बालाराम खड्का
तुलसीपुर, १ साउन । ‘पातु खोला अर्थात् माथिल्लो बस्तीले फालेको प्लास्टिकजन्य फोहोरलगायत अन्य फोहोरका कारण हामी तुसीपुर ६ गोलौराबासीले कहिलेसम्म सास्ती भोग्नु पर्ने हो ? मेरो प्रश्न मेयर टीकाराम खड्काज्यू अनि अध्यक्ष दुजमान भण्डारीलगायत सम्पूर्ण वडा सदस्यज्यूहरूलाई हो ? हुन त यो समस्या वर्षौँदेखिको हो ।
त्यही पनि स्थानीय सरकारसँग दैनिक नगरपलिकाको गाडी तुलसीपुर ६ गोलौरा पठाउन हार्दिक अनुरोध गर्दछौँ । यदि यो काममा आलटाल गरियो भने सम्पूर्ण जनतालाई खेरि यही फोहोर नगरपालिको गेटभित्र र वडा कार्यालयभित्र जम्मा गर्न म आफैलगाएत सम्पूर्ण युवासाथीहरू फिल्डमा उत्रने छौँ ।’ यस्तै आशयको स्टाटस बेदु बुढाथोकीले फेसबुकमा लेखेका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नह्कुल केसीले सो सामाजिक सञ्जाललाई साझा गर्दै भनेका छन्, ‘हलो मेयर एण्ड उपमेयर लेस्निङ दिस भ्वाइस ?’
तुलसीपुरमा स्थायी डम्पिङ साइट नहुँदा सो समस्या सधैँ हुने गरेको छ । बर्सेनि धेरै मानिस खेती गर्दा घाइते हुने गरेका छन् भने कुुलाले बगाएर ल्याएको फोहोरले कुलो थुनिँदा स्थानीयका घरमा पानी पस्नुका साथै क्षति समेत हुने गरेको छ । तुलसीपुर बजारको पुछारमा खेती किसानी गर्ने गोलौरा बासीले यसरी नै बर्सेनि पीडा खेपिरहेका छन् ।
तुलसीपुर बजार हुँदै बग्ने कुलामा फोहोर जाँदा खेतीकिसानी गर्ने किसानका बर्सेनिको समस्या हो, यो । तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहोर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाका किसानहरू परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहोर, सुई, सीसा तथा प्लास्टिकजन्य वस्तु तथा कपडाका टुक्रा जस्ता फोहोर जथाभावी फाल्नाले बर्सातको समयमा बाढी आएको बेला सो फोहोर किसानका खेत–बारीमा पुग्ने गरेको गरको किसानहरू बताउँछन् ।
‘बर्सातको पानीले सबै फोहोर बगाएर हाम्रा खेत तथा घरआँगनमा थुपारेको छ, वर्षैदेखि यसरी नै फोहोर बगाएर ल्याउने समस्या छ’, स्थानीय माधवा केसीले भने । केसीले घर अगाडि रहेको खेतमा फोहोर शौचालयको ढल जाँदा फोहोर गनाएर बस्नै नसक्ने भएको बताइन् । ‘खेतमा धेरै फोहोर जम्मा भएपछि अधिकांशका खेत जोत्नै नबन्ने अवस्था छ । प्लास्टिकले खेत जोत्नै बन्दैन, रोप्न तयार पारेको खेतमा प्लास्टिक र सिसा मात्रै हुन्छ’, उनले भनिन् ।
खेतीयोग्य जमिनमा बजारका फोहोर भरिएपछि उत्पादमा पनि असर पुग्ने गरेको किसानहरूले बताउँदै आएका छन् । यसैगरी किसानहरू दिनहुँ खेतमा गएर प्लास्टिक र कुलोले बगाएर ल्याएको फोहोर टिप्न बाध्य भएको बताउँछन् । खेतैभरि फोहोरको डङ्गुर जम्मा हुने समस्या छ । दिनभरि फोहोर टिप्यो, बिहान हेर्दा फेरि उही प्लास्टिक र कपडाका टुक्रा देखिने गरेको किसानहरू बताउँछन् । ‘बर्सातको समयमा पानीले फोहोर बगाएर खेतीयोग्य जमिनसम्म पु¥याउँदा खेतीपाती गर्न समस्या भएको छ, त्यसले मानव स्वास्थ्यमा पनि असर पु¥याएको छ’, गोलौराका एक किसानले भने, ‘यो समस्याको समाधान खोज्न कहाँ जाने ? हामी अन्योलमा छौँ ।
