समस्याले विचारमा निखार ल्याउँछ

नारायणप्रसाद श्रेष्ठ
मानिसको जीवन सधैँ उतारचढावमा रहेको हुन्छ । कुनै न कुनै समस्याले मानिसलाई उल्झाइरहेको हुन्छ । समस्या सानो, ठुलो जस्तोसुकै भए पनि मानिसले थोरै समस्या देख्यो भने पनि त्यसलाई तिलको पहाड बनाइ अत्तालिएको देखिन्छ । वास्तवमा यो मानवीय सोच र चिन्तनमा आएको कमजोरी हो ।

कतिपय समस्या मानवीय स्वार्थले पनि उत्पन्न गराइरहेको हुन्छ । अर्को कुरा समस्या त्यसै आउँदैन, समस्या जन्माइन्छ पनि । कतिपय अवस्थामा स्वार्थले समस्या बढाएको हुन्छ भने कतिपय अवस्थामा महत्वाकाङ्क्षा बढाएर पनि समस्या बढाएको हुन्छ । वास्तवमा यी सबै मानव स्वयम्ले उत्पन्न गरेका विचारबाट उत्पत्ति भएका समस्या हुन् ।

विचार र चिन्तनमा बढेको विचलनका कारणले भएका हुन् । तसर्थ, स्वार्थ र मोहबस उत्पन्न भएका समस्याले यो मेरो हाम्रै कारणले खडा भएको हो भनी मनमा स्वच्छ र चिन्तनमा सकारात्मक भाव जागृत हुने गरी मानिसले आफूलाई प्रस्तुत गर्नु पर्छ । जसको वृत्तान्त तल दिइएको छ ।

एकपटक अध्ययनको सिलसिलामा हाम्रो यात्रा पहाडी बस्तीको चौरीखर्क भन्ने ठाउँमा पुगेको थियो । त्यहाँ गोठमा बूढाबुढी मात्र बस्दा रहेछन् । बेलुका छोटो परिचयपछि उनले हामीलाई स्वागत गरी बस्ने आशन दिए र साँझ उनले यसरी आफ्नो कथा सुनाए । जुन कथा वर्तमानमा त्यत्तिकै सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिँदैछ । हामीले यस्तो जंगलबीच गाई–भैँसी पालन गर्दै किन बसेको भनी भन्दा उनले यसरी जीवनको भोगाइको कहानी सुरु गरे अहिले पनि मलाई सम्झना छ ।

जब म ६÷७ वर्षको हुँदोहुँ । एकदिन मेरी आमा संगीनीसँग मेला हेर्न जाने भनी तयार हुँदै थिइन् । मलाई घरमा एक्लै छाडी जानलाग्नु भएको थाहा पाएपछि म अत्तालिएँ । आमाको फरियाको टुप्पा समाइ रोइ, कराइ गरेँ, मलाई पनि साथै लैजाऊ भनी बिन्ति बिसाएँ । यो देखेर आमाले केही नमागेस् है भनी शर्त कायम गराइ लैजाने मन्जुर हुनुभयो । म औधि खुसी भएँ । मेलामा विभिन्न लोकनृत्य, गीतसंगीतको कार्यक्रम हुने रहेछ । म पनि केही क्षण त्यसैमा रमाएँ ।

नाचो हेरिसकेपछि घर फर्कने क्रममा बाटोमा दही केराको पसल देखेँ । मानिस खुबै मिठो गरी खाइरहेको पाएँ । मैले ज्ेईलाई भनेँ, ‘ज्ेई ! मलाई पनि मागिदेऊ न ।’ ज्ेईले पुलुक्क हेरेर भनिन् – ‘किन, छोड्दे बाबु ! हामीसँग पैसा छैन ।’ यो शब्दले मेरो मनमा चसक्क घोच्यो । माग्दा पनि पैसा चाहिँदोरहेछ भन्ने थाहा पाएँ । चुप लागेँ र पछिपछि हिडेँ । यसरी हिड्दै जाँदा ज्ेईकी संगीनीले आठ आना सुकाको चुरा, डोरी, टिकुली किनिन् । त्यहाँबाट केही पर पुगेपछि केटाकेटी झुम्म परेर हेरेको देखी के हो भनी हेर्दा एउटा मधेसीले जलेबी बनाइरहेको देखेँ । केटाकेटीले निकै रमाउँदै खाइरहेको पनि पाएँ ।

