मेरो खुशी : सामाजिक सेवा गर्न पाउँदा …
सामाजिक क्षेत्रमा परिचित नाम हो, ओभा पाठक । समाज सेवाको पर्याय पाठक हुन् भन्दा फरक नपर्ला । समाजसेवा गर्न पाउँदा त्यत्तिकै खुसी मिल्ने गर्छ, उनलाई । गढवामा जन्मिएकी उनले त्यहीलाई कर्मथलो बनाउँदै आएकी छिन् । २०३७ साल जेठ १२ गते बुवा ताराप्रसाद पाठक र आमा हुमादेवी पाठकको साहिली छोरीको रूपमा उनको गढवा गाउँपालिका–६ प्रगतिनगरमा जन्म भएको थियो ।
गाउँबाटै प्रारम्भिक शिक्षा थालेकी उनले आइएसम्मको अध्ययन पूरा गरेकी छन् । धेरै पढेर छोरी डाक्टर, पाइलट बनोस् भन्ने बुवाआमाको चाहनालाई छेउ लगाएर पाठक समाज बदल्ने उद्देश्य बोकेर सामाजिक सेवामा लागेकी छिन् । यो पङ्क्तिकारसँग खुसी स्तम्भमा गफिँदै उनले भनिन्, ‘समाज बदल्ने यात्रामा छु । यही क्षेत्रमा खुसी छु ।’ पाठकले छोरी मान्छेले घरको कामबाहेक अरू केही गर्नु हुँदैन, घरबाहिर जानु हुँदैन भन्ने पुरातन सोचको विद्रोह गर्दै बाहिरका कामलाई बढी प्राथमिकता दिने गरेकी छन् ।
छोरी मान्छेलाई घरभित्रको काममा राख्ने चलन थियो तर मैले त्यो गरेन’, उनले भनिन्, ‘महिला अधिकार प्राप्तिका सभा सम्मेलन, आन्दोलन सधैँ अग्रपङ्क्तिमा उभिने गरेको छु ।’ २०५३ सालदेखि अनवरत रूपमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी पाठक अहिले गढ़वामा रहेको देउखुरी सामुदायिक पुस्तकालयको अध्यक्ष र लमही नगरपालिका–३ मा रहेको राप्ती कोल्डस्टोरको अध्यक्ष भएर काम गरिरहेकी छन् । धेरै ठाउँमा मेरो लगाव र मिहिनेतलाई सबैले साथ दिएर नेतृत्व दिनुभएको छ । त्यसमा पनि म धेरै खुसी छु’, उनले भनिन् ।
२०५३ सालमै चेतनशील महिला समाज केन्द्र नामक संस्थाको सचिव भएर उनले सामाजिक कर्म सुरु गरेकी हुन् । अहिले पनि सोही संस्थाको सचिव भएर जिम्मेवारी निर्वाह गरिरहेकी छन् । १ सय ५५ जना लगानीकर्ता भएको राप्ती कोल्डस्टोरमा पुरुषहरूलाई पछि पार्दै पाठक नेतृत्व लिन सफल हुँदा खुसीको सीमा नरहेको बताउँछिन् । ‘नेतृत्वको लागि पुरुष साथीहरू पनि हुनुहुन्थ्यो तर सबैले मलाई नै जिम्मेवारी दिनुभयो’, उनले भनिन् ।
सामाजिक क्षेत्रमा सक्रिय रहनका लागि बुवा, आमा, दाइ र दिदीबहिनीको ठुलो हात रहेको उनले बताइन् । आज बुवा हुनुहुन्न तर मैले समाजका लागि केही गर्छु भनेर अगाडि सर्दा उहाँले जहिल्यै हौसला दिनुहुन्थ्यो । आमाले पनि त्यत्तिकै सहयोग गर्दा मलाई सहज भएको छ’, उनले भनिन् । मेरी एउटी दिदी हुनुहुन्छ, उहाँले मलाई तिमी यो देशको एउटा सक्षम नारी भएर नेतृत्व तहमा पुग्नुपर्छ भनेर जहिल्यै हौसला प्रदान गर्नुहुन्छ’, उनले भनिन् ।
