सडक कालोपत्रेले स्थानीय खुसी

प्रियास्मृति गजमेर
लमही, १५ असार । लमही नगरपालिका वडा नम्बर ९ को रिहारदेखि तेलिया (वलीखुट्टी)सम्म सडक कालोपत्रे हुने भएपछि स्थानीय खुसी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै ८ वर्षपछि सडक कालोपत्रे हुन लागेको हो ।

सडक कालोपत्रे भएपछि लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का वनकट्टी, लैबरुवा, सिक्टा, राताकांशसम्मका स्थानीयलाई आवतजावतमा सहज भएको राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय शोभाराम विश्वकर्माले बताए । कच्ची सडक हुँदा निकै सास्ती थियो ।

बिरामी हुँदा गाउँघरसम्म एम्बुलेन्स आउन सक्ने अवस्था थिएन, बाटो नहुँदा कतिले ज्यान गुमाउनु परेको उदाहरण छन्’, उनले भने, ‘अब कालोपत्रे हुने भएपछि हामीमा बेग्लै खुसी छाएको छ ।’
अब त्यस क्षेत्रमा किसानले उत्पादन गरेका कृषि सामग्रीले पनि सहज तरिकाले बजार पाउने भएका छन् । देउखुरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र लमही बजारबाट झन्डै ४० किलोमिटरको दूरीमा रहेका यी बस्तीमा बर्सा याममा आवतजावत गर्न निकै समस्या छ ।

‘कच्ची सडक भएकाले पनि स्थानीय रुटमा गुड्ने सवारी साधन जान मान्दैनन्, तरुलिया, कोल्तरा, लैबरुवा, सिक्टा वनकट्टीबाट हिडेर रिहार पुग्नुपर्ने बाध्यता छ, अहिले अटो चल्छन् तर भाडा महँगो छ’, लमही नगरपालिका–९ कोल्तराका स्थानीय ओमप्रकाश बस्नेतले भने, ‘मोटरसाइकल हुनेहरू पनि बर्सा याममा बडोमुस्किलले हिड्ने गर्छन, बस, टेक्सी त झन जाने कुरै भएन ।’ सडक कालोपत्रे हुन लागेकाले अब आधा÷पौने घन्टामा रिहार–लमही आउन सकिने उनले बताए ।

सङ्घीय सरकार र लमही नगरपालिकाको समपुरक बजेटबाट सडक कालोपत्रे भइरहेको लमही नगरपालिकाका इन्जिनिएर सौगात वलीले बताए । २ करोड ८० लाख रूपैयाँबाट २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ । उज्वल निर्माण सेवाले चालु आर्थिक वर्ष २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरेको इन्जिनियर वलीले बताए ।

उनकाअुनसार कालोपत्रे बाहेक त्यो सडकखण्डमा पक्की नाला, कल्भर्ट निर्माण हुने र आवश्यक परेका स्थानमा ह्यूमपाइप समेत राखिने भएको छ । पालिकाले पनि विकट क्षेत्रका ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेको छ । ‘वडा नं. १ र ९ मा सडकमा आउने बजेट क्रमागत भएकोले काम निरन्तर भइराख्ने छ’, उनले भने, ‘नगरबासीले विकास भएको प्रत्यक्ष अनुभूति गर्ने गरी काम भइराखेको छ ।’

रिहारदेखि सिमलसोताको (पुरानो बाटो) निकाल्ने गरेर सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको छु’, वडा नं ९ का वडाध्यक्ष भेषबहादुर केसीले भने, ‘अहिले जुरपानी जाने बाटोदेखि तेलिया (वलीखुट्टी) सम्म सडक कालोपत्रे हुँदैछ, थप बजेट पनि आएको छ, उक्त बजेटबाट लैबरुवा जाने झोलुङ्गे पुलसम्म अप्ठेरा मोडहरू कटिङ गरिएको त्यो आसपासमा रहेका खोलामा कल्भर्ट, पक्की पुल र ह्युमपाइप हाल्ने काम भइराखेको छ ।’