भुवन पोख्रेल
पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि नेपालबाट जनशक्ति पलायन भइरहेको छ । विशेष गरी प्राविधिक र राम्रो अङ्ग्रेजी शिक्षा पाएकाहरु सामान्यतया नेपाल नफर्कने विदेशतिरै बसोवास गर्ने मानसिकता बोकेर विकसित देशमा जाने क्रम तीव्र छ । अनवरत रुपमा प्रतिभा पलायन भइरहेको मात्र छैन उनीहरुले विदेशतर्फ लगानी गरेको अर्बाैँ रुपैयाँ रोक्ने कहिले ? अवैध बाटोबाट अमेरिका छिर्ने रोगी मनोविज्ञान गरिबी र अशिक्षाले जन्माएको होइन, महत्वाकांक्षाले हो ।
दक्षिण अमेरिका पुग्नकै लागि आवश्यक पर्ने पचासौँ लाख रुपैयाँ र महिनौँको समय खर्चर्ने र जीवन नै जोखिममा पार्नेहरु सोझासिधा, उपायविहीन र आर्थिक स्रोत नभएका होइन पक्कै पनि अमेरिका पुग्नकै लागि गरेझै यति समर्पण र उद्यम नेपालमा गर्दा एउटा परिवारलाई पुग्ने आयआर्जन र रोजगारी स्वदेशमै सिर्जना गर्न सकिन्थ्यो ।
नेपालको समाज स्वाभिमान, आत्मसम्मान र हित, उद्यमशीलतामा विश्वास नगर्ने, मिहिनेतबिनाको तयारी आर्जन खोज्ने एक किसिमको महत्वाकांक्षी मानसिक रोगले ग्रसित हुँदै गइरहेको छ । जसको परिणाम स्वरुप हजारौँ युवा जसरी पनि युरोप, अमेरिका छिर्ने मृगतृष्णा मौलाएको छ । अहिले जसरी पनि मुलुक छोड्न चाहने गरिबवर्ग भन्दा पनि सम्पन्न र शिक्षितवर्ग छ ।
भनिन्छ युवा देशका मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । जननी जन्मभूमिलाई पनि खाफ्ना सन्तानको आशन लाग्ने कुरा नै हँुदैन । प्रतिभा पलायन भन्नाले सामान्यतया एक मुलुकबाट अर्को मुलुकमा हुने बौद्धिक बसाइँ सराईलाई लिन सकिन्छ । यसलाई अझ स्पष्ट रुपमा भन्ने हो भने विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा हुने दक्ष जनशक्तिको बसाइँ सराईलाई प्रतिभा पलायनका रुपमा लिन सकिन्छ ।
साँच्चै भन्ने हो भने विकसित मुलुकहरुले विकासोन्मुख मुलुकबाट हुने प्रतिभा पलायनबाट दक्ष र बौद्धिक क्षमतावान् व्यक्तिहरु लिएर विकासोन्मुख मुलुकमा एकप्रकारको ठुलो आर्थिक, सामाजिक समस्या नै खडा गरिदिएका छन् भन्दा फरक नपर्ला । प्रतिभा पलायनको कुरा गर्दा विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड र बेलायतजस्ता मुलुकलो अहिले विश्वभरिबाट दक्ष र सीपयुक्त व्यक्तिहरुलाई आकर्षित गर्नका लागि विभिन्न आर्थिक सुविधा र अवसरहरु प्रदान गर्दै आइरहेका छन् । त्यसमा पनि संयुक्त राज्य गर्ने धेरै लामो समयदेखि बसाइँ सराई ग्रहण गर्ने सबैभन्दा ठुलो मुलुक बन्न पुगेको छ ।
अमेरिकाले हरेक वर्ष करिब ५० हजार मानिस विश्वभरबाट सांस्कृतिक आयतको नाममा ग्रहण गर्ने गर्छ । जसमा नेपाल पनि पर्दछ । यो छनोटको डाइभरसिटी भिसा अर्थात् डिभी छनोटको नाममा गर्ने गरिन्छ । डिभी चिठ्ठा पर्नासाथ अमेरिका जाने भाग्य चम्कने चाहिँ पक्कै होइन । यसरी डिभी चिठ्ठा परिसकेका दाजुभाइ, दिदीबहिनीलाई पनि आवश्यक सबै प्रकारको पूर्वाधार पूरा भइसकेपछि मात्र अमेरिकी दूतावासले अन्तर्वार्ता लिने गर्छ र यदि त्यो व्यक्ति उनीहरुको आवश्यकता अनुरुप छ भने उनीहरुलाई लागेपछि मात्र त्यस्ता व्यक्तिले डिभी चिठ्ठामार्फत् अमेरिका जाने अनुमति पाउँछन् ।
