाई जीवनको खुसीको क्षणमा राखेका छन् । ‘घरमा बुवाको मोटरसाइकल थियो तर मैले २०५९ सालमा आप्mनै लागि मोटरसाइकल नै किने । त्यो मेरो जीवनमा खुसीको क्षण भएर बसेको छ’, उनले भने, ‘मोटरसाइकलको चाभी आफ्नै हातमा भएपछि संसारै बेग्लै ।’ बैँसका रँगहरू भरिँदै गएकाले बाइकसँगको यात्रा राम्रै गरे, दाजु दीपकसँग घुमफिरदेखि प्रेमिकासँग डेटसम्म । साइकल, मोटरसाइकल हुँदै अहिले उनी कारमा सवार गर्छन् । उनले यसलाई समयको आवश्यकता भन्ने गर्छन् ।
बुवा विष्णुप्रसाद सुवेदी र आमा राधाकुमारी सुवेदीका कान्छो सन्तानको रूपमा २०४० असार २० दाङ जिल्लाको घोराहीमा जन्मेका उनले प्रारम्भिक शिक्षा दीपशिखा विद्यालयबाट थालेका थिए । दीपशिखाबाट एसएलसी पास गरेका उनले ज्ञान सिन्धुबाट प्लस टु र महेन्द्र बहुमुखी क्याम्पसबाट स्नात्तक उत्तीर्ण गरेसँगै औपचारिक शिक्षामा पूर्णविराम नै लगाएका छन् ।
घरदेखि केही किलोमिटरको दूरीमा शान्ताको घर थियो । फाटफुट भेटघाट हुने र बोलचाल पनि थियो । शान्तासँगको भेटघाट र बोलचालसँगै मनमा भने माया विजारोपण भइसकेको थियो, उनमा तर भन्न सकेका थिएनन् । एक दिन आँट गरेर प्रस्ताव नै गरे । उत्ताबाट पनि ग्रीन सिग्नल पाएपछि केही वर्षसम्म दुवै प्रेममा नै रमाए । बजारको विभिन्न चोक र सेवार खोला दुवैको माया मौलाउने स्थलका रूपमा साक्षी भएर बसेका छन् ।
विभिन्न चुनौतीबाट हुर्काएको मायाको विजलाई दुवैले मौलाउन दिने वाचा गरेर २०५९ सालमा विवाहमा परिणत गरे । त्यो पनि भागेर ।उनका दुई छोरा छन् । एउटा छोराले प्लस टु सकेका छन् भने अर्को छोराले भर्खरै एसइई सकेर उच्च शिक्षाको तयारीमा छन् । राजनीति र समाजसेवा एकअर्काका पर्याय नै हुन् । कहिले कुन अघि र कहिले कुन अघि । राजनीतिमा जोडिँदा समाजसेवा व्याकमा आउँछ । समाजसेवा भन्दा राजनीति व्याक भएर बस्छ ।
उनले पनि त्यही गर्दै आएका छन् । उनले राजनीतिकसँगै समाजसेवामा आफूलाई उभ्याएको बताउँछन् । ‘धेरै ठाउँमा सहयोग गरेको छु । सेवा गर्न पाउँदा खुसी मिल्ने गरेको छ’, उनले भने, ‘सानैदेखि कोही दुःख परेको व्यक्ति सहयोग माग्न आए आफूसँग भएको केही न केही सहयोग दिएर नै फर्काउने गरेको थिएँ । त्यो आजभोलि पनि चलेको छ ।’
सुवेदी राजनीतिक, समाजसेवा मात्र गर्दैनन् । यो क्षेत्रका परिचित व्यवसायी समेत हुन् । उनले विगतदेखि नै खाद्यको व्यवसाय गर्दै आएका छन् । उनले दाङका स्थानी यबजारदेखि रोल्पा, रुकुमसम्म चामल, दाल, तेल पठाउने गर्छन् । ‘राजनीतिसँगै व्यवसाय क्षेत्रमा पनि धेरै खुुसी भेटेको छु । व्यवसाय क्षेत्रको अनुभव मज्जाले भोगेको छु’, उनले भने ।
गत असार २० पछि उनको जीवनको अर्को वर्ष थपिएको छ । यहासम्म आउँदा जीवन वक्र र सरल रेखामै हिडेको छ । वक्ररेखामा हिंड्दा पनि हार खाएनन् र सरल रेखामा हिड्दा पनि मात्तिएनन् । ‘भाग्यविधाताले भागमा जे दिएको छ । त्यही खाने हो । त्यो भएपछि धेरै दःुखी हुन पर्दैन’, सुवेदीले भने, ‘यहाँसम्म आउँदा खुसी नै छु ।’ सुवेदी कांग्रेस दाङका कोषाध्यक्ष हुन् ।
प्रस्तुती : इन्द्र डिसी