जीवन उज्वल सत्कर्म र व्यवहार नै हो ।

गुरुप्रसाद शर्मा रेग्मी
स्वर्गद्वारी महाप्रभुका सामु आएर एक जना छोराछोरीबाट पीडित व्यक्तिले गरेको विन्तिको सम्बन्ध सुन्ने चेलाले आफ्ना चेलाहरुलाई भन्दा सुनेका एक जना वयोबृद्धबाट मैले सुन्ने अवसर पाएँ । यो कुरा सुनेपछि मेरो मनमा कुरा मथिन थाल्यो । यसको सत्यता के–कति रहेछ भनेर पत्रपत्रिका र पौराणिक किताबहरु पल्टाउन थालेँ । त्यसबाट परिणाम जे देखिन आयो, त्यही कुरालाई शब्दचित्रमा पाठकहरुको सामु पस्कने प्रयास गरेको छु ।

यो संसारमा जन्मिएको मानिस न जातले ठुलो हुन्छ न धर्मले ठुलो हुन्छ । मानिस ठुलो हुने त यसको सत्कर्म र सत्व्यवहारले हो । जसले राम्रो सत्कर्म र सत्व्यवहार गर्दछ, उ मरे पनि संसारमा जीवित भइरहेको हुन्छ । देवताको रुपमा सम्मानित, पूजित पनि भइरहेको हुन्छ । मानिसले जे–जति धर्म गरेको हुन्छ, त्यो सब परिवारका सदस्यमा सम्पत्ति बाँडिएझँै बाँडिन्छ तर उसले गरेको जीवनोपयोगी व्यवहार जनहितका कर्महरु कसैलाई बाँड्नु पर्दैन । त्यही कर्म र व्यवहारको फल वर्तमान र भविष्यको जन्ममा पनि भोग्नु पर्दछ ।

यो नै मानिसको नियति हो भन्ने कुरा कसैले नकार्न सक्दैन । पौराणिक कथाले पनि यही मनोवैज्ञानिक धरातल देखाइदिएको हुन्छ । रामले छल गरेर लुकेर बालीलाई मारेका थिए । अर्को युगमा राम कृष्ण बनेर जन्म लिए भने बाली सिकारी बनेर जन्म लियो र रामले बालीलाई मारेझँै शिकारीको वाण पैतालामा लागेर कृष्णलाई मृत्यु वरण गर्नु परेको थियो । सुरपणखा रावणकी बहिनी हुन् ।

पूर्व जन्मको शत्रुताको बदला लिन आफ्नो नाक कटाएर सीता हरण गर्न लगाएर रावण र रावणको लङ्कालाई नै समाप्त गराएकी थिइन् । आफ्नो ज्वाईलाई मार्ने रामको दोस्रो अवतार लिएको कृष्णले रचेको कुरुक्षेत्रको युद्धमा पाण्डवलाई साथ दिएर बाँडेका थिए र कौरवको विनाश भएको थियो । यही कुराको सान्दर्भिकता र सत्यता हेर्न अन्यत्र कहीँ जानु पर्दैन । आफ्नै घरपरिवारको वातावरण र अवस्थाको सबै कुराको पुष्टि गरिदिन्छ ।

यो संसारको कुनै पनि परिवारको बुवाआमा, छोराछोरी भएर जन्म लिएका छोराछोरी चार प्रकारको अवस्था र व्यवस्थाले निर्देशित भएको हुँदा रहेछन् । छोरीछोराको रुपमा जन्म लिनेहरुको आन्तरिक भिजन के हुँदोरहेछ ? त्यसलाई क्रमशः व्यक्त गर्दछु । (एक) पूर्वजन्ममा ऋण खाएको त्यसको भुक्तानी नदिएको उ मर्दासम्म पनि छोराछोरीलाई ऋण तिर्नुछ भनेर भने । त्यही ऋण नतिरेको व्यक्तिको छोरा भएर ऋण दिने व्यक्तिले जन्म लिएको हुन्छ ।

त्यही भएर उसले आफ्नो ऋणी बुवासँग सावाँ, व्याज र स्याज समेत अशुल हुने वातावरण बनाएर जन्म लिएको हुन्छ । आफ्नो श्रीसम्पत्ति सबै फुकेर स्वाहा पारेर सुकुम्बासी जस्तो भएर बस्नु परेका उदाहरण प्रशस्त हुन्छ । यसको के कुरा सिद्ध हुन्छ भने ऋण लिएर न तिरेको मानिसलाई यो जुनी होस् या अर्को जुनीमा होस् ऋण नतिरेर छुट्टी पाइँदैन ।

