Goraksha

National Daily

सनसिटीबासीको स्वाव परीक्षण रिपोर्ट ‘नेगेटिभ’, अपार्टमेन्ट परिसरमा नाचगान सहित खुशीयाली

दाङ,३ बैशाख । काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट परीक्षणको नतिजा नेगेटिभ आएको छ । त्यस अपार्टमेण्टमा बस्ने २ सय ९८ जनाको स्वाव परीक्षण गरिएको थियो । परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि सनसिटी अपार्टमेण्टका बासिन्दाले परिसरमा नाचगान गरेर खुशीयाली मनाएका भिडियो क्लिपहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् ।

सो अपार्टमेन्टमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि अपार्टमेण्टलाई नै शील गरेर सबैमा परीक्षण गरिएको थियो । ती दुईजनासंगै ¥यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएका अर्का एकजनाको आज गरिएको परीक्षणमा भने नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । उनीहरुको घरका सहयोगीहरुको पनि परीक्षण गरिदै गरेको र रिपोर्ट आइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिभिन्न ठाँउमा ¥यापिड डाइग्नोष्टिक टेष्टका नतिजाहरु पोजेटिभ पनि देखिएका छन्, तर पोजेटिभ रिपोर्ट आएकाहरुको पिसिआर प्रबिधिबाट पुन परीक्षण गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने पनि मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमार्फत जनाकारी दिएको छ । प्रस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले हाल क्वारेन्टाइनमा ५ हजार ६ सय १४ जना र आइसोलेशनमा १ सय १७ जना रहेको जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या घट्दो क्रममा छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको पुष्टिभएको छ । ती मध्य एकजना निको भएर घर फर्किसकेका छन् ।