यसैगरी तुलसीपुर–१० का किसान निर्मलकुमार वलीले कुलोले बगाएर ल्याएका प्लास्टिकले गर्दा खेत जोत्न निकै सास्ती भयको बताए । यसरी बगेर आएको प्लास्टिक माटो मुनि दबिन्छ र खेतको माटो समेत बिग्रिएको उनले बताए । फोहोरले गर्दा खेतीयोग्य जमिनमा असर गर्नुका साथै उत्पादनमा नोक्सानी बेहोर्नुपरेको वलीले बताए ।
तुलसीपुर उपमहानगरपालिकाका टरिगाउँ, टरिगँै, गोलौरा, राइखल्यान, गौरीगाउँलगायतका किसानले यस्तै समस्या बर्सेनि बोग्दै आएका छन् । किसानले उपमहानगरपालिकालाई त्यसको विषयमा पटक पटक जानकारी गराउँदा पनि पहल हुन नसकेको बताए । त्यस्तै उपमहानगरपालिकाका अधिकारीहरूले पनि दैनिक उत्पादन हुने अजैविक फोहोरहरू जथाभावी नाला तथा कुलोमा फालिदिनाले समस्या उत्पन्न भएको कुरा सत्य भएको बताए ।
नाला तथा कुलोमा अजैविक फोहोर जस्तै सिसा, सिरिन्ज, प्लास्टिकजन्य फोहोर फाल्न नपाइने भनेर कानुनतः उल्लेख भएको कुरा हो । तुलसीपुर बजार क्षेत्र भएर बग्ने कुला तथा नालामा जथाभावी फहोर फाल्ने प्रवृत्तिले पनि किसान मर्काका परेको स्वयम् किसानले बताउँदै आएका छन् । फोहोरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा किसान पनि चिन्तित भएका छन् । तुलसीपुर उपमहानगरपालिकाले पनि सार्वजनिक सूचना प्रकाशित गरेर जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै आएको छ ।
पालिका कार्यालयबाट दैनिक रूपमा फोहोर सङ्कलन गर्दा समेत अटेरी गरी सिसा तथा प्लास्टिकजन्य फोहोर नाला तथा कुलामा जथामावी बगाउने बानीमा सुधार गर्न सूचनामा अनुरोध गरिएको छ । बर्सातको पानीले उक्त फोहोर बगाउँदा खेतीयोग्य जग्गामा पुगी खेतीपाती गर्न समस्या हुनुका साथै उत्पादनमा समेत असर पुग्ने भन्दै फोहोरको उचित व्यवस्थापनमा तुलसीपुरबासीलाई अनुरोध गर्दै आइए तापनि कुलामा बोतल, कपडा, प्लास्टिकजन्य फोहोर कुलानालामा निरन्तर फाल्ने गरेको तुलसीपुर उपमहानगरपालिका फोहोर व्यवस्थापन शाखाका खेमकान्त पाण्डे बताए ।
उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, १० र ११ बाट करिब १९ ट्रिप टिप्पर फोहोर जेसिभी लगाएर उठाएको बताए । ‘धेरैजसो बोतल, पिपिसेट रहेका छन् । एक दिन सफा ग¥यो अर्को दिन फेरि उस्तै हुन्छ’, उनले भने । हाल तुलसीपुर–५ बसपार्कमा झनै अस्तव्यस्त भएको उनले बताए । हाल स्थायी डम्पिङ साइट नभए पनि फोहोर विसर्जन गर्न कुनै समस्या नभएको भए पनि व्यवस्थापनमा समस्या देखिएको पाण्डेले बताए ।
उपमहानगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा भने फोहोरको स्रोतमा पृथकीकरण गरी व्यवस्थापन गर्न तीन प्रकारका भाँडा (वेस्टदिन) खरिद गरी सहुलियतपूर्ण दरमा नगरबासीलाई उपलब्ध गराउने भको छ । ‘फोहोरलाई मोहर’ अवधारणा कार्यान्वयन गर्ने नीति लिइने बताएको छ । त्यस्तै फोहोरलाई वर्गीकरण र प्रशोधन गरी दिगो आय आर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड, कार्यविधि तयार गरी निजी वा सहकारी क्षेत्रसँगको सहकार्य गरिने र फोहोोर व्यवस्थापन तथा प्रशोधनका लागि थप पूर्वाधार निर्माण गरिने तुलसीपुर उपमहानगरले जनाएको छ ।