लमहीको जैविक पार्कमा आन्तरिक पर्यटक बढे

प्रियास्मृति गजमेर
लमही, १९ असार । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भिड बढ्दै गएको छ । पार्क बनेको छोटो समयमा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।

पार्कमा दैनिक ४÷५ सय मानिस आउन थालेको अजम्मरी सामुदायिक वन समितिले जनाएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरिरहेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । पार्कमा खास गरी टिकटक बनाउनेको अत्यधिक भिड लाग्ने गरेको छ ।

‘तत्कालका लागि हामीले प्रवेश शुल्क लिएका छैनौँ, पार्कभित्र अझै धेरै संरचना निर्माधीन अवस्थामा छन्, ती काम सम्पन्न भएपछि प्रवेश शुल्क तोक्ने योजना बनाइरहेका छौँ’, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले भने । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ ।

एकाबिहानै पार्कमा ‘मर्निङ–वाक’ गर्नेको लर्को लागेको हुन्छ भने अपराह्न ३÷४ बजेपछि युवायुवती टिकटक बनाउनमा व्यस्त देखिन्छन् । करिब एक महिना यता दैनिक ५÷७ जना फोटो ग्राफरले पनि रोजगारी पाएका छन् ।

उनीहरूले पार्कमा घुम्न आएका पर्यटहरूको फोटो खिचिदिने, टिकटक बनाइदिने गर्छन् । फोटो खिचेर उनीहरूले दैनिक ४÷५ हजार रूपैयाँ आम्दानी समेत गरिरहेका छन् । त्यहाँ रहेको ‘मिनीपार्क’ र ‘ग्रीनपार्क’ले पार्कको झनै शोभा बढाएको छ । यसका साथै पार्कमा जिम हाउस, ढुङ्गे बगैँचाको काम अन्तिम चरणमा छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका कोषाध्यक्ष तेजबहादुर विकले बताए ।

वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले निर्माण गरिएको पार्कमा सबैको ध्यान तान्ने संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० विगाह क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको विकको भनाइ छ । पार्कभित्र टिकटक बनाउन आउनेका लागि विभिन्न जातजातिको संस्कृति झल्कने खालका पोसाकको पनि व्यवस्था गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्राएर सामुदायिक वनको आय स्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो ।

आर्थिक वर्ष २०७५÷०७६ मा पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वनसँग छ । आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । राप्तीको मुख्य प्रवेशद्वार मानिने कोइलाबास नाका मुख्य प्रवेशद्वार हो । यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने पार्क व्यवास्थापन पक्षको भनाइ छ ।