सानै उमेरमा बल्याकबेल्ट पाउँदा …
चाहे त्यो सामाजिक अभियान तथा काम होस् वा राजनीतिमा, उनी सधैँ तल्लीन रहछन् । उनका साथीसंगी कोही युरोपमा छन्, कोही अमेरिका त कोही खाडीमा पसिना बगाइरहेका छन् तर ती युवा समाज परिवर्तनमा अहोरात्र लागेका छन् । उनलाई धनदौलत कमाउने भन्दा पनि यो समाजलाई कसरी समुन्नत, सभ्य र युवावर्गका लागि नेपालमै केही गर्न सकिन्छ कि भन्नेमा उनी छन् । तुलसीपुर—५ निवासी बसन्त गिरी, एक कुशल खेलाडी हुन् ।
शिशु अवस्थाबाट हुर्किँदै गर्दा कलिलो उमेरमा उनी खेलकुदमा होमिएका थिए । अभिभावकले ममा केही देखे वा गुरुले ? खेलकुदमा लागेर विभिन्न पदकहरू पनि जिते तर उनलाई न राज्यले चिन्न सक्यो न समाजले । उनी समाजमा रहेको विसङ्गति र कुप्रथालाई कसरी अन्त्य गर्न सकिन्छ ? भन्नेमा लागेका छन् । उनले आफ्नो खुसी मानिसहरूसँग घुलमिल भई आत्मीय हुन पाउँदा लाग्ने गरेको बताउँछन् । बुवा अमरबहादुर गिरी र आमा रेश्मी गिरीको कोखबाट जन्मिएका बसन्त गिरी आफू सामान्य परिवारको व्यक्ति भएको बताउँछन् ।
उनले सानै उमेर अनभिज्ञ हुँदादेखि नै सितोरियो कराँतेमा निरन्तर लागिरहेको बताउँछन् । वि.सं २०५२ सालमा काठमाडौंमा भएको किड्स ओलम्पिकमा कास्य पदक हासिल गरेपछि उनी थप खेलमा हौसिएका थिए । गिरीले आफ्नो पहिलो खुसी वि.सं २०५५ सालमा ११ वर्षको उमेरमा सितिरियो कराँतेमा बल्याकबेल्ट पाएको र नेपालकै सबैभन्दा कम उमेरमा बल्याकबेल्ट पाएको घोषणा भएको थियो । त्यो क्षेण पनि गिरीको खुसीको क्षण थियो । ‘मेरो अन्य खुसीहरू पनि छन् तर ११ वर्षको उमेरमा सितोरियो कराँतेमा बल्याकबेल्ट पाउँदा त्यतिबेला अन्जानमै धेरै खुसी भएको थिएँ’, गिरीले भने ।
त्यस्तै उनले अर्को खुसी वि.सं २०५२ सालमा सुर्खेतमा तेस्रो मध्यपश्चिम कराँते प्रतियोगितामा ‘बेस्ट प्लेयर’ भनेर उपाधि पाएको क्षणलाई सम्झिए । त्यस्तै वि.सं २०५४, कुस्माको, पर्वतमा ‘राइजिङ स्टार प्लेयर’ भनेर उपाधि पाएको सम्झिए । लगनसिल कर्ममा विश्वास गर्ने बसन्तले वि.सं २०५५ सालमा साफ प्रतियोगितामा छनोटको लागि नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलमा तेस्रो स्थान हासिल गरेको र अन्तिम चरणको छनोटमा नेपाल आर्मी र नेपाल प्रहरीबाट काठमाडौंमा पराजित भएको बताए ।
गिरीले जीवनका उकाली–ओराली गर्दैजाँदा वि.स. २०५७ सालमा भक्तपुरमा सबैभन्दा कम उमेरको राष्ट्रिय जुनियर रेफ्री भनी पदक पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै बसन्तले वि.सं २०५७ सालमा सातौँ प्यानाथलन अन्तर्राष्ट्रिय स्कूल स्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दा आर्को खुसी प्राप्त भएको सम्झिए । बसन्तले हाल २०७९ सालमा ‘थर्ड आई नेपाल’ नामक गैर नाफामूलक संस्था दर्ता गरी त्यसको नेत्तृव गर्न पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । थर्डआई नेपालका अध्यक्ष समेत रहेको गिरीले सो संस्थामार्फत् राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाभित्र रहेका सम्पूर्ण माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मसुरक्षा तालिम÷कार्यक्रम गरिएको बताए ।
