एसईई नतिजा २०७९ : समग्रमा सुधार, गणित खस्कियो 

आदिम केसी
दाङ, २५ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत विहीवार सार्वजनिक गरेको छ । सार्वजनिक नतिजामा गत सालको नतिजाभन्दा सुधार भएको देखिन्छ । नतिजामा आएको सुधारले एकातिर खुसी थपेको छ भने अर्कोतिर अनिवार्य गणित विषयको नतिजाले चुनौती थपेको छ ।
गत विहीवार सार्वजनिक भएको नतिजामा समग्रमा नतिजा सुध्रिए पनि गणित विषयको नतिजा भने चिन्ताजनक रहेको छ । नतिजा सार्वजनिक भएसँगै शिक्षण शैली, विद्यार्थीको सिकाइ क्षमता, सिकाइ मापनको शैलीमाथि थुप्रै प्रश्न उठ्न थालेका छन् । सार्वजनिक नतिजाको परिणामसँगै सरोकारवाला तथा शिक्षाविद्ले शिक्षकको शिक्षणशैली, विद्यार्थीको शिक्षण सिकाइ तथा मूल्याङ्कन पद्धतिमाथि प्रश्न उठाइरहेका छन् । एसईई २०७९ मा ४ लाख ८५ हजार बढी विद्यार्थीहरू सहभागी भएका थिए ।
सहभागी विद्यार्थीहरूमध्ये समग्र नतिजामा १३ हजार ९ सय ९२ जनाको नन ग्रेड रहेको छ । समग्रमा १३ हजार ९ सय ९२ जना विद्यार्थीको नतिजा नन ग्रेड आए पनि अनिवार्य गणितमा २ लाखभन्दा बढी विद्यार्थीको ‘डि’ र ‘इ’ ग्रेड आएको छ । अक्षरारङ्कन पद्धतिमा २० देखि ३० अङ्क प्राप्त गरेमा ‘डि’ ग्रेड र २० भन्दा कम अङ्क प्राप्त गरेमा ‘इ’ ग्रेड प्रदान गरिन्छ ।
एसईई २०७९ को नतिजामा सहभागी परीक्षार्थीमध्ये करिब १ लाख ५० हजार बढीले ‘इ’ ग्रेड लिएका छन् भने लगभग ५० हजार विद्यार्थीले ‘डि’ ग्रेड लिएका छन् । यो सङ्ख्या हेर्ने हो भने यसपालिको नतिजामा अनिवार्य गणितको नतिजा खस्किएको छ । यद्यपि गणितमा ‘डि’ र ‘इ’ ग्रेड लिने विद्यार्थी सबै नन ग्रेडका विद्यार्थी होइनन् तर उनीहरूले चाहेको विषय पढ्नका लागि भने अङ्कुश लाग्दछ नै ।
विज्ञान समूहमा अध्ययन गर्नका लागि कम्तिमा २ जिपिए लिनुपर्ने छ भने अनिवार्य गणित र विज्ञानमा ‘सि प्लस’ ग्रेड तथा अन्य अनिवार्य विषयमा कम्तिमा ‘डि प्लस’ ग्रेड लिनुपर्ने प्राबधान रहेको छ । त्यस्तै व्यवस्थापन समूहका विषय अध्ययन गर्नका लागि कम्तिमा १.६ जिपिएसहित गणित, नेपाली, अङ्ग्रेजी, सामाजिक र विज्ञानमा ‘डि प्लस’ ग्रेड लिनुपर्ने हुन्छ । तर, गणित विषयको नतिजाले पहिलो चरणमै २ लाख विद्यार्थीहरू विज्ञान र व्यवस्थापन समूहका विषय अध्ययन गर्न पाउने छैनन् ।
अक्षराङ्कन पद्धति बमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क गर्नेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङक प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क गर्नेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताङ्क गर्नेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क गर्नेेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क गर्नेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क गर्नेेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क गर्नेेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क गर्नेेलाई ई ग्रेड प्रदान गरिन्छ ।
किन खस्कियो गणितमा नतिजा ?
