युवराज शर्मा
लामो खडेरीपछि मनसुन नेपालभर फैलियो । असार छ गतेदेखि सुरु भएको मनसुनले गर्दा खेतीपाती गर्ने किसानहरु रमाएका छन् तर धानबालीका लागि सरकारले रासायनिक मल पैसा तिर्दा पनि पाउन सकेका छैनन् । यसतर्फ सङ्घीय सरकारका कृषिमन्त्रीले कृषिमा ध्यान दिएनन् । असार १५ गते धान पर्व मनाउन खेतमा मन्त्री पुगे । किसानहरुले मल नपाएको दुःखेसो मन्त्रीलाई पोखेका थिए ।
मन्त्रीले भने – रासायनिक मल ७८ टन मौजदात छ । कृषि सामग्री संस्थानबाट किसानलाई दिँदैन । किसानले सहकारीबाट खरिद गर्नुपर्छ । सहकारीले किसानहरुको लगत लिएर जग्गाको अनुपातमा मल वितरण हुनुपथ्र्यो । त्यसो नगरेर जो अगाडि लाइनमा हुन्छ, उसले मागेअनुसार मल पाउँछ । पैसा तिरेर खरिद गरेको मल बढी पैसामा बेच्नेहरु धेरै भएका छन् । सहकारीमा किसानहरुलाई मल नदिएर बिचौलिया नाफाखोर व्यक्तिहरुलाई बेच्छन् ।
यस्तो वितरण प्रणालीले गर्दा धानखेती गर्ने कोदो, फापर खेती गर्ने, गहूँ बाली र दलहन खेती गर्नेहरुले रासायनिक मल पैसा तिर्दा पनि सहकारीहरुबाट पाउन सकेको अवस्था छैन । धेरैजसो सहकारीहरु पालिकाका वडा अध्यक्ष, सदस्य, उपमेयर, मेयरहरुका छन् । उनीहरुद्वारा सञ्चालित छन् । त्यसैले स्थानीय सरकार मल वितरणमा क्रियाशील छैन । प्रदेश सरकारको मल विक्री वितरणमा कुनै निर्देशन सहकारीहरुलाई छैन । सहकारीहरुमा छाडापन छ ।
सङ्घीय सरकारका कृषिमन्त्रीले रासायनिक मल वितरणमा व्यवस्थित भएन, सहकारीहरुले विक्री वितरणमा राम्रो ध्यान दिएर जग्गाको अनुपातमा मल विक्री गर्नुपर्ने र जग्गाको लगत किसानहरुबाट लिएर मात्र धान, कोदो, मकै र गहूँ खेतीमा रासायनिक मल विक्री वितरण गर्न कृषि सामग्री संस्थाबाट सहकारीलाई निर्देशन गर्नु पर्दथ्यो, त्यसो भएन । प्राथमिकतामा खेती गर्ने किसानहरुभन्दा बिचौलिया र नाफाखोरहरु अग्रस्थानमा भएका छन् ।
रासायनिक मल सङ्घीय सरकारले वितरण गर्न नसक्ने भएपछि प्राइभेट सेक्टरका व्यापारीहरुलाई विक्री वितरण गर्न दिनुपथ्र्यो अथवा छिमेकी देशबाट किसानले मल ल्याउँदा प्रहरीद्वारा किसानहरुलाई नसताउने प्रबन्ध पनि सङ्घीय सरकारले गर्नुपर्छ । सहज तरिकाले रासायनिक मल उपभोग गर्ने सहजीकरण हुनुपर्छ । नेपालमा ७५ हजार मेट्रिक टन रासायनिक मल भएमा सहज वितरणको विक्री व्यवस्था गर्न सकिने हुँदाहँुदै पनि किन व्यवस्था गरिँदैन ? खेतीको समयमा किसानले समस्या मात्र भोग्नु परेको अवस्था छ ।
