मानव अधिकारको अवस्था अझै सुध्रिएन

बालाराम खड्का
तुलसीपुर, १२ असार । नागरिकका मौलिक हकको कार्यान्वयन हुन सकेको छैन । सङ्घीयतासँगै घरदैलोमै सरकार आए पनि राज्यका निकायले अभिभावकीय भूमिका खेल्न सकेका छैनन् । इन्सेक दाङले नेपालमा मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अभिलेख गरिएका घटनाका प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागीले देशमा विभिन्न विसङ्गति, विकृति बढेको र मानव अधिकारका घटना दिन प्रतिदिन बढ्दै गएको बताए । कार्यक्रममा इन्सेक दाङको अर्धवार्षिक प्रतिवेदनमा यस वर्ष पनि जिल्लामा मानव अधिकारको अवस्थामा उल्लेख्य सुधार हुन नसकेको उल्लेख छ ।

तथ्याङ्कमा अहिले पनि नागरिकका मौलिक हकको कार्यान्वयन हुन नसकिरहेको र हत्या, हिंसा, बलात्कार मानव बेचविखन, धम्की, दुव्र्यवहारका घटना राज्य तथा गैरराज्यबाट भइराखेको उल्खेछ । ‘राज्यले नागरिकका लागि गर्छु भनेका काम नगरिएको र गर्ने छैन भनेका काम बलजफ्ती गरिएका थुप्रै घटना रहेका छन्’, प्रतिवेदन पेस गर्दै इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले भने । उनले बितेको ६ महिनामा दाङमा यौनजन्य घटना उल्लेख्य भएको बताए । दाङमा १ सय ५७ वटा विभिन्न घटनमा १ सय ६६ पीडित भएको र जसमा १ सय ४ जना महिला, ६० जना पुरुष, ३५ जना बालबालिका छन् ।

राज्य पक्षबाट ५, गैरराज्य पक्षबाट १ सय ४७ र अज्ञात पक्षबाट ५ वटा घटना भएका छन् । ६ महिनामा बलात्कार, बलात्कारका प्रयास, यौन दुव्र्यवहारका ५२ वटा घटना भएको उल्लेख छ । घटनामा ४ वर्षदेखि ५७ वर्ष उमेरका ज्येष्ठनागरिक पनि बलात्कारमा परेको उल्लेख छ । ६० वर्षका ज्येष्ठ नागरिक कथित बोक्सीको आरोप लगाएर समेत दुव्र्यवहार भएको छ । यस्तै घरभित्रै हुने कुटपिट, मानसिक यातनाजस्ता घरेलु हिंसाका घटना बितेको ६ महिनामा सबैभन्दा धेरै ६२ वटा छन् ।

इन्सेकको अभिलेखमा बालविवाहका ३, बहुविवाहका ३, अपहरण १, कुटपिट ४, दुव्र्यवहार ५, सर्वजनिक सम्पत्ति तोडफोड २, बन्द–हडताल १२, यौन दुव्र्यवहार १२, बलात्कारको प्रयास १, बलात्कार ३९, मानव बेचविखन तथा ओसारपसार ४, हत्या ४, हत्याको प्रयास २ वटा घटना भएका छन् । वितेको ६ महिनामा पत्नीहत्या, भ्रुणहत्या, शिक्षकबाटै विद्यार्थी बलात्कार, जनप्रतिनिधिबाट कर्मचारी कुटिनु तथा शिक्षकमाथि कुटाइ समेत थुप्रै घटना जिल्लामा भएको तथ्याङ्कमा छ ।

खेतीपातीको बेलामा किसानले मल, बिउ पाएका छैनन् भने उत्पादन गरिएका तरकारी खेतमै गाईवस्तुलाई खुवाइएका घटना दाङमा भएका छन् । त्यस्तै मन्दीले वा अन्य कारणले बजारका सटर बन्द छन् भने वर्षौँदेखि सडक आयोजना अलपत्र पर्दा नागरिकले ज्यान गुमाउनु परेको छ । राज्य नागरिक उत्तरदायित्वबाट पन्छिँदै जाने र नागरिक कर्तव्यविमुख हुँदै गएको जस्तो वर्तमान अवस्थमा मानव अधिकारको अवस्थालाई सुदृढ बनाउँदै लैजान राजनीतिक दल, राज्यका निकाय, समाजिक सङ्घसंस्था तथा आम नागरिक समाजको सकारात्मक भूमिका आवश्यक रहेको समेत बताइएको छ ।

रिपोट्सर्् क्लवमा अध्यक्ष शरद रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा अधिकारकर्मी शुष्मा गिरीले भौतिक विकाससँगै मानवीय विकास पनि आवश्यक हुने बताइन् । उनले मानवअधिकारका घटना दिन प्रतिदिन बढेको भन्दै यसलाई न्यूनिकरण गर्न सबै लाग्नुपर्ने बताइन् । ‘मानव अधिकारमैत्री राज्य तथा समाज हामीले निर्माण गर्नुपर्छ, त्यसतर्फ सबै लागनुपर्छ’, उनले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर समितिका सचिव बिमल पौडेलले मानव अधिकारका सवालमा आफूहरूले कोही कसैसँग सम्झौता नगर्ने भन्दै मानव अधिकारमैत्री समाज र राष्ट्र निर्माणका लागि सहयोग गर्ने बताए । नेकपा एमालेका नगर अध्यक्ष माधव वलीले लोकतान्त्रिक व्यवस्थामा संस्कार ठुलो भएको भन्दै संस्कार परिवर्तन आवश्यक भएको बताए । उनले यो वा त्यो नाममा आफूहरूले मानव अधिकार हनन् गर्नेलाई संरक्षण नगर्ने समेत प्रतिबद्धता जनाए ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवत केसीले मानव अधिकारको कार्यान्वय गर्ने बताए । उनले प्रहरी संवेदनशील भएको भन्दै कानुन कार्यान्वयमा आफू लाग्ने बताए । बारका सदस्य अधिवक्ता श्रीराम चौधरीले आत्महत्या दुरुत्साहन, सम्बन्धविच्छेद, लागूऔषध अनुचित लाभका लागि भएका घटना जिल्लामा धेरै भएको बताए । कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रतिवेदन जेएन सागरले गरेका थिए ।