उनले किशोरीहरूलाई कसरी सुरक्षति गर्न सकिन्छ तथा बलात्कार, महिला हिंसा कसरी अत्य गर्न सकिन्छ ? भन्नेतर्फ आफू लागेको बताउँछन् । उनले थोरै समयमा आफूहरूले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरे । हाई–स्कूलसम्म नेपालमा र स्नातकोत्तर भारतबाट गरेक गिरीले केही दिन पहिले ‘बलात्कार र महिला हिंसा बिरुद्ध राष्ट्रिय जनचेतना अभियान’को उद्घाटन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीबाट गराई यो अभियान नेपाल अधिराज्यभरि विस्तार गर्न पाउँदा जीवनमा अर्को खुसी मिलेको सुनाए ।
त्यस्तै बसन्तले वि.सं २०५८ सालमा पाँचौँ राष्ट्रिय खेलकुदमा दोस्रो स्थान हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले त्यतिबेला दाङको सान, मान राखेको भन्दै त्यसमा पनि आफू निकै खुसी भएको सुनाए । त्यस्तै सोही सालमा शिवचरण चौधरी स्मृतिमा बुटवलमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा प्रथम भएको सुनाए । विभिन्न जिल्ला, अञ्चल, क्षेत्रीय खेलकुदमा विभिन्न विधामा गोल्ड, सिल्भर र ब्रोञ्ज मेडल हासिल गरेको भन्दै उनले खुसी व्यक्त गरे ।
उमेरे बढ्दै जाँदा विस्तारै सामाजिक सञ्जाल आएपछि फेसबुकमा रहेको मनिस ओ रुम रिलेटेड भन्ने पुरुषहरू मात्रै रहेको ग्रुपमा सक्रिय भइ विभिन्न सामाजिक कार्य गरिएको र ब्लड अन रिक्युस्ट नेपाल भन्ने फेसबुक पेजको नेतृत्व गर्दै केही दाजुभाइ, दिदीबहिनी, मित्रको एउटा सञ्जाल बनी नेपाल अधिराज्यभरि रक्तअभाव न्यूनिकरण गर्न मद्दत गरेको र सबै साथीहरू मिलेर नेपाल अधिराज्यको विभिन्न ठाउँमा रक्तदान गरेको भन्दै खुसी लागेको सुनाए । उनले तुलसीपुर र चितवनमा रक्तदान कार्यक्रम गरिएको बताए ।
यस्तै वि.स २०७७÷२०७८ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेको र तुलसीपुर उपमहानगरपालिकाको कार्यसमिति सदस्य भएको भन्दै खुसी व्यक्त गरे । समयसमयमा कविता लेख्ने, गीत लेख्ने, कथा लेख्ने रुचि भएका गिरीले विभिन्न क्षेत्रबाट अनगिन्ति साथीभाइ, दिदीबहिनी र अग्रजहरूसँगको चिनजान भएको र एकअर्काप्रति आत्मीयता, हरेक मनुष्यमा सहयोगको भावना हुनु पर्दछ भन्ने चाहना, हरेक व्यक्ति दूरदर्शी हुनु पर्दछ भन्ने कामना र समाजमा परिवर्तन ल्याउनु छ भन्ने सबैभन्दा पहिले ‘म’ नै यो समाजमा होमिनु पर्छ र सबै कुरा व्यवस्थित राख्न, एउटा परिकल्पना गरिएको समाज निर्माण गर्नु छ भने थुप्रै ‘म’हरू मिलेर ‘हामी’ बनेर लागिपर्नु पर्दछ भन्ने सिकेको भन्दै खुसी व्यक्त गरे । तुलसीपुर ६ निवासी बसन्त गिरी सितोरियो कराँतेका राष्ट्रिय खेलाडी तथा ‘थर्ड आई नेपाल’ नामक गैर नाफामूलक संस्थाका अध्यक्ष हुन् ।