नेपालमा खेतीपाती गर्नेहरु गाउँले मात्र हुन् । जो कूलजनसङ्ख्यामा ३६ प्रतिशत मानिस गाउँमा बस्छन् । उनीहरुले आफ्नो र जग्गाधनीको जग्गा शर्तमा खेती गर्छन् । खाद्य समस्या समाधान गर्नेवर्ग गाउँले हुन् । उनीहरुलाई सङ्घीय सरकारका कृषिमन्त्रीले ध्यान नदिएको हो ? वा गाउँलेप्रति उपेक्षा गरेको हो ? स्पष्ट हुन्छ कि गाउँलेप्रति घृणा, तिरस्कार र उपेक्षा गरेको भन्न सकिन्छ । खेती गर्ने समयमा सङ्घीय सरकार किसानप्रति सकारात्मक बन्न नसकेको पाइन्छ ।
खाद्य सम्प्रभूता देशमा उत्पादन गर्ने वातावरण अहिलेसम्म कुनै दलको सरकारले समाधान गरेको पाइएन । खाद्य वस्तुहरु आयातीत मात्र गरिँदै आएको छ । अहिले सात महिनामा सात अर्बको खाद्य सामग्रीहरु आयात भएको भन्सारबाट प्राप्त आँकडाले देखाएको छ । देशभरमा कति जनसङ्ख्यालाई खाद्य सामग्री, वर्षभरमा कति चाहिन्छ ? सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग लगत छैन । खाद्य उत्पादन गर्ने जनशक्तिहरु बर्सेनि घटिरहेका छन् ।
खेतीमा निर्भर भएका किसानहरु पनि निष्क्रिय भइरहेका छन् । उनीहरुलाई सक्रिय बनाउन पनि सङ्घीय सरकार सफल हुन सकिरहेको छैन । युवाशक्ति पनि पलायन भइरहेका छन् । बुढाबुढी, छोरीचेलीहरु मात्र खेतीमा लगनशील छन् तर उनीहरुमा खेती गर्ने उत्साह छैन । जबसम्म किसानको समस्या सहज तरिकाले सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट समाधान हुँदैन, तबसम्म खाद्य सम्प्रभूता उत्पादनमा निर्भर बन्दैन । खाद्य आयात गर्ने देशमा नेपाल पनि परिभाषित हुनेछ ।
वर्षाले किसानको मन रमाउने छैन । जनउत्तरदायी नेता बन्न सक्ने छैनन् । जबसम्म किसानले कृषि काम गर्दा सरकारबाट सहयोग पाउँदैनन् भने सरकार भएको अनुभूति गर्न सकिरहेका छैनन् ।
नेपाल एउटा कृषिप्रधान देश हो । यहाँका ३६ प्रतिशत मानिस गाउँमा बसेर कृषि कर्म गर्छन् । उनीहरु खेतीपातीमा रमाउँछन् । कृषि वस्तुहरुको उत्पादन गर्छन् तर उनीहरुले उत्पादन गरेका कृषि वस्तुहरुको खरिद प्रबन्ध पनि सरकारबाट हुँदैन ।
सरकारले बजारलाई हेरेर सहरमा बस्नेहरुका लागि आपूर्ति गर्छ । यहाँ पनि अल्पमत र बहुमतको व्यवहार हुन्छ । सहरबजारमा बस्नेको ६४ प्रतिशत जनसङ्ख्या छ । उनीहरुका लागि कृषि उपजलाई आयात गर्दा नेपाली कृषकका वस्तुहरु सडकमा फाल्नु पर्ने र लागत उठ्न नसक्ने अवस्था छ । मनसुनको वर्षाले किसान रमाए पनि उत्साहित बन्न सकेका छैनन् । झरी, बादल, वर्षा, धुलो र हिलोमा रमाउने गाउँलेको आँखामा आँसु टल्किरहेको अवस्था छ । उनीहरुको दुःख बुझ्ने सरकार कहिले उदाउने हो ? समस्यामा किसानहरु छन् ।