यसैले यो प्रक्रियालाई पनि एक किसिमले प्रतिभा पलायनकै रुपमा लिन सकिन्छ । स्वभावतः मानिसहरु आफ्नो आर्थिक समृद्धि र गुणस्तरीय जीवनयापनकै खोजीमा हुन्छन् । जब आर्थिक उपार्जनका लागि आफ्नो मुलुकमा उपयुक्त वातावरण पाउँदैनन्, गुणस्तरीय जीवनको खोजीमा तीव्र गतिमा प्रतिभा पलायन हुन्छन् । कतिपय व्यक्तिहरु पश्चिमी मुलुकको जीवनशैली, उनीहरुको शिक्षा प्रणाली, उनीहरुको विज्ञान र प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट प्रभावित हुन पुग्दछन् । जसले गर्दा उनीहरु पश्चिमा मुलुकमा बसाइँसराइका लागि लालायित हुन पुग्छन् ।
त्यस्तै कतिपय विकसित मुलुकले छात्रवृत्ति, अनुदान, तालिम र सांस्कृतिक आदानप्रदान आदिको सुविधा पनि प्रदान गर्ने गर्छन् । यसबाट दक्ष जनशक्ति विकसित मुलुकमा पलायन हुन पुग्दछन् । जसको परिणाम स्वरुप विकसित मुलुकहरु झन्–झन् सम्पन्न हुँदै जान्छन् भने हाम्रो जस्तो गरिब मुलुकहरु पछाडिको पछाडि नै पर्छन् । हामी बर्सेनि १ अर्ब रुपैयाँ खाडी मुलुकमा काम गर्ने कामदारबाट स्वदेशमा विप्रेषणका रुपमा भिœयाउँदा दङ्ग पर्छाैँ तर आफ्नै मुलुकमा दिन प्रतिदिन बढ्दै गएको दक्ष र तालिम प्राप्त जनशक्तिको अभावतर्फ आँखा चिम्लेझैँ गरेर बस्छौँ । यो अत्यन्त बिडम्वनाको कुरा हो ।
हाम्रो जस्तो गरिब मुलुकका शिक्षित युवाले विकसित देशमा छात्रवृत्ति पाउनु पक्कै पनि राम्रो अवसर हो तर विदेश पुगेर त्यही युवाले सीप, दक्षता र क्षमताको विकास गरी स्वदेश फर्केर त्यहाँको ज्ञान, सीप, प्रविधि आफ्नै मुलुकमा उपयोग गर्छ र देशलाई समुन्नत तुल्याउँछ भने त्यो त सराहनीय काम बन्दथ्यो तर वास्तविकता त्यसो हुँदैन । उच्च शिक्षा र प्रविधि प्राप्त गर्न भनी बाहिरी विकसित मुलुकमा त उ पुग्दछ तर जब उ पश्चिमी जीवनशैलीबाट विस्तारै प्रभावित हुँदै जान्छ र त्यहाँको खुला संस्कृति र रहनसहनबाट आकर्षित हुन थाल्छ तब उसलाई आफू जन्मे हुर्केको समाजप्रति नै वितृष्णा उत्पन्न हुन थाल्छ ।
अन्ततः उ स्थायी रुपमा त्यहीँ विदेशी मुलुकमा बसोबास गर्ने निचोडमा पुग्दछ । यसरी हुन्छ प्रतिभा पलायन । प्रतिभा पलायनको यो समस्यालाई राज्यले बेलैमा सम्बोधन नगर्ने हो भने हाम्रो जस्तो मुलुकले ठुलो आर्थिक, सामाजिक र दक्ष जनशक्ति अभावको समस्या झेल्नुपर्ने कुरालाई नकार्न मिल्दैन । निश्चय पनि प्रतिभा पलायनको एउटा महत्वपूर्ण कारकतत्व भनेको हाम्रो विद्यमान त्रुटिपूर्ण शिक्षा प्रणाली नै हो । यसले शैक्षिक बेरोजगारहरुको सङ्ख्या मात्र बढाइरहेको राष्ट्रको आवश्यकता र मागलाई पूर्ति गर्ने किसिमको प्राविधिक व्यावसायिक तथा सीपमुलक शिक्षाको विकासमा यथेष्ट ध्यान पु¥याउन सकिएको छैन ।
प्रतिभाहरुको उचित कदर र पहिचान हुन नसक्नु अनि दक्ष र तालिम प्राप्त व्यक्तिहरुले समेत उपयुक्त रोजगारको अवसर प्राप्त गर्न नसकि सडक र गल्लीमा भौँतारिरहनु पर्ने अवस्था पनि हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक दिनमा २२ देखि २५ सयसम्म युवा रोजगारीका लागि जाने गरेको देखिन्छ । मुलुकमा जति नै परिवर्तन र क्रान्ति भए पनि आजसम्म नेतृत्वले युवाहरुलाई विदेश पलायन हुने वातावरण तयार पार्न बाहेक केही गरेन ।
आयआर्जन सम्बद्ध कामलाई श्रम भनिन्छ । काम गरेर आम्दानी गर्नु वा समय वा काम विक्री गरेर आम्दानी गर्नु श्रम हो । बिनाआम्दानीको काम श्रम होइन । श्रमिकले नियमित रुपमा श्रम गर्ने अवसर पायो भने त्यसलाई रोजगार भनिन्छ । उमेर पुगेका व्यक्तिहरुले आफ्नो श्रम, सीप, क्षमता, बुद्धिको प्रयोग गरेर काम वा उद्यम गर्दछन् र त्यस्तो काम गरेवाफत् आम्दानी गर्नु वा यसका लागि समय तथा श्रमको खर्च गर्नु रोजगारी हो ।
