नारायणप्रसाद श्रेष्ठ
मानव जीवन सधैँ अधुरो रहिरहन्छ । जबसम्म यसलाई सक्षम र पूर्ण गराउन यसले आफूलाई ज्ञान, सीप र व्यवहारले परिपक्व गराउन सक्दैन तबसम्म जीवनले सफलताको ढोका उघार्न सक्दैन । अहिले मानिससँग धन, दौलत छ तर सम्मान छैन । बुद्धि छ, विवेक छैन । दुःख छ सुख छैन ।
समय छ कर्म छैन तर पनि मानिस आफूलाई परिपूर्ण छु भनी अहङ्कार गरिरहेको पाइन्छ । स्वार्थ र क्षणिक आनन्दमा हृदयको पवित्रता भुलेर क्षणिक मोहमा आफूलाई परिपोषित गरिरहेको छ । आफूभित्रको शान्ति आफैले पहिचान गर्न सकिरहेको छैन । केवल भौतिक चर्मको सुख र सम्पन्नतामा रमाउन मानिसको दौडधुप बढिरहेको छ ।
वास्तवमा यी सबै मानव अन्तरमनको सत्य उजागर गर्न नसक्नुका कारण हुन् । तसर्थ, औंसीपछिको शुक्लपक्षमा आउने शीतलतालाई पहिचान गरी पूर्णचन्द्रमाको उज्यालो ग्रहण गर्न प्रत्येकले आफू, आफ्नो परिवेश, ईश्वर, आमाबुवा र गुरुलाई जान्न सक्नुपर्दछ । गुरु नै यस्तो माध्यम हो, जसले अँध्यारोलाई हटाइ उज्यालोको प्रत्याभूति गराउन सक्छ ।
त्यसैले प्रत्येक वर्ष मनाइने गुरु पर्वको दिन मात्र होइन गुरुलाई प्रत्येक दिन प्रत्येक पल आफ्नो हृदयमा धारण गरेर उहाँहरुलाई सिकाएको पदचिह्न र सत्यलाई सधैँ पहिल्याउँदै अघि बढ्न सक्नुपर्छ ।
गुरु मानव जीवनको उज्यालो गोरेटो निर्माण गर्ने बलियो आधार हो । गुरुबाट नै हामीले हाम्रो उज्ज्वल भविष्यको निर्माण गर्न सक्छौँ । जब गुरु र शिष्यबिचको सम्बन्धमा प्रेम र सद्भावको विजारोपण हुन्छ, तब सामाजिक सद्भाव र आपसी भाइचाराको आदर्श समाज निर्माण हुनसक्छ । त्यसैले म र मेरो जीवन गुरु र गुरुआमाले सिकाएको उज्यालो भविष्य हो भन्ने ठानी प्रत्येकले गुरु आज्ञा पालन गर्न सक्नुपर्छ ।
गुरु हाम्रो आदर्श हो । गुरुले नै हामीलाई हाम्रो भविष्य निर्धारण गर्नुहुन्छ, ज्ञान, सीप र व्यवहारले परिपोषित गर्न सक्नुहुन्छ भन्ने सोच विकास गरी आफूले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ । एक दिन मात्र गुरुपूर्णिमा मनाएर यसको सार्थकता हुँदैन । जीवनको हरेक उकालीओरालीमा आउने गलत चिन्तनलाई हटाउन गुरु आज्ञा र गुरुले सिकाएको ज्ञान, सीप र अनुशासनमा नै हाम्रो जीवन उज्ज्वल बन्नसक्छ ।
भनिन्छ चेतनाले चेत जगाउँछ । त्यसबाट चैतन्यको प्रादुर्भाव हुन्छ । यही प्रादुर्भाव गर्न गुरु आज्ञा र ज्ञानको आवश्यक पर्छ । सिंहासन प्राप्त हुँदैमा मूर्ख कहिल्यै साधु बन्न सक्दैन । किनकि चेतन र चैतन्य के हो ? उसले बुझ्दै सक्दैन ।