अनिवार्य गणित विषयमा नतिजा कसरी खस्कियो भन्ने विषयमा यतिबेला बहस चल्न थालेको छ । अन्य विषयको आन्तरिक मूल्याङ्कन तथा प्रयोगात्मक अङ्क हुने भए पनि २०७९ सम्म गणित विषयमा १०० पूर्णाङ्कको परीक्षा दिनु पर्ने व्यवस्था थियो । अन्य अधिकांश विषयमा आन्तरिक मूल्याङ्कनमा २५ पूर्णाङ्कको व्यवस्था रहेको छ ।
सैद्धान्तिक परीक्षामा कम अङ्क लिए पनि आन्तरिक मूल्याङ्कनबाट प्राप्त अङ्कको योगले अन्य विषयमा जिपिए बढ्नु स्वभाविकै मानिन्छ । अनिवार्य गणित, अर्थशास्त्र, अतिरिक्त गणितलगायतका विषयमा १०० पूर्णाङ्क नै सैद्धान्तिक परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । जसका कारण पनि अनिवार्य गणितको नतिजामा ह्रास आएको हो ।
गणित विषयको नतिजा खस्कनुको कारण शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षण प्रणाली नै दोषी रहेको बताउँछन् । गोरक्षसँगको कुराकानीमा शिक्षाविद् कोइरालाले भने, ‘नतिजा खस्कनुको कारण छर्लङ् नै छ । पहिलो कारण त प्रयोगात्मक अङ्क नहुनु हो । अन्य विषयमा जस्तै प्रयोगात्मक अङ्क भएको भए नतिजामा सुधार आइहाल्थ्यो नि ।’
पाठ्यक्रममा उल्लेख गरिएका परियोजना कार्यलाई उचित तरिकाले नगराउने, सिकाइको सहज सारथिको रूपमा परियोजना कार्यलाई लिन नसक्ने हो भने प्रयोगात्मक अङ्कले जिपिए त बढाउँछ तर शैक्षिक गुणात्मकतामा भने सुधार ल्याउन नसक्ने शिक्षाविद् कोइरालाको ठम्याई छ ।
‘शिक्षकले गणित शिक्षण गर्ने तरिका नजानेका कारण पनि नतिजा खस्किएको हो । पढाउन नजानेको भन्नुको अर्थ हो पढाएको तर  नसिकाएको । सबैभन्दा पहिला त शिक्षक गणित पढ्ने विषय हो कि सिक्ने विषय हो भन्नेमा स्पष्ट हुनुपर्छ । उदाहरणका लागि बालबालिकालाई भात पकायौ भनेर सोधेपछि पकाएँ भन्लान् तर त्यसमा चामल कति राख्ने र पानी कति राख्ने भन्ने सीप सिकाएपछि अनुपात त्यहीबाट पढाउन सकिन्छ ।
हाम्रा शिक्षक गणितमा यहीँनेर चुकेका हुन् जसका कारण सजिलो गणित कठिन भएको हो ।’ उनले थपे, ‘टेबलबाट नाप पढाऔँ, सुपोको निश्चित प्याटर्नबाट अल्जेब्रा, अर्थमेटिक, ज्यामेट्रीका प्याटर्न पढाऔँ । अल्जेब्रा, अर्थमेटिक, ज्यामेट्री अलग–अलग पढाउनै पर्दैन, एउटै प्याटर्नमा पढाउन सकिन्छ नि । चाहे बुट्टे टोपीबाट पढाउनुहोस् चाहे आँखीझ्यालबाट पढाउनुहोस् ।’ शिक्षण प्रणालीमा सुधार लिन सके मात्र नतिजामा सुधार आउने शिक्षाविद् कोइरालाले बताए ।
विगत २८ वर्षदेखि गणित विषय शिक्षण गर्दै आएका लोकबहादुर बस्नेतले गणितको नतिजा खस्किनुमा तल्लो तहमा गणित शिक्षण प्रणाली मुख्य रहेको बताएका छन् । गोरक्षसँग कुराकानी गर्दै बस्नेतले भने, ‘गणित विषयको नतिजा कमजोर हुनुमा एउटै कारण नभएर बहु कारण रहेका छन् । हामीले गणितलाई गणितकै रूपमा पढाउन सकेका छैनौँ । तल्लो तहमा गणित शिक्षण प्रणालीमा हामी कतै न कतै चुकेका छौँ ।
गणितलाई बालबालिकाको घरको परिवेशसँग जोडेर अध्यापन गराउन नसक्नु, गणितको अर्थ बालबालिकालाई बुझाउन नसक्नु, शैक्षिक सामग्रीको प्रयोगलगायतले गणित सिकाइमा कठिनाइ सिर्जना गर्दै आएको छन् ।’ उनले थपे हामीले गणित जसरी अध्यापन गराउनु पर्ने हो त्यसरी अध्यापन गराउन सकेका छैनौँ । विद्यालयको तहमा गणितको अर्थ बुझाउन कतै हामी चुकेका हौँ कि । शैक्षिक सामग्रीको प्रयोग र कोर्स प्लानिङमा समेत गम्भीर हुन नसक्नु, शिक्षकलाई पर्याप्त मात्रामा तालिमको व्यवस्थापन, ओर्क लोड, मोेनिटोरिङको व्यवस्थापनलगायतका कारण पनि गणितको नतिजा कमजोर आएको हो ।
बस्नेत पछिल्लो समयमा गणित विषयको खोज र अनुसन्धानमा तल्लीन रहेका छन् भने विगत १५ वर्षदेखि शिक्षकहरूलाई प्रशिक्षण दिने कार्यमा समेत अनवरत खटिरहेका छन् । गणित विषयमा अन्य विषयको तुलनामा कमजोर नतिजा आउनुको कारण उनले कोभिडलाई पनि जोडे । ‘कोभिडका कारण बालबालिकाले कोभिड वर्षका कक्षामा गणित विषयका आधारभूत तह पाठ्यक्रमले निर्धारण गरेका सीप सिक्न पाएनन् त्यसको असर एसईईमा देखिएको हो ।
साथै अन्य विषयमा आन्तरिक मूल्याङ्कनका कारण पनि जिपिए बढी आएको हो, गणितमा पनि व्यावहारिक कुराको अवलोकन, परियोजना कार्यको मूल्याङ्कनबाट अङ्क दिने प्रावधान भएको भए केही सुधार अवश्य नै आउँथ्यो नै । ’ उनले थपे, ‘मुख्य कुरा गणित शिक्षण प्रणालीलाई हामीले प्रभावकारी बनाउन नसक्नु हो ।
राम्रो जिपिए लिएका विद्यार्थीहरूको पनि माथिल्ल्लो कक्षामा गणितप्रति अरुचि बढ्नुले गणित विषयलाई रुचिकर बनाउन नसकेको पुष्टि हुन्छ । साथै भाषामा राम्रा विद्यार्थीहरू गणितलगायतका विषयमा पनि राम्रा देखिएका छन् । तसर्थ भाषालाई राम्रो बनाउनतर्फ पनि हामी सजग हुनुपर्छ । गणित बुझ्नका लागि भाषा जान्नु पर्दछ ।’ सिकाइ प्रणाली बदल्न सकेमा नतिजा बदलिने शिक्षक बस्नेतले बताए ।