सामाजिक सञ्जालको भ्रममा पर्नुहुँदैन : अध्यक्ष पोख्रेल
गोरक्ष समाचारदाता
दाङ, ८ असार । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले दाङबाट मिडिया साक्षरता अभियान सुरु गरेको छ । केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विहीवार दाङको तुलसीपुर स्थित मेट्रो कलेजबाट अभियानको सुरुवात भएको घोषणा गरेका हुन् ।
अभियान मुलुकका सबै जिल्लाहरूमा सञ्चालन गरिने अध्यक्ष पोख्रेलले बताए । सामाजिक सञ्जाल प्रयोगकर्ताले फैलाएको अफवाह चिर्न पनि मिडिया साक्षरता कक्षा जरुरी परेको अध्यक्ष पोख्रेलको तर्क थियो । मिडिया हाउसले नागरिकलाई रुचि लाग्ने सामग्रीमा ज्ञान, शिक्षा र मनोरञ्जन प्रस्तुत गर्ने मात्र नभइ त्यो सत्यको जगमा लेखिएको छ भन्ने तथ्य हुनुपर्ने पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष पोख्रेलले बताए ।
‘सामाजिक सञ्जाल व्यक्तिविशेषले आफूलाई लागेको अभिव्यक्ति व्यक्त गर्ने माध्यम मात्रै हो’, अध्यक्ष पोख्रेलले भने, ‘त्यो पत्रकारिता होइन र त्यहाँ पत्रकारिताको अभ्यास हुँदैन, सामाजिक सञ्जालको भ्रममा नपरौँ भन्ने हाम्रो आग्रह हो ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत धारणा सामाजिक सञ्जालमा लेख्नसक्ने भए पनि मिडिया हाउसबाट आउने समाचारमा त्यस्तो हुन नसक्ने उनले बताए ।
‘कोरोना महामारीको समयमा घरको आँगन खनेर कालोमाटो वा अङ्गार निकाले कोरोना लाग्दैन भन्ने भ्रम फैलाउनेहरू समाजिक सञ्जाल प्रयोगकर्ता नै थिए’, अध्यक्ष पोख्रेलले भने, ‘तर एउटा जिम्मेवार मिडिया हाउसमा फिल्डका रिपोर्टर र डेस्कमा सम्पादक हुने हुँदा कहिल्यै त्यस्ता गलत कुरा प्रस्तुत गर्न सक्दैन ।’
समाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुचिका कुराहरू लेख्ने र मिडियाले नागरिकका रुचिका कुराहरू लेख्ने उनले बताए । ‘समाचार भनेको व्यक्तिको विचारविनाको सूचना हो भन्ने मान्यता छ’, उनले अगाडि भने, ‘समाजिक सञ्जाल प्रयोगकर्ताले चुनौती आए त्यो मेटाएर भाग्न सक्छन् तर मिडिया हाउसले त्यो चुनौती सामना गर्नुपर्छ र त्यसका तथ्य र आधारहरू प्रस्तुत गर्न सक्नुपर्छ ।’ प्रेस स्वतन्त्रता उपभोक्ताको अधिकारको कुरा हुने हुँदा त्यो पत्रकारको मात्रै विषय नहुने उनले बताएका थिए । राजनीतिज्ञ, व्यूरोक्रेट्सहरूले सामाजिक सञ्जालहरूमा लेख्ने व्यक्तिगत कुराहरू पत्रकारिता नहुने उनले दाबी गरे ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले भनाइ राखेका थिए । मिडिया साक्षरता अभियानमा सहभागी मेट्रो कलेजमा अध्यनरत कानुन पढिरहेका विद्यार्थीले समाजिक सञ्जाल र मिडिया हाउसमा काम गर्ने तौरतरिकाबारे विभिन्न प्रश्नहरू सोधेका थिए ।