चिठी÷पत्र साहित्य

  •   
  •  

खगराज न्यौपाने
श्री युत भाइ रमेश,
शुभाशीष
यहाँ नेपालमा हामी सबै शारीरिक रूपले सन्चै छौँ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरूको सफलताको साथै सुस्वास्थ्यको कामना व्यक्त गर्दछौँ । यति टाढा बसेर पनि देश र देशबासीको अवस्था कस्तो छ भनी पत्रद्वारा जानकारी चाहेकोमा तिमीलाई सगौरव धन्यवाद दिन चाहन्छु । साथै पत्राचार गरेकोमा सन्धुवाद ।

भाइ रमेश ! म सानो छँदा मेरा पिता प. मेघराज न्यौपानेले देशभक्तिले ओतप्रोत भएका स्वाभिमानी व्यक्तिहरूका जीवनीलाई कलात्मक रूपमा कथा वाचन गर्नुहुन्थ्यो । जसको सम्झना अहिलेसम्म मेरो मानसपटलमा ताजै रहेको छ । त्यस्तै आदर्श पुरुषमा पृथ्वीनारायण शाह, भीमसेन थापा, भक्ति थापा, बलभद्र कँवर, चाणकम राणा प्रताप, झासीकी रानी, लक्ष्मी बाई, महात्मा गान्धी आदि पर्दथे ।

अहिले म जान्ने भएपछि ती आदर्शवादी, राष्ट्रवादीहरूको जीवनी पढ्दा साच्चिकै माथि उल्लेखित यहाँ मानवहरू जसले देश र देशबासीका लागि विभिन्न प्रतिकूल समयका वावुजुद पनि सङ्घर्ष गर्दै सफल भए । सदैव देश र देशबासीका लागि आजीवन सङ्घर्ष गरेर देशलाई बचाए र इतिहासमा अमर बन्न पुगे । यस्तो गौरवशाली इतिहास पढेका नेपाली कसरी सत्तामा पुगेपछि स्वार्थमा लागेर पुख्र्यौली गौरव सबै बिर्सेर स्वाभिमान बेचेर विदेशी शक्ति सामू लम्पसार बन्न पुगे र उनैका कठपुतली भइ नाच्न थाले ।

यस्तो सुन्दा, देख्दा अचम्म लाग्छ, मन विचलित हुन्छ । हाम्रा देशका सत्तासीन व्यक्तिहरू कसरी यति निकम्मा हुन पुगे ? दुःख लागेर आउँछ । ‘अर्थहीन प्रवृत्ति गणना लघु चेत सामू उदार चरित्रा, ती हुन् बसुधैव कुटुम्बकम्’ सानो विचार राख्नेले यो मेरो, त्यो पराई हो भन्छ तर उदार भावना भएका व्यक्तिले संसारैभरका मानवहरू मेरा बान्धव हुन् भन्ने गर्छ । देशको अवस्था खस्कँदो छ भनेर एकातिर अर्थविद र विश्लेषकहरूले भनिराखेका बेलामा हाम्रा प्रधामन्त्री भारत भ्रमण गर्नका लागि आतुर बन्छन् ।

हामी दिल्ली आउँछौँ भनेर सुनाइरहन्छन् । लामो समयको अनुरोध पछि दिल्लीले आउने भए आउ भन्छ । हाम्रा प्रधानमन्त्री जम्बो टोली लिएर दिल्ली पुग्छन् । उहाँ राज्यमन्त्रीले स्वागत गर्छ । नेपालका समस्याहरू सीमा र पिलरका कुरा हाम्रा नेताले उठाउनै सक्दैनन् । यस्तो अचम्म पाँच–छ जनाको टोली लिएर गएको भए त भइहाल्थ्यो । व्यक्तिगत स्वार्थ मात्र हेरे । नेपाल फर्केपछि दिल्लीको भ्रमण उपलब्धिपूर्ण भयो भन्न पनि लाज मानेनन् ।

सिद्धान्त विपरीत भएका पार्टीहरूसँग गठबन्धन गरेर हाम्रो गठबन्धन पन्ध्र, बिस वर्षसम्म जान्छ भने तर स्वार्थ पाउने बित्तिकै गठबन्धन तोडे । पुनः गठबन्धन गरे । यस्ता स्वार्थ लम्पट नेताहरूबाट जनताले के पाउन सक्छन् र ? पैसा हालेर किन्ने रासायनिक मल त जनतालाई दिन सक्दैनन् ।

कृषकले पाउन सकेका छैनन् तर देशका प्रधानमन्त्री भने कल सत्तासँग रासायनिक मल आइसकेको छ । अब एक हप्ताभित्र आइपुग्छ । मलको हाहाकार हुँदैन भन्छन्, आसार १० गतेसम्म संसद् भवनमा तर किसानले किन्ने वस्तु त पाउन सक्दैनन् । सरकारले व्यवस्था गर्न सक्दैन भने अरु कुरा सरकारले के गर्ला ? त्यसैले यो गठबन्धन सरकारसँग आशा गर्ने ठाउँ पनि छैन ।

भाइ रमेश ! ललिता प्रकरणमा कुरा सधैँ उठिरहन्छन् तर सरकार निराकणर गर्न सक्दैन वा चाहन्न । किनभन्दा सरकार वा पार्टीका ठूला नेता सबै त्यसैमा संलग्न छन् । त्यसैले अपराधीमाथि कारबाही हुँदैन भ्रष्टाचारीहरूको यो गठबन्धनले देशलाई उठाउन चाहन्न । किनकि अपराधीहरूले आफ्ना साथीहरूलाई संरक्षण गर्ने काम गरिररहेका छन् ।

भाइ रमेश ! अब त जानकारहरू भन्छन् – यी पार्टीका नेताहरूको क्रियाकलापले गर्दा राजावादी शक्तिहरू अगाडि आइरहेका छन् । यी नेताहरूभन्दा राजसत्ता ठिक छ, जनता यसो भन्दै छन् । राजसत्ताप्रति आकर्षण बढाउने काम दलका नेताहरूले गरिरहेका छन् । यी नेताहरूको देश लुट्ने कुरामा सुधार आएन, अपराधीलाई दण्ड दिइएन भने राजावादीहरूको सङ्ख्या बढ्दै जानेछ ।

यसैले यी अपराधी नेताहरूलाई हामी सबै मिलेर घोक्रेठ्याक लाउनु पर्नेछ । यस कार्यमा देशविदेशमा बसेका सबै नेपालीको सहयोग सुझाव आवश्यक छ भन्दै यो सानो लेखको बिट मार्न चाहन्छु । बाँकी कुरा अर्को पत्रमा ।

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने