प्रदेश सरकारले १३ करोड ६० लाख कोरोना बिशेष अनुदान दिने
दाङ ३ बैशाख । प्रदेश सरकारले स्थानीय तहहरुलाई १३ करोड ६० लाख रुपैया कोरोना बिशेष अनुदान दिने भएको छ । प्रदेश नं.५ को मन्त्रीपरिषद्को आज बुधवार बसेको बैठकले प्रदेश भित्रका सबै १ सय ९ स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई कोरोना बिशेष अनुदान उपलव्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले २५ लाख अनुदान पाउने छ भने बुटवल, घोराही र तुल्सीपुर उपमहानगरपालिका र सिद्धार्थनगर नगपालिकाले २० लाखका दरले अनुदान पाउने छन् ।
प्रदेश भित्र रहेका अन्य ३१ नगरपालिकाहरुले १५ लाखका दरले कोरोना बिशेष अनुदान प्राप्त गर्ने प्रदेश सरकारले बताएको छ । प्रदेश भित्रका ७३ गाउँपालिकालाई १० लाखका दरले र १२ जिल्लाका समन्वय समितिहरुलाई ५ लाखका दरले कोरोना बिशेष अनुदान दिइने छ । कोरोना बिशेष अनुदानलाई पालिकाहरुले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्नुपर्नेछ ।
बिशेष अनुदानका रुपमा प्राप्त भएको रकम स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापन, लकडाउनबाट अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन राहत प्रदान गर्नुपर्ने भएमा खाद्यान्न सामग्री खरिद गरी वितरण गर्ने प्रयोजनमा खर्च गर्न सकिने प्रदेश सरकारले बताएको छ ।
