राजु लामिछाने
रुकुम पश्चिम, २५ असार । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले बलियो पत्रकारिताको उपस्थितिमा मात्र लोकतन्त्रको लाभ जनताले पाउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले मुसीकोटमा आयोजना गरेको ‘स्थानीय सरकार र मिडियाका सवाल’ विषयक अनुशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष पोख्रेलले पत्रकारिताबिना समाजका नागरिक अधिकारविहीन हुने भएकोले बलियो पत्रकारिताको उपस्थिति जरुरी रहेको उनको भनाइ थियो । उनले राज्यको प्राथमिकतामा पत्रकारिता नपुर्न दुःखद् भएको समेत बताए । ‘पार्टीको नेता मात्र भएको बेला बलियो पत्रकारिताको कुरा गरेर नथाक्ने नेताहरू संसद्मा पुगेपछि यसको महत्व भुल्ने गरेका छन्’, अध्यक्ष पोख्रेलले भने ।
राज्यको सम्बन्ध समाजसँग जोड्ने काम पत्रकारिता क्षेत्रले गरिरहेकाले यसको महत्व कम नरहेको उनले बताए । पत्रकार महासङ्घलाई विशुद्ध पत्रकारको संस्था बनाउन महासङ्घले सदस्यता शुद्धीकरण अभियान चलाएको बताउँदै महासङ्घ पत्रकारका हितको लागि लडिरहेको अध्यक्ष पोख्रेलले बताए । महासङ्घले श्रमजीवी पत्रकारिता ऐनलाई पूर्णरूपमा कार्यान्वयमा लागिपरेको बताए ।
अध्यक्ष पोख्रेलले पत्रकारले झेलिरहेको अभावलाई विभिन्न निकायको संवाद र दबाबका माध्यमबाट समाधान गर्ने गरिएको बताए । महासङ्घमा कानुनी डेस्क समेत रहेकोले पत्रकारका अधिकारको लागि निःशुल्क रूपमा कानुनी लडाइँ लड्न सकिने उनले बताए । विभिन्न अवसर काठमाडौंमा मात्र केन्द्रित नभएर मोफसलका पत्रकारका लागि समेत हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारिताको संस्थागत विकास अपरिहार्य रहेको बताए । मिडियाहरूले सरकारका राम्रा कामको प्रचार र कमीकमजोरीमा सुधारका लागि खबरदारी गर्नुपर्ने उनले बताए । उनले पत्रकारका स्वास्थ्य बिमा स्थानीय सरकारको तर्फबाट गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
१४ बुँदे ज्ञापनपत्र पेस
यसैबिच नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले केन्द्रीय अध्यक्ष विपुल पोख्रेललाई विभिन्न १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । शाखाका जिल्ला अध्यक्ष लक्ष्मण केसीले पत्रकार महासङ्घ र पत्रकारका हक, हित र व्यावसायिकताको लागि केन्द्रीय कार्यसमिति समक्ष विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पत्रकारको स्वास्थ्य र दुर्घटना बिमाको निरन्तरता र सहजता, मोफसलका पत्रकारलाई फेलोसिपको अवसर, पत्रकारिता विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्थालगायतका माग राखिएको छ । पत्रकारिता क्षेत्रमा २५ वर्ष काम गरेका पत्रकारका लागि पेन्सनको व्यवस्था, महासङ्घबाट प्रदान गरिँदै आएका विभिन्न विधाका पुरस्कारलाई निरन्तरता दिनुपर्ने, लोक कल्याणकारी विज्ञापनको दायरा बढाइनु पर्ने र देशभर मिडिया साक्षरता अभियान सञ्चालन गरिनु पर्नेलगायतका माग पेस गरिएको जिल्ला अध्यक्ष केसीले जानकारी दिए ।