आत्मनिर्भर बन्न सीप सिक्दै महिला

शिवराज खनाल
लमही, १५ असार । दाङका महिला आत्मनिर्भर बन्न थालेका छन् । कुनै समय चुलोचौकोमा सीमित महिला पछिल्लो समयमा विभिन्न सीप सिकेर आयआर्जनमा जोडिएपछि आत्मनिर्भर बन्न थालेका हुन् ।

घरायसी काममा सीमित रहने महिलालाई राजपुर गाउँपालिकाले सीप सिक्ने वातावरण जुराइदिएको छ । अहिले धेरै महिलाले उद्यमशीलतासम्बन्धी सीप लिइरहेका छन् । उनैमध्यकी एक हुन् राजपुर गाउँपालिका निवासी राधिका चौधरी ।

उनी अहिले कटाइ सिलाइसम्बन्धी तालिम लिइरहेकी छिन् । कपडा सिलाउनेसँगै कपडा काटछाँट गर्न सिक्दै गरेकी उनले सीप सिकेर गाउँमै कटाइ सिलाइसम्बन्धी काम गर्ने सोच रहेको बताइन् ।

‘सीप नहुँदा इच्छा भए पनि केही गर्न सकिएको थिएनन्, जसले गर्दा साँझबिहान घरमा खाना पकाउने र दिउँसोमा बाख्रा र गाईवस्तुलाई हेर्नुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तर अब कटाइ सिलाइसम्बन्धी सीप सिक्न थालेकी छु । तालिम सकेपछि कटाइ सिलाइसम्बन्धी पहल गर्ने इच्छा छ ।’ उनकोजस्तै सोच छ, निमा केसीको पनि ।

कटाइ सिलाइको काम सिक्दै गरेकी केसी पनि सीप सिकेर व्यवसाय गर्ने सोचमा छिन् । त्यसका लागि तालिममा आएकी उनले बालबालिका, महिलालगायतका कपडा सिलाउन सक्ने भइसकेको बताउँछिन् । अब उनले सिलाउनका लागि कपडा काट्नेदेखि डिजाइन निकाल्न सिक्नुपर्ने बाँकी रहेको बताइन् ।

राजपुर गाउँपालिकाले सीपमूलक तालिम दिएपछि यहाँका महिला उत्साहित हुँदै सीप सिकिरहेका छन् । तालिमपश्चात् घरमै बसी आयआर्जनमा जोडिने महिलाले बताउने गरेका छन् । राजपुर गाउँपालिकाले पालिका भित्रका ७ वटा वडाका १ सय ५० भन्दा बढी महिलालाई सीप विकास तालिम दिएको छ ।

पालिकाले सबै वडाका महिलालाई कटाइ सिलाइ, थाकलको पातबाट टोपी बनाउने, ढकिया, साबुन, झोलालगायतका विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गर्दै आएको छ । हातमा सीप नहुँदा घरभित्रकै काममा सीमित रहने र आर्थिक रूपमा पनि घरपरिवारमै निर्भर हुने महिला सीप सिकेर आत्भनिर्भर बन्ने गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउँछन् ।

सीप सिकाएर महिलालाई समाजमा आर्थिक रूपमा सक्षम बनाउनका लागि गाउँपालिकाले महिलाका लागि सीपमूलक तालिम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।

‘अहिले समाजमा सीप नहुँदा धेरै महिला श्रीमान वा घरिवारमा निर्भर बन्नुपर्ने बाध्यता छ’, गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, ‘सीप सिकेर महिलाहरू कुनै न कुनै आयआर्जनसँग जोडिन सके आर्थिक रूपमा सक्षम हुनेछन् । पैसाका लागि अरूमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

महिलाहरू आर्थिक रूपमा सक्षम हुँदा घरभित्रसँगै बाहिर ह्ुने हिंसाका घटनामा पनि कमी आउने राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादव बताउँछिन् ।