दाङ २८ असार । दुई दिनको अवधिभित्र दाङमा चिकित्सकको लापरवाहीवाट ३ जनाको ज्यान गएको छ । सामान्य विरामी भएर उपचारको लागि अस्पताल जाने विरामी निको भएर घर फर्किनेमा यस्ता घटनाले आशंका उब्जाएको छ ।
सामान्य रोग लागेर उपचारका लागि अस्पताल पुगेको विरामी सकुशल घर फकिन्छ वा फर्किदैन अनिश्चित बनेको छ । दाङको घोराहीमा यो दुई दिनको अवधिमा चिकित्सक कै लापहवाहीका कारण ३ जनाले ज्यान गुमाउनु परेको छ ।
उपचारको क्रममा विरामीको मृत्यू हुने र आफन्तले आन्दोलन तोडफोड पछि अस्पताल प्रशासनले क्षतिपुर्तिमा सहमति जनाउनु पर्ने अब दैनिकि जस्तै बनिसकेको छ ।
घटना १
क्षारे रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका ३ का १० वर्षका बालक आक्रोस नेपालीको बिहिवार मृत्यु छ । एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालकको ज्यान गएको हो । सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले अस्पतालमा विरोध प्रदर्शन गरेका छन ।
अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन । मृतक विरामीका आफन्त अनुप नेपालीले दोषी चिकित्सकलाई कारवाही गर्नु पर्ने माग राखेका छन् ।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा। रमेश कँडेलले यसलाई भवितब्य घटना भनेका छन् । कुनै पनि विरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफुहरुको भएपनि कहिले काही यस्ता घटना हुन गरेकोमा आफु दुखी भएको प्रतिक्रिया दिदै अस्पतालको कमजोरी स्वीकार गरे ।
घटना २
बुधवार दाङको घोराहीस्थीत बुद्ध ईन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि दिनघर जसो अस्पताल परिसर आन्दोलन स्थल बन्यो । घोराही उपहानगरपालिका वडा नम्बर १४ बस्ने कमला बिकको किड्नीमा परेको पथ्थरीको शल्यक्रिया गर्न अस्पतालमा भर्ना गरिएको थियो ।
मंगलवार राति ८ बजे शल्यक्रिया भएको र उनको बुधवार विहान २ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया सफल भएको भनेर परिवारजनलाई भनेको प्रशासन पछि विरामीको मृत्यू पछि आफन्तले आशंका व्यक्त गर्दै दोषीलाई कारवाही र परिवारलाई क्षतिपुर्ति माग गरेर आन्दोलन गरे । अस्पतालले पनि आफ्नो त्रुटी स्वीकार गर्दै क्षतिपुर्ति रकम दिन तयार भयो । घटना सामसुम भयो ।
घटना ३
आफै मोटरसाइकल चलाएर आएका रोल्पाको रुन्टिगढी गाउँपालिका ४ का वडाध्यक्ष टंकबहादुर पुनको पनि बुधवार राप्तीस्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्क्रवटाइफसका विरामी पुनको उपचारमा पनि डाक्टरहरुले लापरबाही गरेकै कारण मृत्यु भएको हो । आइसियुमा उपचारका क्रममा ३र४ घण्टासम्म स्वास्थ्यकर्मी र डाक्टरहरु हेर्न नगएको र उपचारमा लापरबाही गरेकै कारण वडाध्यक्ष पुनको मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ । मृतकका आफन्त र अस्पतालबीच लामो छलफलपछि अस्पतालले माफी माग्दै आगामी दिनमा गल्ती सच्चाउने प्रतिवद्धता जनएको २४ घण्टा वित्न नपाउदै अर्को विरामीको ज्यान गएको हो ।