युवराज शर्मा
गाउँमा बस्नेहरु गाउँले र घोराही बजार बस्नेहरु सहरिया भन्ने चलन गाउँघरमा भन्छन् । वास्तविकता पनि त्यही हो तर घोराही बजार पनि घोराही उपमहानगरपालिकामा पर्छ । यो उपमहानरपालिका बनाउँदा धेरै गाउँहरुलाई समावेश गरेर बनाइएको छ । घोराही बजार क्षेत्रमा वडा नं. १४ र वडा नं. १५ मा पर्ने बजार क्षेत्रलाई सहरबजार भन्छन् । नेपालका १५ वटा सहरमध्ये यो सहर आठौँ स्थानमा परेको छ ।
यस सहरलाई सहरीकरणमा गणना गरेको मुख्य कारण गोग्लीको सिमेन्ट कारखानाले देखाएको छ । यहाँ उद्योग व्यवसाय प्रायः छैन । उद्योगका लागि औद्योगिक प्रतिष्ठानहरु छैनन् । स्वास्थ्य र शिक्षाको हव पनि बन्न सकेको छैन । यहाँका व्यापारीहरुले बजारमा विक्री गर्ने सामानहरु पनि बाहिरी जिल्लाहरुबाट खरिद गरी ल्याएका मात्र देख्न सकिन्छ । उपभोक्ताले खरिद गर्ने गर्छन् । जिल्लामा उत्पादन भएका सामानहरु प्रायः छैनन् । त्यसकारण यहाँबाट धेरै नगद बाहिरिन्छ ।
उधारो सामानहरु धेरै बिक्छन् । गाउँलेहरुले बजारमा दुध विक्री नगरे बजार क्षेत्रमा उपलब्ध गराउन व्यवसायीहरुले बाहिरी जिल्लाको आधार र भरोसामा बस्नुपर्छ । पहाडबाट बसाइँ सरेर आएका मान्छेहरुले थोरै मात्रामा र थारु जातिले धेरै मात्रामा तरकारी उत्पादन गरेको पाइन्छ । त्यो पनि बजारलाई पर्याप्त छैन । तरकारी पनि बाहिरी जिल्लाबाट ल्याएर बेच्छन् । त्यस्तै अवस्था फल व्यापारीहरुको छ । बजारलाई हेर्दा आत्मनिर्भरको बाटो अवलम्बन गर्न सकेको पाइन्न । खाद्य आपूर्तिको अवस्थालाई हेर्दा भारतीय चामल धेरै आयात हुन्छ । जिल्लाको नगद पनि भारतीय बजारमा जान्छ । आर्थिक रुपले घोराही बजार धेरै सङ्कटमा परेको छ ।
घोराही बजारमा व्यवसाय गरेर घरभाडा तिर्न समस्या परेको कथा र व्यथा धेरै व्यापारीहरुको सुनिन्छ । धेरै घर खाली छन् । धेरैभन्दा धेरै घरमा कोठाहरु खाली छन् । व्यवसायीहरुको व्यवसाय पनि राम्रोसँग चलेको छैन । बैङ्कको व्याज र सावाँ पनि किस्तामा तिर्न सकेका छैनन् । उधारोमा विक्री भएको सामानको पैसा पनि उठ्दैन । घरेलु आर्थिक अवस्था दिन प्रतिदिन बिग्रिरहेको छ तर बजार बस्नेहरुले गाउँलेहरुलाई तिरस्कार, घृणा र उपेक्षा गरेर बोल्ने गर्दा रहेछन् ।
गाउँलेहरुको नजरमा घोराही बजारमा बस्नेहरुको आर्थिक, सामाजिक, राजनीतिक, नैतिक र व्यावहारिक गुणहरु हराएको पाइयो । नयाँ कपडाको रङ्ग उडेर खुइलिएको अवस्थामा घोराही बजारलाई गाउँलेहरुले देख्ने समय भयो । हुन त थोरै सडकहरु कालोपत्रे बनाएर सहरको मुहार फेर्न खोजेको देखियो तर सडकको स्वरुप फेर्नुभन्दा बजारमा बस्नेहरुले आफ्ना छोराछोरीलाई आत्मज्ञानको अनुशासन र सामाजिक भावनाको दिव्यज्ञान गराएको पाइएन ।
संस्थागत बोर्डिङ स्कुलहरुमा पढ्ने विद्यार्थीहरु पनि पराइसँग बोल्दा अपनाउनु पर्ने स्कुलीय अनुशासन भएको पनि देखिएन । गाउँबाट सहर बस्नेहरु सङ्ख्यात्मक वृद्धि घोराही बजारमा छ । गाउँमा बसेर सहर बस्न रहर गर्नेहरुमा भौतिक विकास गरेको पाइयो । तैपनि मानसिक विकास गरेको देखिएन । नयाँपनको झल्को पनि पाइएन । अर्धसहरबासीको रुपमा गाउँघरमा समय बिताउनेहरु धेरै देखिए ।
