प्रियास्मृति गजमेर
लमही, १ साउन । लमहीमा निर्माणाधिन अवस्थामा रहेको प्रदेशस्तरीय ट्रमा सेन्टरको काम ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । २०८० असार २३ गते काम सक्नेगरी २०७७ चैत्र २४ गते सम्झौता भएको प्रदेशस्तरीय ट्रमा सेन्टरको काम सम्झौता मिति सकिदा समेत आधा पनि निर्माण हुन सकेको छैन ।
निर्माणका लागि सम्झौता सकिएपनि भवनको ३० प्रतिशत मात्रै काम भएको सहरी विकास तथा भवन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख अनन्तकुमार देवले जानकारी दिएका छन् । विविध कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाई गरेको निमित्त कार्यालय प्रमुख देवले जानकारी दिए । उनले भने, ‘सम्झौता अनुसार काम भएको भए अहिले ट्रमा सेन्टरको भवन निर्माण सकिनुपर्ने थियो तर निर्माण व्यवसायीले ढिलाई गर्दा आधा पनि हुन सकेको छैन ।’
पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका बिरामीहरुसँगै देउखुरी क्षेत्रका नागरिकहरुको सहजताका लागि लमहीमा प्रदेशस्तरीय ट्रमा सेन्टर निर्माण हनु थालेको भएपनि काम भने अत्यन्त ढिला भएको लमही नगरपालिका पूर्व नगर प्रमुख कूलबहादुर केसी बताउँछन् । भवन निर्माणका कार्यलाई गति दिनका लागि सम्वन्धीत निकायले पहल थाल्नुपर्ने उनी बताउँछन । ‘हामी जनप्रतिनिधि भएको समय ट्रमा सेन्टर निर्माणका लागि प्रदेश सरकारले प्रक्रिया सुरु गरेपछि जग्गा उपलव्ध गराएका थियौ’, उनले भने, ‘तर अहिलेसम्म पनि भवन निर्माण हुन सकेको छैन ।’ तर निर्माण व्यवसायीले भने धेरै प्राविधिक कामहरु मिलाउनुपर्ने भएका करण ढिलाई भएको बताउँछन् ।
अत्याधुनिक सेवा सुविधासहितको ट्रमा सेन्टर निर्माण गर्ने भनेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा १९ करोड ४१ लाख रूपैयाँ विनियोजन गरेको थियो । तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल मुख्यमन्त्री भएको बेला बजेट विनियोजन भएको थियो । त्यसपछि हालसम्म लुम्बिनी प्रदेशमा चारजना मुख्यमन्त्री फेरबदल भएपनि प्रदेशस्तरीय ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन ।
लमहीमा बन्दै गरेको ट्रमा सेन्टरको निर्माणको जिम्मा लामा जि.एस.एच जेभी काठमाण्डौले गर्दै आएको छ । कामको सम्झौता गरेसँगै नेपालमा कोरोना संक्रमण देखिएको र त्यसपछि पनि विभिन्न प्राविधिक कारण निर्माणमा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि दिलिप लामा बताउँछन् । ‘त्यो बेला केहि समय कोरोनाले काम गर्न दिएन, केहि समय त्यहाँ भएका भवन हटाउन ढिला भयो’, निर्माण कम्पनीका प्रतिनिधि लामाले भने, ‘सवै प्रक्रिया मिलाएर काम सुरु गर्दा भवन निर्माणमा केही ढिलाई भएको छ ।’ समयमा निर्माण सम्पन्न भएको भए प्रदेशस्तरीय ट्रमा सेन्टर अहिलेसम्म निर्माण भैसकेको हुने थियो ।