(दुई) पूर्वजन्मका कसैको कसैसँग दुस्मनी छ भने भरसक त त्यही जुनीमा साँध्ने काम गर्दछ । यदि त्यो जन्ममा सकेन र मृत्यु भयो भने त्यही शत्रुता साँध्न त्यही शत्रुको छोरा भएर जन्म लिने गर्दछ । जीवनभर बुवाआमासँग झगडा गर्ने, रडाको मच्चाउने, न आफू सुख र आनन्दसँग बस्ने न बुवाआमालाई सुख र शान्तिसँग बस्न दिने । उन्नत्ति र प्रगत्तिमा अवरोध मात्र पु¥याउँछ । बुवाआमाको उपेक्षा गर्ने, अपहेलना गर्ने मात्र हैन । यस्तै छोराको बुवाआमा बोझ बनेका हुन्छन् । यस्तै छोराछोरीले बुवाआमालाई वृद्धाश्रममा पठाउने गरेका हुन्छन् ।

(तीन) उदासीनता, कुनै–कुनै बुवाआमाका सन्तानमा उदासीनता बढी देखिन्छ । यो पनि पूर्वजन्मकै वातावरण र असरको प्रतिफल हुने गर्दछ । यस्ता सन्तानले न बुवाआमालाई सुख र आनन्द दिन्छन् न दुःख र कष्ट नै दिन्छन् । न बावुआमाले गर्न लागेको उन्नति र प्रगतिमा न सहयोग गर्दछन् न अवरोध गर्दछन् । जे छ त्यसैमा अतिरञ्जित भएर बस्ने भएकाले सन्तान नै बुवाआमाको लागि बोझ बनेका हुन्छन् । आफै कर्मलाई दोष दिएर बसेका हुन्छन् ।

(चार) सेवा, श्रद्धा र आस्था, जुन मानिसले पूर्वजन्ममा आफ्ना बुवाआमाको सेवा, सम्मान आस्था र निष्ठा गरेको छ, समाजको सेवा र हितकारी कार्य गरेको छ भने अर्को जन्ममा त्यो मानिस त्यही सेवा गरेको बुवाआमाको छोरा भएर जन्मन्छ । पूर्वजन्ममा गरेको संस्कार, संस्कृतिलाई पालना गरेर आफ्नो जीवन सफल र सार्थक बनाएको हुन्छ । आफ्नो सबै परिवारलाई स्वर्गको अनुभूति गराएको हुन्छ । यस्तै छोराले बुवाआमालाई जीवित देवता मानेर श्रद्धा, आस्था र निष्ठा प्रेमपूर्ण छहारीमा बसालेको हुन्छ ।

हुन त हाम्रो सोच के बनेको हुन्छ भने मानिसको भाग्य दैवले लेखिदिएको हुन्छ, यो कुरा सत्य होइन । ईश्वरले कोरा कागज मात्र बनाइदिएको हुन्छ । भाग्य के–कस्तो लेख्ने हो आफैले निर्धारण गर्ने कुरा हो । मानिसले जन्म लिएर गरेका राम्रा, नराम्रा काम कर्तव्यको आधारमा कसले कुन योनीमा कुन रुपमा जन्म लिन्छ, के गर्छ ? सबै कुरा उसकै कर्म र व्यवहारले निर्धारित गर्दछ । पूर्वजन्मको काम क्रोध, लोभ, मोह, मात्सर्य, तृष्णाले योनीमा जन्म लिने गर्दछ । बुवाआमालाई छोराछोरीलाई यसो र उसो भन्नुको कुनै अर्थ नभएर यो एउटा नियति मात्र हो भन्ने सिद्ध हुन्छ ।

जसरी वर्तमानको राजनीतिको अवस्थामा राजनीतिले भ्रष्टता र षड्यन्त्रताको नयाँ–नयाँ परिधान बनाएर लगाउँदा नाङिगँदै गएको छ । यसैगरी उसैको नकल्ची बनेर धर्म, शिक्षा, स्वास्थ्यले पनि आफ्नो मौलिक परिधान त्यागेर फाटेका, टालेका, अङ्गप्रत्यङ्ग देखिने परिधान लगाएर हिड्ने गर्दा जताततै अस्तव्यस्तताले लाजमर्दो हुन गइरहेको छ । यसैले गर्दा आज परिवारमा रहेका जिउँदा देवताहरुलाई नारकीय जीवन बिताउन पारिरहेको छ । पूर्व–पश्चिम जताको जुन कर्म भए पनि मानिसलाई मानिस बनाउने उसको कर्म नै रहेछ । जीवन उज्ज्वल बनाउन सत्कर्म र सत्व्यवहार नै एक मात्र कडी रहेछ ।