देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

लमही,१५ असार । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनी घरभई हाल राजापुर गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ताराप्रसाद विक रहेको जिल्ला प्रहरी कार्यालय दाङक प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।

राजपुर गाउँपालिका–६ का कार्यालय सहयोगी अमृत रोका र विक चढेको रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएराती राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा अनियंत्रित भएर दुर्घटना हुदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा नाली निर्माणका लागि राखिएको बालुवामा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा विकको टाउकोमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारकै क्रममा शुक्रवार आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा सामान्य चोट लागेकाले लमहीकै एक स्थानीय मेडिकलमा उपचार भैरहेको छ । यता मृतकका आफन्तले घटनाको वास्तविकता नबुझेर शव नबुझ्ने भनेपछि अहिले विकको शवलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका–६ का वडा अध्यक्ष तथा प्रवक्ता श्याम रोकाले जानकारी दिएका छन् ।