प्रियास्मृती गजमेर
लमही,८ असार । वडा कार्यालयमा एक सातादेखि वडा अध्यक्ष र सचिव नहुँदा देउखुरीको एक वडाको काम प्रभावित बनेको छ । राजपुर गाउँपालिका–५ का वडा अध्यक्ष टंकबहादुर विष्ट र वडा सचिव सन्तोष भण्डारी किर्ते नागरिकताको सिफारिस गरेको केसमा मुछिए पछि सम्पर्क विहिन बनेका छन।
वडा अध्यक्ष र सचिब सम्पर्कविहिन बन्दा वडाका अत्यावश्यक कामहरु प्रभावित भएको राजपुर गाउँपालिका–५ का स्थानीय चेतराज यादव बताउँछन् । आफू अनुकुल भएकाले सुरुमा नागरिकता दिने र अहिले सम्पर्क विहिन हुँदा वडा कार्यालयबाट जनताले सेवा पाउन कठिन भएको उनी बताउँछन् ।
वडा अध्यक्ष विष्ट र सचिव भण्डारीलाई राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकको छोरीको छोरालाई छोरा हुन भनेर वडा कार्यालयबाट सिफारिस दिएको आरोप छ । नागरिकता बनाउँदा साक्षी बसेका सोही गाउँका ८ जनालाई प्रहरीले नियन्त्रणमा ल्याई सकेको छ । उक्त मुद्दामा दोषी देखिएका वडा अध्यक्ष विष्ट र वडा सचिव भण्डारी भने फरार छन।
फरार रहेका वडाध्यक्ष र सचिवको मोबाइल नम्बर बन्द छ, उनीहरुको मोबाइल फोनको लोकेसन ट्र्याकिंग गर्दा नेपाल–भारत सिमातिर देखाएकाले दुवै जना भारत भागेको प्रहरीका अनुमान रहेको छ ।
किर्ते नागरिकता लिएको भन्ने उजुरीका आधारमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिएका छन्।
ज्ञानबहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय, दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाइ जन्मदर्ता बनाएको प्रहरीको भनाइ छ। जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिससमेत दिएको थियो।
त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ। पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । नागरिकता बनाइदिने ज्ञानबहादुर विकलाई जेठ २५ गते पक्राउ गरिएको थियो। त्यसपछि नागरिकता लिने विवेक विक जेठ २८ मा पक्राउ परेका थिए भने बाँकी ६ जनालाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिइन्।
यस विषयमा दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पछि अदालतको निर्णय अनुसार किर्ते गरी लिएको नागरिकता रद्द गर्ने र दोषीलाई कानुन बमोजिमको सजाय हुने जानकारी दिएका छन्।