calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मुक्त कमैयाको गुनासो : राज्यले अझै चिनेन

मुक्त कमैया दिवस

प्रियास्मृति गजमेर
लमही, ३ साउन । राप्ती गाउँपालिका–६ का लीलाराम चौधरीको नाममा एक धुर पनि जग्गा छैन । जग्गा पाउने आशामा वर्षौँ बित्यो तर उनले अझै जग्गा प्राप्त गर्न सकेका छैनन् । जग्गा पाउने आशामा बसेका उनी बर्सेनि कमैयासम्बन्धी कार्यक्रमदेखि आन्दोलनसम्म पुग्ने गरेका छन् तर आफ्नो जग्गा भने अहिलेसम्म पाउन सकेका छैनन् ।

मंगलवार मुक्त कमैया दिवस मनाउन लमही आएका चौधरीले भने, ‘जग्गा दिन्छु भन्छ तर दिँदैन, जग्गा पाउने आशैआशमा वर्षौँ बित्यो, जग्गा पाइएन ।’ मुक्त कमैयाको परिचय समेत पाउन नसकेका उनी जग्गा पाउने आशमा छन् । चौधरी जस्ता जग्गाविहीन थारु समुदायका मुक्त कमैयाहरू दाङमा तीन हजार बढी छन् । सरकार बाहिर हुँदा जुनसुकै पार्टीले पनि कमैयासम्बन्धी समस्या समाधान गर्ने बताउने गरे पनि सरकारमा सहभागी भएपछि कमैयाका समस्या बेवास्ता हुने उनी बताउँछन् ।

उनको जस्तै गुनासो रहेको छ, लमहीनगरपालिका–४ निवासी मनबुझाउन चौधरीको । उमेर हुँदासम्म जमिनदारको घरमा काम गरेर बसेका चौधरी २०५७ सालमा कमैया मुक्त देश घोषणासँगै घर फर्किएका थिए । आफ्नो जवानी जमिनदारकै घरमा श्रम गरेर सकिएको र कमैया मुक्त भएपछि घर फर्किए पनि जोत्न जग्गा नहुँदा समस्यैसमस्यासँग बर्सेनि जुध्नुपरेको उनी बताउँछन् । उनले भने, ‘कमैया मुक्त देश भएपछि घर फर्कियौँ तर जोत्ने जग्गा छैन, कसरी परिवार पाल्ने भन्ने समस्याले सताइरहन्छ ।’ छुट कमैयाका रूपमा रहेका मनबुझाउन चौधरी सरकारले जग्गाको आशामा आपूmलाई अन्याय गरेको बताउँछन् । उनले भने, ‘जेनतेन ऐलानी जग्गामा सानो छाप्रो हालेर बसेका छौँ तर त्यो पनि आप्mनो हुन्छ कि हुँदैन भन्ने चिन्ता छ ।’

यसैबिच मुक्त कमैयाले आफूहरूलाई राज्यले ठुलो अन्याय गरेको गुनासो गरेका छन् । मुक्त कमैया दिवसको अवसरमा मंगलवार लमहीमा आयोजित कार्यक्रममा सहभागी कमैयाले सरकारले आश देखाए पनि समस्या समाधानमा पहल नगरेको गुनासो गरेका छन् । जसले गर्दा मुक्त कमैयाहरूले वर्षाैँ बितिसक्दा पनि मुक्त कमैया परिचयपत्र र जग्गा पाउन नसकेको गुनासो गरेका हुन् । उनीहरूले कमैयालाई दिएको जग्गा पनि अहिलेसम्म नभेटिएको गुनासो गरेका छन् । हातमा जग्गाको लालपुर्जा भए पनि जग्गा खाला र बगर बनेको राप्ती गाउँपालिका–३ का तुलसी चौधरी बताउँछिन् ।

गिरिजाप्रसाद कोइरालाको पालामा २०५७ सालमा कमैया मुक्त देश घोषणा भए पनि मुक्त कमैयाले सुखको सास भने अझै फेर्न नपाएको उनको गुनासो थियो । कार्यक्रममा राजपुर गाउँपालिका–७ निवासी मुक्त कमैया राजकुमारी चौधरीले मुक्त कमैयालाई सरकारले आफ्ना देशका नागरिकसरह व्यवहार नगरेको गुनासो गरिन् ।