त्यति मात्र होइन, सिंहासनको अर्थ के हो ? र यसमा बस्न आफूले के जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने उसले बुझेकै हुँदैन । त्यसैले ज्ञान यस्तो शक्ति हो जसले जीवन र जगतलाई पहिल्याउन सक्ने क्षमता राख्छ । म को हुँ भन्ने कुराको पहिचान गराउन सक्छ । जबसम्म प्रत्येकले मलाई जान्न सक्दैन म के हो, माया, शक्ति, जड ? त्यो बुझ्न सक्दैन, तबसम्म उसले आफ्नो र बिरानो चिन्न सक्दैन । त्यसैले आफूलाई चिन्न गुरुशरणमा जानु नितान्त आवश्यक मानिन्छ । त्यसैले भनिन्छ ः गुरु, आमाबुवा नै परमेश्वरको अर्को रुप हुन् । दुःख मानिसको आफ्नै कर्म हो ।
यो सीसाको ऐनाझैँ हुन्छ भने सुख मानिसको सपना हो । जुन सपना क्षण प्रतिक्षण आउने जाने भइरहन्छ । यो समयको गतिसँगै दौडिरहेको पनि हुन्छ । बस हामीले यसको गतिशीलतासँगै त्यो सपना पूरा गर्न गुरुआज्ञा पालना गर्दै अगाडि बढ्ने सङ्कल्प गर्नुपर्छ । दुःख, सुख मानवीय चिन्तनभित्र आउने उतारचढाव हुन् । यो आउँछ र जान्छ तर ज्ञान एकपटक प्राप्त भएपछि जीवनपर्यन्त रहिरहन्छ र यसले उज्यालो भविष्य निर्माण गरिरहन्छ । तसर्थ, यस कुरालाई सबैले गम्भीर भएर बुझ्न सक्नुपर्छ ।
जब मानिसले समयको महत्वलाई बुझ्न थाल्दछ, गुरु ज्ञानको आधार थाहा पाउँछ, तब बुद्धिरुपि यन्त्रले विवेकको बिर्को खोली विवेकशील मानव जीवनको उजागर गर्न सक्दछ । हो, यसलाई कसरी हेर्ने ? कुन हदसम्म यसलाई स्वीकार्ने ? मानव जीवनले निर्धारण गर्ने कुरा हुन् । बगैँचा धेरै बिरुवाहरुले शृङ्गारिएको हुन्छ । यही बगैँचा मानवलाई आनन्द महसुस गराउने थलो पनि मानिन्छ तर पनि अहिले आफूले आफैलाई पहिचान गर्न नसक्ने गरी बगैँचाको फूललाई कुल्चने, आफूखुसी टिप्ने र फाल्ने प्रवृत्ति निकै बढ्दै गएको पाइन्छ ।
वास्तवमा यी सबै मानव उद्देश्यविपरीत कार्य हुन् । जसरी फूलको महत्व नबुझी त्यसलाई दुरुपयोग गरेको पाइन्छ, त्यसैगरी गुरुको अर्थ र महत्व नबुझी अहिले गुरुप्रतिको सद्भाव निकै कमजोर छ । सिक्ने र सिकाउने बीच द्वन्द्व बढेको छ । कतिपय अवस्थामा गुरु आफै पतीत भएका छन् । गुरु र शिक्षकबीचको अन्तर के हो ? त्यो नबुझेर गुरु शिष्य सँगै बसेर गलत क्रियाकलाप गरिरहेका समाचार पनि बाहिर आएका छन् ।