मेरो मुख रसायो । मैले जेईलाई मिठाइ देखाउँदै भने– जेई ! त्यो ? जेईले झर्केर भनिन्– पैसासैसा छैन किन जिद्दि गर्छस्, हिड् खुरुक्क । घरमै बोटमा केरा पाकेका छन्, त्यही खालास् । जेईले यति भनेपछि म खुरुखुरु हिडे । तर मेरो मनमा निकै छाप पा¥यो । कुनै पनि वस्तु वा मिठाइ माग्दा पैसा ….. । यो घटनाले मेरो मन निकै छोयो । पैसा नभइ केही नहुनेरहेछ । पैसा भनेको के रहेछ ? अनि हाम्री ज्ेईसँग किन पैसा भएन ? मेरो मनमा निकै हलचल पैदा भयो ।

बालचञ्चलभित्र यो कुरा निकै गढ्यो । अहिले सम्झना आउँछ, त्यो अवस्था झलभली सम्झँदा । यता गर पैसा, उता गर पैसा, हिड्दा, बस्दा, उड्दा पैसा, पैसैपैसा । यसैमा मानिसको दौडधुप पनि हुँदोरहेछ । अहिलेको हाम्रो सामाजिक बनोट हेर्दा र अहिले मानिसमा भएको अन्तरद्वन्द्व पनि यही पैसाले भएको हुनुपर्छ । शिक्षा, स्वास्थ्यजस्ता मानवीय आवश्यकता पनि पैसामा सौदा हुँदोरहेछ । अहिले विद्यालय हेर, स्वास्थ्य क्षेत्र हेर सबै पैसाकै व्यापारमा लागिपरेका छन् । खाने र लुकाउने दाँत अलग बनाएर पैसापछि मानिसको ध्यान केन्द्रित भएको छ ।

धनी, गरिब पनि पैसाले छुट्याउने रहेछ । धनी झन धनी, गरिब झन गरिब यही परम्पराले गुजुल्टिएको हाम्रो सामाजिक बनोट यसैमा रुमलिरहेको रहेछ । सबै यसैका लागि मरिहत्ते गर्दा रहेछन् । सानादेखि ठूला अपराध पनि यसै कारण हुँदारहेछन् । इष्टमित्र, नाता, कुटुम्ब यही पैसाले छुट्याइरहेको हुन्छ । मैलो र झुत्रो कपडा लगाउने त कुरै छोडौँ, उनीहरु त मान्छे नै होइन जस्तो गरी समाजले व्यवहार गर्छ, कस्तो विचित्र ? त्यो क्षण, त्यो गरिबको अवस्थाले मेरो मनमा निकै हलचल बनायो । त्यसले मलाई निकै अत्तालिने पनि बनायो ।

तर पनि म थाकिनँ । मैले जबसम्म मेरो बालमनोविज्ञानभित्र पसेको यो असरलाई म र मेरो परिश्रमले हटाउन सक्दैन तबसम्म म आफू पूर्ण हुन सक्दैन भनी म आफूलाई समस्यासँग जुझ्ने कोसिस गर्न थालेँ । समय र परिस्थितिले जतिसुकै उतारचढाव दिए पनि जीवन सौभाग्यले मिलेको हो, यसलाई कुनै पनि हालतमा म सफल बनाउँछु भनी लागिपरेँ । समस्यालाई तीर्ण बराबर सम्झी अगाडि बढेँ । म यस्तो गर्न सक्दैन, म कमजोर छु भनी मनलाई कहिल्यै विचलित बनाइनँ । त्यसैले जीवन के हो भनी बुझ्न सक्नु पर्दोरहेछ ।