दाङमा एक हजार चार सय २६ जना मुक्त कमैयासँग सरकारले दिएको परिचयपत्र छ । बाँकी तीन हजार तीन सय ८५ जनासँग परिचयपत्र नभएको मुक्त कमैया समाज दाङका अध्यक्ष हरिशचन्द्र चौधरीले बताए । उनकाअनुसार जिल्लामा सात सय पाँच मुक्त कमैयाले जग्गाको लालपुर्जा पाएको र १७ जनाले आफ्नो जग्गा चिन्न सकेका छैनन् । २९ जना मुक्त कमैयाको जग्गा नदीको किनार र बगरको जग्गाको लालपुर्जा बनेको छ ।

दाङमा ३ हजार बढी छुट कमैया

दाङमा अझै ३ हजार ३ सय ८५ घरपरिवार छुट मुक्त कमैया छन् । मुक्त कमैया परिचयपत्र पाउन नसक्दा राज्यले दिने सेवा सुविधाबाट उनीहरू बञ्चित हुनु परेको छ । लमही नगरपालिकामा ६ सय ५०, गढवा गाउँपालिकामा ७ सय ५०, राप्ती गाउँपालिकामा ८ सय १५, घोराही उपमहानगरपालिकामा ४ सय २६, राजपुर गाउँपालिकामा २ सय १ र तुलसीपुर उपमहानगरपालिकामा ५ सय ४२ घरधुरी छुट मुक्त कमैया रहेको मुक्त कमैया समाज दाङका जिल्ला अध्यक्ष हरिशचन्द्र चौधरीले बताए ।

सरकारले कमैया मुक्त देश घोषणासँगै मुक्त कमैयालाई न्यूनतम ५ कठ्ठा जग्गा उपलब्ध गराउने भनेको थियो । मुक्त कमैयाहरूले विगतका वर्षदेखि नै सरकारले गास, बास र कपासको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै आएका छन । घरबारविहीन भएकालाई रातो मुक्तकमैया परिचयपत्र, ऐलानी जग्गामा बसोबास गरेकालाई नीलो मुक्तकमैया परिचयपत्र, १९ धुरसम्म दर्ता भएको जग्गामा बसोबास गर्नेलाई पहेंलो मुक्त कमैया परिचयपत्र र १९ धुरदेखि १ कठ्ठा १९ धुरसम्म जग्गा भएकालाई सेतो मुक्त कमैया परिचयपत्र प्रदान गरेको छ ।

लमहीमा २० घरधुरीले रातो, ६० घरधुरीले निलो, ९४ घरधुरीले पहेँलो र २७ घरधुरीले सेतो मुक्त कमैया परिचयपत्र पाएका छन् । त्यस्तै गढवा गाउँपालिकामा १८ घरधुरीले रातो, १२५ घरधुरीले नीलो, ६० घरधुरीले पहेँलो र ७३ घरधुरीले सेतो मुक्त कमैया परिचयपत्र प्राप्त गरेका छन् । यसैगरी राप्ती गाउँपालिकामा पनि सबै मुक्त कमैयाले परिचयपत्र पाउन सकेका छैनन् । १५० ले रातो, १३९ ले निलो, १८० ले पहेँलो र १४५ घरधुरीले सेतो मुक्त कमैया परिचयपत्र पाएका छन्, राप्ती गाउँपालिकामा परिचयपत्र नपाउनेको सङ्ख्या जिल्लामै धेरै छ ।

घोराही उपमहानगरपालिकामा पनि मुक्त कमैयाले परिचयपत्र पाउन सकेका छैनन् । ७७ घरधुरीले रातो, ३७ घरधुरीले नीलो, २१ घरधुरीले पहेँलो र २३ घरधुरीले मात्र मुक्त कमैया परिचयपत्र पाएका छन् । राजपुर गाउँपालिकामा ९ घरधुरीले रातो, १७ घरधुरीले नीलो, ३३ घरधुरीले पहेँलो र ३९ घरधुरीले सेतो मुक्त कमैया परिचयपत्र पाएका छन् । तुलसीपुर उपमहानगरपालिकामा २८ घरधुरीले रातो, २२ घरधुरीले नीलो, ३९ घरधुरीले पहेँलो र १७ घरधुरीले सेतो मुक्त कमैयाले परिचयपत्र प्राप्त गरेका छन् ।