नाबालक पिटिएका छन्, केटी बलात्कृत भएका छन्, विद्यार्थीको जीवन कुलततर्फ बढ्दै गएको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोचिर शिष्यले गुरुप्रति देखाउनुपर्ने आदर, सम्मान र आदरलाई लत्याएको अवस्था छ । हेर्ने दृष्टिकोणमा नराम्रो प्रवृत्ति बढ्दै गएको छ । जसको कारण गुरु र शिष्यबीच द्वन्द्व भएको छ । वास्तवमा यस्तो हुनु भनेको उज्यालो भाविष्यको सपना देखी अँध्यारो गल्लीभित्र गुम्सिन पुग्नु हो । तसर्थ यस्तो परिस्थिति किन जन्मिँदै छ भनी चिन्तन गरी नीति र नैतिकतामा आधारित शिक्षा प्रणाली र गुरु स्वयम् नैतिक धरातलमा रहन जरुरी देखिन्छ ।
साना नानीहरु गिलो माटोसरह हुन्छन् । यसलाई कुन रुप दिने हो त्यो गुरुको हातमा रहन्छ । तसर्थ, गुरुवर्गले पनि आफ्ना शिष्यलाई यी भविष्यका चम्किला तारा हुन् भन्ने सोच बढाइ आफूसँग भएका ज्ञान, सीप र व्यवहारलाई सकारात्मक प्रवृत्तिउन्मुख भएर सिकाउँदै जानुपर्छ । एउटा ज्ञानले धेरै ज्ञानको उदय गराउँदै लैजान्छ भन्ने मान्यतालाई शिरोधार्य गरी समय र परिस्थितिअनुकूल गुरुले आफ्नो आदर्श कायम गर्न सक्नुपर्छ । अर्कोतर्फ शिष्य स्वयम् आज्ञाकारी बन्नुपर्छ ।
बगैँचामा फूलेका फूल सबै एउटै भए पनि त्यसलाई हेर्ने दृष्टिकोणमा फरकपन भएको देखिन्छ । गाडीको काम एक ठाउँबाट अर्को ठाउँ लैजाने काम हो । यो सानो, ठूलो, नयाँ, पुरानो जस्तो पनि हुनसक्छ तर त्यसको उद्देश्य भनेको गुढेर निश्चित गन्तव्यमा पुग्नु हो । यसलाई कसरी गन्तव्यसम्म पु¥याउने हो ? त्यो ड्राइभरको जिम्मेवारी हो । जीवन पनि यस्तै गाडी हो, जो गुडिरहने प्रक्रियामा गुज्रेको हुन्छ । यसलाई पनि कुन ठाउँ, कुन अवस्था र कुन उद्देश्य लिएर अगाडि बढाउने हो ? यो गुरुको कर्तव्य हो । त्यसैले गुरु जीवनको लागि मुख्य आधार भएकाले गुरुप्रति हेर्ने दृष्टिकोण र सोचमा सकारात्मक भाव जागृत गर्नुपर्छ । फूल त्यही हो जसलाई जस्तो नजरले हेरिन्छ त्यस्तै हुन्छ ।
त्यसैगरी गुरु सानो, ठूलो जस्तोसुकै भए पनि गुरु गुरु नै हुन् । यिनलाई हेर्ने दृष्टिकोण सधैँ सकारात्मक हुनुपर्छ । जसरी बाआमाले आफ्नो छोराछोरीको भविष्य निर्धारण गर्न अहोरात्र खटेका हुन्छन्, यसैगरी गुरुले पनि आफ्नो शिष्य राम्रो, ज्ञानी, असल संस्कारी बनोस् भनेर सधैँ चिन्तित भइरहेका हुन्छन् । तसर्थ, यसलाई सोही दृष्टिकोणले हेरी गुरु आचरण र गुरु आज्ञा शिरोधार्य गरी आफूलाई समर्पण गर्नुपर्छ । एक दिन गुरुपूर्णिमा मनाउँदैमा जीवन उज्यालो हुँदैन । त्यसको लागि प्रत्येकले प्रत्येक क्षण गुरुप्रतिका आदर, सम्मान र गुरुज्ञानमा आफूलाई कटिबद्ध बनाउनुपर्छ । तबमात्र जीवनले उज्यालो भविष्यको उद्देश्य पूरा गर्नसक्छ । यो समयको आवश्यकता हो ।