किसानलाई मलको सास्ती, पाए साढे पाँच केजी मल

गोरक्ष समाचारदाता
दाङ, १२ असार । लामो खडेरीपछि बर्सा भएसँगै किसान धानखेतीको तयारीमा जुटेका छन् । सिंचाइ सुविधा भएको ठाउँका किसानले पहिले नै ब्याड राखिसकेको र अहिले रोपाइँको तयारीमा जुटिरहँदा सिंचाइ सुविधा नभएका ठाउँका किसानले ब्याड राख्न जुटेका छन् । मानो रोपेर मुरी फलाउने तयारीमा जुटेका किसानलाई धानखेती गर्न भने रासायनिक मल अभाव देखिएको छ । यसले किसानलाई निराश बनाएको छ ।

रासायनिक मलका लागि दैनिक सहकारी संस्थासँगै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको कार्यालय घोराहीसम्म धाउने गरे पनि किसानले मल पाउन सकेका छैनन् । धान खेतीका लागि पटक–पटक सहकारी संस्था धाएपछि ब्याड राख्नका लागि साढेपाँच किलो रासायनिक मल प्राप्त गरेको घोराही उपमहानगरपालिका–७ राजपुरका किसान आशाराम चौधरीले बताए । चौधरीले, ‘बर्खा लागिसक्यो, ब्याड राख्नका लागि मल पाएको थिएन ।

पटक–पटक सहकारी संस्था धाएपछि गाउँका लागि ७ बोरा मल आयो । गाउँ लगेर भाग लगाउँदा साढे पाँच केजी एक जना किसानको भाग प¥यो ।’ मलले खेती गर्ने कि ब्याड राख्ने ? किसान दोधारामा रहेको उनले बताए । राजपुर गाउँमा एक सय ३० घरपरिवार भए पनि मलका लागि ६५ घरपरिवार मात्रै आउँदा साढेपाँच किलोका दरले किसानले मल प्राप्त गरेको चौतारी कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद चौधरी बताउँछन् ।

मलका लागि सबै घरपरिवार आएको भए किसानले साढेपाँच किलो मल पनि पाउनसक्ने अवस्था नरहेको उनले बताए । अध्यक्ष चौधरीले भने, ‘सहकारीले पाएको १०० बोरा युरिया र डिएपी मल वडाका १३÷१४ वटा टोललाई बराबर बाँडेका थियौँ । त्यही मध्यको मल राजपुर गाउँमा ६५ घरपरिवारले बाड्दा साढेपाँच केजीका दरले मल भागमा परेको रहेछ ।’ उनले किसानको आवश्यकताका आधारमा मल आउनै नसकेको बताए । अध्यक्ष चौधरीले भने, ‘गाउँमा किसानले मलका लागि दिनहुँ सोधिरहनुहुुन्छ तर जिल्लामै हामीले पाइरहेका छैनौँ ।’

कृषि सामग्री कम्पनी शाखा कार्यालय घोराहीका शाखा प्रबन्धक टोपाराम गौतमले भने मागअनुसार रासायनिक मल आउन नसके पनि जिल्लामा मलको अभाव नहुने बताए । मल आउने क्रम जारी रहेको र जिल्लाको मागको आधारमा करिब आधा मल आइसकेकाले अभाव हुने अवस्था नरहेको गौतमले बताए ।

शाखा प्रबन्धक गौतमले खेतीयोग्य जमिनको आवश्यकताका आधारमा किसानलाई कार्यालयले १६३२.७५० मेट्रिक टन युरिया र ९०२.७०० मेट्रिक टन डिएपी मल बिक्री गरेको बताए । उनकाअनुसार कार्यालयको गोदाममा ३१०.८०० मेट्रिक टन युरिया र ८०.००० मेट्रिक टन डिएपी मल स्टक रहेको समेत छ । घोराही र बंगलाचुली क्षेत्रमा विगतका वर्षमा खपत भएको मल र खेतीयोग्य जमिनका आधारमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मल आवश्यकता रहेको समेत गौतमले बताए ।

शाखा प्रबन्धक गौतमले भने, ‘विगतका वर्षमा रासायनिक मलको खपतको अवस्था र अहिले आएको मलको अनुपातलाई हेर्ने हो भने मलको अभाव हुने अवस्था छैन तर किसानलाई सोध्दा मल पाएको छैनौँ भन्नुहुन्छ ।’ उनले रासायनिक मल सहकारीबाट समान रूपमा किसानलाई वितरण गर्नुपर्ने भए पनि पहुँचवालाले नियन्त्रण गर्दा सबै किसानसम्म मल पुगेन कि भन्ने आशङ्का उत्पन्न भएको समेत बताए । जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट टे«डिङ कर्पाेरेसन कम्पनीले ३० प्रतिशतका दरले रासायनिक मल सहकारी संस्थामार्फत् किसानलाई वितरण गर्ने गरेका छन् ।