प्रमोद आचार्य
दंगीशरण,२७ असार । दंगीशरण गाउँपालिकाद्वारा ५ जना कर्मचारी बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिका मातहतमा रहेका बिभिन्न कार्यलयहरुमा कार्यरत कर्मचारीहरुलाइ सम्मान गरेको हो ।
गाउँपालिकाले बुधवार कार्यक्रमको आयोजना गरेर उत्कृष्ठ काम गर्ने पाँच जना कर्मचारीहरुलाई नगद २५ हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो । आर्थि बर्ष २०७९÷८० मा उत्कृष्ट कार्यसम्पादन गर्ने चार जना कर्मचारी र आर्थिक बर्ष २०७८÷७९ मा कार्यसम्पादनमा उत्कृष्ट १ जना गरी पाँच जना कर्मचारीलाइ पालिकाले सम्मान गरेको हो ।
सम्मानित हुने कर्मचारीहरुमा शिक्षा शाखा दंगीशरणमा कार्यरत प्राबिधिक सहायक उमा केसी, गोल्टाकुरी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब शोभाकुमारी वली, बीरेन्द्र माध्यामिक विद्यालय हेकुलीमा कार्यरत शिक्षक भुबन देबकोटा, दंगीशरण गाउँपालिकाको कार्यालयमा सहयोगी राजु चौधरी र प्राथमिक स्वास्थ्य केन्द्र बागरमा कार्यरत कार्यालय सहयोगी मन चौधरी रहनुभएको छ ।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले जनताको सेवामा कर्मचारीहरुले गरेको कामका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरेर नगदसहित सम्मानित गरिएको बताउनुभयो । यसले आगामी दिनहरुमा कर्मचारीहरुलाई काम गर्न प्रेरित गर्ने समेत बताउनुभयो । उहाँले जनताको सेवाका लागि जनप्रतिनिधिको भन्दा कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीहरुलाई इमानदारिताका साथ काम गर्न समेत आग्रह गनुभयो । गाउँपालिका अध्यक्ष गिरीले भन्नुभयो,‘जनताको सेवाका लागि कर्मचारीको महत्वपूर्ण हात हुने गर्दछ । त्यसैले कर्मचारीहरुले आफ्नो जिम्मेवारी भुल्नु हुदैन ।’
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले कर्मचारीहरुलाई उच्च मनोवलका साथ जनताको सेवा लाग्न आग्रह गर्नुभयो । समयमै विकास निर्माणका कामहरु सम्पन्न गर्नदेखि जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले इमान्दारिताका साथ कर्मचारीलाई लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले उत्कृष्ट कर्मचारीहरु छनोटका सुचकहरु तयार गरी बर्षभरीमा उहाँहरुले गरेको कार्यसम्पादनको आधार बनाइ पुरस्कृत कर्मचारीहरुको छनोट गरिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका सूचना अधिकारी टेकबहादुर खत्रीले गर्नुभएको थियो ।