मानव भएर मानवीय गुण र शक्तिको क्षमता आफैबाट सम्भव रहेछ भनी सङ्कल्प जागृत भयो । मानिस जन्मनासाथ कोही धनी, गरिब, उच, नीच हुँदैन रहेछ । यो त समाजले उत्पन्न गरेको गलत कुरीति र संस्कार रहेछ । त्यसैले जीवन छोटो छ भनी केही नगर्नु भनी आफैलाई धोका दिनु हो भन्ने सोची जीवनका हरेक पाइलामा आउने समस्याका समाधान गर्दै अगाडि बढ्ने सङ्कल्प गरेँ । समस्या आउँछ र त्यही समस्याले समाधानको उपाय पनि सम्झाउँछ भनी जीवनलाई सुखी र सहज बनाउन लागिपरेँ ।

त्यसैले म विगतका दिनलाई सम्झी वर्तमानमा यी सबै समस्या चिर्न हिउँदभरि चौरीखर्क बसी काम गर्छौँ । छोराछोरी पढाउन बजार पठाउँछौँ । यति कुरा भनेपछि उनले साँझको पाहुना– केही त कान दिनुप¥यो भनी गोठभित्र पसे । थालमा भात, खिर र मोहीको गिलास दिँदै खानुस् र सुत्नुस् भनी गए ।

कथा यति नै हो । हुन त कतिपय अवस्थामा समस्या नै मानिसलाई सक्षम र गतिशील बनाउने आधार बनेको हुन्छ । समस्या नभए त मानिसको जीवन सिथिल र उत्साहविहीन बन्नसक्छ भनी प्रश्न पनि उठ्न सक्छ । हो, केही हदसम्म यो सत्यलाई स्वीकार गर्न सकिन्छ । तर सोच्नुपर्ने के हो भने हामीले हा म्रो कर्म र व्यवहारले उत्पन्न भएको समस्या कसरी उजागर भयो र यसले कस्तो परिणाम दिने हो, त्यसलाई वास्ता नगर्ने हो भने हामी सामू खडा हुने समस्या नै हाम्रो जीवनको लागि दुःखद बन्नसक्छ ।

समस्याले समस्या थप्दै मानिसको चिन्तनमा गलत प्रवृत्ति बढ्ने अवस्था आउन सक्छ । तसर्थ, समस्यालाई समस्या नभनी यो मेरै कारणले र म स्वयम्लाई परिमार्जन गर्न आएको अवसर हो भन्ने सोच बढाइ सकारात्मक भाव जागृत हुने चिन्तन बढाउनु पर्छ । समस्या मानिसलाई उसको कर्म र व्यवहारमा निखार र सन्तुलन ल्याउने माध्यम पनि हो । जीवनमा हुने जति पनि घटना, परिघटना छन्, ती सबै सामाजिक सद्भाव र आवश्यकता कायम गर्न अवसरको रुपमा आएको क्षण हो ।

तसर्थ, समय र परिस्थितिलाई बुझेर म र मेरो जिम्मेवारी के हो ? त्यसको जानकारी लिइ जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ आफूलाई समर्पण गर्नुपर्छ । तसर्थ, वर्तमान समयमा देखिएको विचलनलाई हटाउनु छ भने चिन्तनमा आउने नैरास्यतालाई हटाइ, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भावना बढाइ आफ्नो इच्छा र चाहना पूरा गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । समय र परिस्थिति अनुसार आफूलाई परिचालन गरी मानवीय चेत उघार्दै प्रकृतिको नियमलाई अङ्गीकार गरेर आफ्नो विवेकशीलतालाई प्रयोग गर्नुपर्छ ।