यसरी रोजगारी गर्ने व्यक्तिलाई रोजगार व्यक्ति वा श्रमिक भनिन्छ । श्रम ऐनको परिभाषाअनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनुपर्छ । दिगो आर्थिक विकास र समृद्धिको मुख्य आधार नै उत्पादनशील रोजगार हो । यसले मानवको आयआर्जन क्षमतालाई वृद्धि गर्दछ ।
त्यसैले विश्वभरका नीति निर्माताहरुले आ–आफ्ना विकास रणनीतिका रुपमा सबै नागरिकका लागि पूर्ण र उत्पादनशील रोजगारीलाई प्राथमिकता दिएको पाइन्छ । नेपालको हरेक विकास योजना, क्षेत्रगत नीतिहरु र कार्यक्रमहरुका महत्वपूर्ण उद्देश्यका रुपमा रोजगारीलाई समेट्नु पर्ने देखिन्छ ।
श्रमशक्ति भन्नाले उत्पादनशील जनसङ्ख्यालाई जनाउँछ । त्यसैले सङ्ख्यात्मकभन्दा श्रमबजारको आवश्यकता अनुरुप सीपमूलक श्रमशक्ति विकास गर्नु आजको आवश्यकता हो । गुणस्तरीय मानव संसाधनको विकासमार्फत् श्रमको उत्पादकत्व अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन उत्पादनको क्रियाशील साधनको रुपमा श्रमको महत्वपूर्ण भूमिका रहन्छ । गुणस्तरीय श्रम र रोजगार, समृद्ध नेपालको आधार भन्ने विषयमा राज्य गम्भीर भएर लाग्नुपर्छ ।
उद्यमशीलता भन्नले कुनै पनि उद्यममा लाग्ने इच्छाशक्ति तथा क्षमतालाई बुझाउँछ । उद्यमशीलतालाई उत्पादनको महत्वपूर्ण साधनको रुपमा स्थापना र सञ्चालनका लागि इच्छाशक्ति र क्षमता अभिवृद्धि गर्न उद्यमशीलताको आवश्यक छ । नेपालमा उद्यमशीलताको विकास नहुनुमा उद्यमशील संस्कृतिको कमी, लक्षित समूहको पहिचान हुन नसक्नु, तालिमलाई उद्यमसँग जोड्न नसक्नु, व्यवसाय सुरु गर्न आधार पुँजी नहुनु, वित्तीय पहँुचको कमी, जोखिम आँकलन गर्ने क्षमताको अभाव हुनु, नाफामूलक क्षेत्रको पहिचानको कमी र विश्वव्यापीकरणले सिर्जना गरेका अवसर र नवीन प्रविधि अवलम्बन गर्न नसकिनु यस क्षेत्रका प्रमुख समस्या हुन् ।
कुनै पनि पेसा व्यवसाय सानो वा ठुलो हुँदैन भन्ने भावना युवामा भयो भने विदेश पलायन रोक्न सकिन्छ । स्वदेशमै श्रमशक्तिको उत्पादकत्व बढाउन सकिन्छ । प्रत्येक युवाका उद्यमशीलताको विकास गर्न सक्यौँ र त्यस किसिमको वातावरण मुलुकभित्रै तयार भयो भने प्रतिभा पलायन रोक्न केही हदसम्म सफल भइन्छ । त्यसर्थ राज्यले सबैले काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रुपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमै रोजगारी अभिवृद्धि गर्नेतर्फ ध्यान पु¥याएमा प्रतिभा पलायन कम हुन्छ ।
श्रमशक्ति भन्नाले उत्पादनशील जनसङ्ख्यालाई जनाउँदछ । त्यसैले सङ्ख्यात्मकभन्दा श्रमबजारको आवश्यकता अनुरुप सीपमूलक श्रमशक्तिको विकास गर्नु आवश्यकता हो । हामी सबै मानिस श्रमशक्ति हो । हामीले आफ्नो रुचि, आफूसँग भएको सीप, सिर्जनात्मक क्षमता, उपलब्ध साधन स्रोत र अवसरको उपयोग गरी रोजगारी सिर्जना गर्न सक्छौँ । रोजगारीले हामीलाई खोज्दैन हामीले श्रमबजारमा रोजगार खोज्ने हो ।
रोजगारी सधँै अरुबाट मात्र प्राप्त हुन्छ भन्ने धारणा गलत हो । हामीले आफै रोजगारका अवसर पहिचान गरेर रोजगारी सिर्जना गर्दै स्वरोजगार बन्न सक्दछौँ । नेपाल रोजगारीका लागि उर्वर भूमि हो । यहाँ रोजगारीका प्रशस्त अवसर रहेका छन् । हजारौँ नेपालीले स्वदेशमै रोजगारी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् । यस्तो परिस्थितिमा मुलुकमा अवसर नै छैन भनेर विदेश पलायन हुनेहरुमा उद्यमशीलताको खडेरी देखिन्छ ।