महिलाले केही गर्न सक्दैनन् भन्ने पुरुषवादी सोचलाई परास्त गर्दै पाठक दुईवटा सामाजिक संस्थाको नेतृत्व गर्दै महिलाले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने गत्तिलो उदाहरण बनेकी छन् । उनी झन्डै दुई दर्जन जति सामाजिक सङ्घसंस्थामा आबद्ध भइ सक्रिय समाज सेवा गर्दै आएकी छन् । सादा जीवन उच्च विचार राख्ने उनको स्वभाव छ । धनी, गरिब, सानो, ठूलोको भावन नराख्ने उनले जीवनमा धेरै महिला दिदीबहिनीसँग सहकार्य गर्दै काम गरेको बताउँछिन् । ‘यो जीवनमा धेरै दिदीबहिनीसँग काम गरेको छु । उहाँहरूसँग काम गर्दा धेरै खुसी प्राप्त हुने गरेको छ’, उनले भनिन्, ‘यो जीवनमा समाजसेवा नै लेखेको छ ।’
महिला आफै आत्मनिर्भर बन्न सक्नुपर्छ भन्ने भावना भएकी पाठकले करिब १ सय महिलालाई प्रत्यक्ष सीपसँग जोडिसकेकी छन् । अहिले उनीहरू आर्थिक आयआर्जनमा छन् । त्यो देख्दा पनि पाठकलाई खुसी मिल्ने गरेको छ । अब हामी आफैले समाजमा केही गरेर देखाउन सक्ने खालको हुनुपर्छ । घर खर्च चलाउने पैसा अब हामी आफैले कमाउनु पर्छ भन्दै महिला दिदीबहिनीहरूलाई उर्जा दिँदै हिडेँ, फलस्वरूप आज तिनै दिदीबहिनीले फरक–फरक व्यवसाय गरेर बस्नुभएको छ’, उनले भनिन् ।
सामाजिक कर्ममा लाग्दै गर्दा धेरै उतारचढाव पनि भए तर त्यस्ता उतारचढावले मलाई कुनै असर गरेनन् । त्यसैको प्रतिफल आज म यो ठाउँसम्म पुगेकी छु’, उनले भनिन्, ‘समाजसेवामा लाग्दा आर्थिक लाभ हुँदैन तर मर्दा मलामी भने टन्नै कमाउन सफल भएकी छु ।’ बिहान दश बजे घरबाट निस्कने उनी साँझ ५÷६ बजे काम सकेर मात्र घर फर्किने गर्छिन् ।
लामो समयसम्म सामाजिक क्षेत्रमा रहेर महिला तथा बालबालिकाको पक्षमा वकालत गरेकी पाठक अझै अविवाहित छिन् । विवाहको सम्बन्धमा उनी भन्छिन्, ‘कहानी लामो छ, मैले जति समय महिला र बालबालिकाको पक्षमा रहेर काम गरेँ त्यति पीडा पनि भोगेको छु । किनभने त्यतिबेला महिलाको पक्षमा काम गर्ने पारालिगल संस्था, महिला समाज केन्द्रहरूमा प्रायः श्रीमान् श्रीमतीको झगडा, सासुबुहारीको झगडा, नन्दआमाजुको झगडा जस्ता विषय लिएर आउने ती विषयमा प्रवेश गरेपछि एउटा बुहारीलाई गरिने व्यवहारले मलाई भित्रभित्रै पोल्थ्यो, दुःखी बनाउँथ्यो । महिला दिदिबहिनीले पाएको पीडाले मेरो विवाहतिर ध्यान जानै सकेन ।’
श्रीमान्, सासु, ससुरा, नन्द, आमाजु राम्रो भएनन् भने जिन्दगी नर्क जस्तो हुनेरहेछ भन्ने खालका कुराहरू मनमा आउनथाले, त्यसपछि विवाह गर्ने सोच नै मारिदिए । विवाहका लागि हात माग्न धेरै थरिका मान्छेहरू आए तर मेरो इच्छा नै नभएपछि घरपरिवारले पनि बल गर्नुभएन’, पाठकले भनिन्, ‘विवाह गर्नु मात्र ठुलो कुरा रहेनछ, अहिले म जुन ठाउँमा छु, असाध्यै खुसी छु ।’
प्रयास गरेको भए मैले पनि सरकारी जागिरतिर जोडिन सक्थेँ होला, आफ्नै व्यापार व्यवसाय गरेर बस्न सकिन्थ्यो तर मनले सामाजिक कर्म र सेवा गर भनेर भन्दै गर्दा अन्य पेसा रोज्न सकिनँ’, उनले भनिन्, ‘आज पनि समाजका लागि केही गर्दै आएकी छु । भोलि पनि यही समाजकै लागि गर्नेछु । यो बाहेक मैले अन्त खुसी भेटेकी छैन, मेरो जीवन नै सामाजिक सेवा र धर्ममा समर्पित हुनेछ ।’
प्रस्तुती : प्रियास्मृति गजमेर