राप्ती गाउँपालिकामा एकै घरका ५ जना कोरोना अस्पतालमा, २ जना क्वारेन्टाइनमा
ओमप्रकाश गुप्ता
सिसहनियाँ ३वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकामा एकै घरका ५ जनालाई आइसोलेसनमा र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । बिरगन्जबाट कैलाली पुगेकी एक ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै यात्रा गरेका दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ कटेशनाला निवासी एक पुरुष र उनका परिवारका सदस्य गरि ५ जनालाई बेलझुण्डीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
चैत १७ गते संक्रमित महिलासँगै बिरगन्जबाट दाङको सबैभन्दा पूर्वी बजार भालुवाङसम्म उनीहरुलेसँगै यात्रा गरेको खुलेपछि प्रहरीले खोजेर मंगलबार आइसोलेसनमा ल्याएको हो।
दाङका कोरोना फोकल पर्सन कमल चन्दले संक्रमित महिलासँगै यात्रा गरेका पाँच जनालाई दिउँसो मात्रै तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पुर्याइएको बताए।
ति पाँच जना सहित बेलझुण्डीको कारोना विषेश अस्पतालको आइसोलेशनमा बस्नेको संख्या अहिले १४ पुगेको छ । ती पाँच जनाको स्वाब केहि दिनमै पठाउने अस्पतालका फोकल पर्सन चन्दले जानकारी दिएका छन् । यसै बिच पर्वत जिल्लाबाट दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा आएका २ पुरूषलाई वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
कामका शिलशिलामा पर्वत गएका उनीहरूलाई ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीको अनुरोधमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षणपछि मात्र छोडिने बताइएको छ ।
