बंगलाचुलीमा योजनाका अनुगमन

हिमाल महरा
दाङ, २० असार । गाउँमा भएका विकास निर्माणका कामलाई प्रभावकारी बनाउन बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले अनुगमनलाई निरन्तरता दिएका छन् ।

विकास निर्माणका योजना अनुगमनका लागि बंगलाचुली गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भक्तबहादुर जिसीले केही दिनयता निरन्तरता दिएका हुन् ।

आर्थिको वर्षको अवधि सकिँदै गर्दा पालिकाभित्र रहेको विभिन्न योजना सम्पन्न भए÷नभएको अवस्था बुभ्mनुका साथै गुणस्तरीय काम भए÷नभएको बुझ्न प्राविधिकसहित फिल्डमै खटिएर अनुगमन गर्दै आएका छन् ।

बंगलाचुली वडा नं. ८ भित्र पर्ने स्वामीघाट, स्याला र गोठिवन मोटरबाटो, खड्क मन्दिर माध्यमिक विद्यालय हाँसीपुरमा विज्ञान समाग्री र प्राथमिक विद्यालय अर्जुन खोलामा बन्दै गरेको भवनलगायतका योजना स्थलगत अनुगमन गरेको गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन संयोजक जिसीले जानकारी दिएका छन् ।

विकास निर्माणका योजनाको अवलोकनका क्रममा उपाध्यक्ष जिसीले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन विकास निर्माणका योजनाको अवस्था सन्तोषजनक रहेको बताए । उनले बंगलाचुली गाउँपालिकाले विकास निर्माणको गुणस्तरियतामा जोड दिँदै गुणस्तरहीन काम गरेको पाइएमा त्यसको भुक्तानी नहुने बताए ।

पालिका, सङ्घ वा प्रदेश जुनसुकै बजेटबाट विकास निर्माणको कार्य भए पनि पालिकामा निर्माणाधीन योजनाका गाउँपालिकाबाट निरन्तर निरीक्षण एवम् अनुगमन गर्ने उनले बताए । साथै उनले पालिका क्षेत्रमा भइरहेका विकास निर्माणका कामममा जनप्रतिनिधिसँगै स्थानीयबासीले निगरानी राख्नुपर्नेमा जोड दिएका छन् ।

बंगलाचुली गाउँपालिका अनुगमन समितिको संयोजक भक्तबहादुर जिसी, सदस्य रमाकुमारी पुन, सदस्य गणेश विक, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओमप्रकाश केसी र प्राविधिक ऋषि केसी क्षेत्रीलगायतको टोलीले अनुगमन गरेको थियो ।