खेमराज रिजाल
दाङ, १ साउन । चालु आर्थिक वर्षको अन्त्यमा घोराही उपमहानगरपालिकालाई आइतवार पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेका हुन् ।
घोराही उपमहानगरपालिकाले १५ महिना मुनिका ४ हजार ४ सय ३१ जना बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार २ सय ६७ जनाले पूर्णखोप लगाएको प्रमाणीकरण भएपछि उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा प्रमाणपत्र प्रदान गरिएको हो । यद्यपि उपमहानगरपालिकामा जन्मेदेखि १५ महिना मुनिका ७ जना बालबालिका र १६ महिना देखि ५९ महिना उमेरका २४ जनाले एउटा पनि खोप नलगाएको पाइएको थियो । यति धेरै सङ्ख्यामा बालबालिकाले शून्य डोज पाउनु भनेको निकै चुनौतीपूर्ण अवस्था रहेको पूर्णखोप सुनिश्चितता एवम् घोषणा सभामा औल्याइएको थियो । जिल्लामा शून्य डोज खोपका यति धेरै बालबालिका भेटिएको सम्भवतः यो पहिलो पालिका हो ।
शून्य डोज खोपका बच्चा बजार क्षेत्रमा देखिनु एउटा चुनौती हो । किनकि सहरी क्षेत्रमा बसाइँ सराईको चाँप अन्य ग्रामीण बस्तीभन्दा धेरै हुने भएकाले शून्य डोजका बच्चा देखिएको घोराही उपमहानगरपालिका प्रशासनले जनाएको छ । यसलाई आगामी वर्षमा क्षेत्रगत सुधार गरिने प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताएका छन् । ‘पूर्णखोप अभियान ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा जटिल हुनु स्वाभाविक हो, किनकि यहाँ बसाइँ सराइ र कुनै निश्चित समयमा मात्र अस्थायी बसोबासीको सङ्ख्या उल्लेख्य हुन्छ, तैपनि यो विषयमा हामी आगामी वर्ष अलि गम्भीर हुने छौँ’, पूर्णखोप सुनिश्चित घोषणा सभामा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने ।
घोराही उपमहानगरपालिकासँगै दाङ जिल्लाका ८ वटा पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भइसकेका छन् । शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिका भने अझै पनि पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छैनन् । यी दुई पालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि लुम्बिनी प्रदेश खोप समन्वय समितिले दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र उपलब्ध गराउने बताइएको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको घोषणा सभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले पछिल्लो समयमा भौतिक विकासमा भएको प्रतिस्पर्धाले मानव विकासका विषयहरू ओझेलमा परेको बताए । सडक र सिँचाइ कुलो निर्माण मात्र विकास नभएर मुलुकको समग्र विकासका लागि नागरिक स्वस्थ हुनुपर्ने पनि उनले बताए ।
नेपाल सरकारले पूर्णखोपलाई पहिलो प्राथमिकता प्राप्त कार्यक्रमका रूपमा राखेको उल्लेख गर्दै उनले हरेक अभिभावकले आफ्ना बालबालिकालाई पूर्णरूपमा स्वस्थ राख्न स्थानीय सरकारसँग हातेमालो गर्नुपर्ने बताए । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने नेपाल सरकारले हरेक बालबालिकालाई रोगसँग लड्नका लागि विभिन्न खोप उपलब्ध गराएको बताउँदै प्रमुख अतिथि शर्माले नेपाल सरकारको खोप तालिकाअनुसार सबै अभिभावकले आफ्ना बच्चालाई खोप लगाउन पनि उनको आग्रह थियो ।
‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकसँगै निःशुल्क समेत गरेको छ, आधारभूत स्वास्थ्य सेवाअन्तर्गत नियमित खोप सेवा पनि पर्दछ’, प्रमुख अतिथि शर्माले भने, ‘हरेक बालबालिकालाई सबै प्रकारका खोप उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व हो ।
आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नो पालिका बालबालिकाको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको बताउँदै आगामी वर्ष शून्य डोजलाई न्यून बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै उनले भौतिक विकासमा मात्र नभएर आफ्ना नागरिकलाई स्वस्थ राख्नका लागि नेपाल सरकारको खोप तालिकाअनुसार खोप लगाउने र सहरी क्षेत्रदेखि विकट बस्तीसम्मका नागरिकलाई सहज रूपमा आधारभूत तहसम्मको स्वास्थ्य सेवा निःशुल्क गरिने प्रतिबद्धता समेत जनाए । सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर कुवरले सहरी क्षेत्रमा पूर्णखोप सुनिश्चित गर्नु निकै चुनौतीपूर्ण रहेको औल्याउंँदै यी चुनौतीको सामना गर्न जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका, खोप कार्यकर्ता तथा स्वास्थ्य सम्बद्ध सबै कर्मचारीको सहकार्य हुनुपर्ने औल्याए ।
कार्यक्रममा पूर्णखोपका विषयमा जिल्ला स्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत तथा पूर्णखोप फोकल पर्शन किशोर आचार्यले नेपाल सरकारले उपलब्ध गराउँदै आएका निःशुल्क खोप, ती खोप लगाउने विधि तथा खोप लगाउने समयतालिकाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रवक्ता तथा सामाजिक विकास इकाईका संयोजक वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले उपमहानगरबासी कुनै पनि बालबालिका पूर्णखोपबाट छुट्न नदिन घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक ठाकुर डिसीले गरेका थिए ।