घोराही बजारमा आउजाउ गर्न गाउँलेहरुलाई सर्वसुलभ यातायातका साधनहरुमा टेम्पो सेवा सरल र सहज बनेको छ । बसको तुलनामा महँगो भए पनि घरमा गर्ने आयआर्जनबाट खर्च उठाउन सक्छन् । भँैसीको दुध बेचेर, तरकारी विक्री गरेर, कुखुरा बेचेर, मजदुरीको ज्याला रकम पाएर जम्मा भएको आर्थिक जोहोबाट आर्जन गर्ने रकम नै गाउँका गरिब र विपन्न परिवारहरुको आय स्रोत हो । छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँछन् । खेतीका समयमा खेतबारीमा काम गर्छन् ।
खाद्य समस्याको आपूर्ति गर्छन् तर गाउँलेहरुलाई पैसा तिरेर पनि मल र बिउ समयमा नपाउँदा दःुखी छन् । उनीहरु भन्छन्– सरकारले गाउँलेहरुलाई सहयोग गर्दैन । गरिब र विपन्नवर्गका समस्यालाई बुझेकै छैन । सरकार चलाउनेहरु सहरबासी छन् । उनीहरुले गाउँलेहरुको समस्या बुझ्दैनन् । त्यसैले होला गाउँमा ३६ प्रतिशत र सहरबजारमा ६४ प्रतिशतको सङ्ख्या छ । बहुमतको कदर र अल्पमतको कदर गर्ने नीति बढेको छ । सामाजिक वातावरण पनि त्यस्तै छ ।
घोराही बजारमा मोटरसाइकल, रिक्सा, टेम्पो, सामान बोकेका र बोक्ने भ्यानहरु छाडा गतिमा छन् ।उनीहरुलाई ट्राफिक नियम पालना गर्नु पर्दोरहेनछ । यिनीहरु पनि राजनीतिक दलका पारखीहरु भएका छन् । यस्ता व्यक्तिहरुलाई ट्राफिक प्रहरीले कारबाही ग¥यो भने उल्टो सजाय भोग्नुपर्छ । उनीहरुले ट्राफिक प्रहरीहरुलाई भन्दारहेछन् – हामीलाई दण्डजरिवाना गर्नु हुँदैन । अहिलेको सरकार जनताको हो । कर्मचारीहरुले जनतासँग बोल्दा सम्यमता र धीरता अपनाउनुपर्छ ।
हाम्रो पनि सङ्गठन छ तर कर्मचारीहरुको सङ्गठनले बचाउको काम गर्ने मात्र हो । कर्तव्य र दायित्व पूरा गर्नुपर्छ । अधिकार प्रहरीले प्रयोग नगरेर मित्रता बढाउनुपर्छ । प्रहरी पनि जनताको साथी हो र बर्दीको प्रहरी पनि हो, प्रहरीको भनाइ र कानुन प्रयोगमा जनता झुक्नुपर्छ तर उनीहरुसँग झुक्नु हुँदैन । घोराही बजारमा बस्नेहरु चतुर र धूर्त छन् । गाउँघरमा भन्छन्– धन कमाउनेहरु र गाउँले नागरिकलाई देखेमा तिरस्कार गर्नेहरु धेरै सङ्ख्यामा भेटिन्छन् । उनीहरुका नजरमा गाउँलेहरुलाई पछौटे ठान्छन् तर गुगलले नेटवर्कका माध्यबाट माध्यमबाट गाउँलेहरुलाई चेतनशील बनाएको छ ।
लवाइ, खवाइ क्षेत्रमा आधुनिकता र विकसित बनाएको छ । समाचार, सन्देश र खबरखाबरमा सोच्न सक्ने क्षमता बढाएका छन् । वास्तवमा गाउँको विकास भनेको खानेपानीका घरघरमा धारा, आउजाउ गर्न फराकिलो सडक र उज्यालोका लागि बिजुली बत्ती अनिवार्य हुनुपर्छ । सामान्य उपचारका लागि स्वास्थ्य चौकी, केटाकेटी पढाउन शिक्षण संस्था भएमा गाउँ पनि सहर जस्तै बन्नेछ । घोराही बजारमा दगुर्ने र सडक दुर्घटना गराउने साना साधनहरुलाई सबै पक्षबाट नियन्त्रण निर्देशन दिएर मन्दगतिमा चलाउने, होसियार चालकहरुलाई बनाउनु पर्नेछ ।
गाउँबाट घोराही बजार गएको मान्छे साँझसम्म घर आइनपुग्दा घरपरिवार चिन्तित बन्छन् । घोराहीले सामाजिक वातावरण बनाउन सकेको पाइएन । मानिसहरुमा धनको महिमा गाउने र आफूलाई आडम्बरी देखाउने पाइयो । घोराही बजार घुम्दाघुम्दै अहङ्कारी स्वभाव धेरैले देखाएका थिए ।