विद्युत काउन्टर बिजौरी उवासङ्घको माग

गोरक्ष समाचारदाता
तुलसीपुर, २० असार । बिजौरी उद्योग वाणिज्य सङ्घले नेपाल विद्युत प्राधिकरण र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सामुदायिक संस्था स्वर्गद्वारी विद्युत प्रालि बिच भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता हालै समाप्त भएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले मङ्गलवार जिल्ला प्रशासन कार्यालय घोराही, नेपाल विद्युत प्राधिकरण घोराही र विद्युत प्राधिकरण तुलसीपुरमा पुगी ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ देखि १९ नं. वडासम्मको यस ग्रामीण क्षेत्रमा न्यून आर्थिक अवस्था भएका र विद्युत खपत कम गर्ने अधिकांश जनसङ्ख्या रहेको हुँदा यस क्षेत्रमा सामुदायिक विद्युत वितरण सेवा सञ्चालन गरिरहेको स्वर्गद्वारी विद्युत कम्पनी प्रालिले सरल, छिटो, छरितो र प्रभावकारी सेवा दिइरहेको थियो तर अबदेखि सो सेवा वितरण केन्द्रबाट सञ्चालन नहुने भएको हुँदा दुर्गम, ग्रामीण बस्तीबाट उद्योगी, व्यवसायीहरू विद्युत महसुल भुक्तानी गर्न जाँदा, आउँदा समय, श्रम र खर्च बढ्ने भई यस क्षेत्रका उपभोक्तालाई निकै कठिनाइ हुने बिजौरी उद्योग सङ्घका अध्यक्ष रेश्मीराज खड्का र महासचिव दीपककुमार बस्नेतले जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

सङ्घले सामुदायिक संस्था स्वर्गद्वारी विद्युत कम्पनी प्रालिले विद्युत वितरण सेवा दिइरहेको काउन्टरबाट अब उप्रान्त नेपाल विद्युत प्राधिकरणले यथास्थानबाटै विद्युत महसुल काउन्टर र मर्मत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणलाई अनुरोध समेत गरेको महासचिव बस्नेतले जानकारी दिए ।