वनसँग सेलिब्रेटी

गोरक्ष समाचारदाता
दाङ, २८ असार । वन जोगाउन चेतना बाँड्नको लागि दाङमा पहिलोपटक वनसँग सेलिब्रेटी कार्यक्रम भएको छ । यो जिल्लाको लागि पहिलो कार्यक्रम हो । यस्तो कार्यक्रमले वन जोगाउन भूमिका खेल्ने अपेक्षा डिभिजन वनको छ । लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा डिभिजन वन कार्यालय दाङको आयोजनामा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको सहभागितामा बुधवार तुलसीपुरको राप्ती शान्ति उद्यानमा कार्यक्रम भएको हो ।

सामुदायिक वनको संरक्षण गरी पर्यावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको थियो । वन तथा वातावरण संरक्षणमा चासो अभिवृद्धि गर्न र प्रचारप्रसार गरी वन कार्यालयले सम्पादन गर्ने कार्यक्रमको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको वास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । उनकाअनुसार दाङमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको छ ।

डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले वन तथा वातावरणको संरक्षण गर्न सबैे उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । उनले सामुदायिक वनमध्ये श्रीगणेश सामुदायिक वनमा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएकाले सो स्थल छनोट गरिएको बताए । कार्यक्रममा गायिका टीका सानु, सूष्मा ग्रेसलगायत वन कार्यालयमा कार्यरत कर्मचारी, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले समेत आ–आफ्नो कलामार्फत् वनवातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक प्रस्तुती राखेका थिए ।

कार्यक्रममा उद्यानको बारेमा व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले अवधारणपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वातावरण संरक्षणसम्बन्धी जानकारी वन डिभिजनका सूचना अधिकारी खिमबहादुर केसीले प्रकाश पारेका थिए । सहायक वन अधिकृत भक्तबहादुर चौधरीले स्वागत गरेका थिए भने डिभिजन वन कार्यालय घोराहीका प्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।