प्रियास्मृती गजमेर
लमही,६ असार । बर्षादको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लमही नगरपालिका पूर्वतयारीमा लागेको छ । जोखिम युक्त क्षेत्रमा पूर्वसावधानी गराउनेदेखि विपद्का समयमा उदारका लागि आवश्यक सामग्री जुटाउन लमही नगरपालिका लागेको हो ।
पश्चिम क्षेत्रमा बर्षाद बढेसँगै हुन सक्ने क्षेतीलाई न्यूनीकरणका लागि लमही नगरपालिकाले विपत न्यूनीकरणको लागि शुरुवात गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म वडा अध्यक्ष संयोजक रहने गरि वडा स्तरिय विपत व्यवस्थापन समिति गठन गरेको हो । लमही नगरपालिकाका सबैजसो वडाहरु डुबान हुने क्षेत्र हुन् । प्रत्येक वर्षको वर्षायाममा वडाबासीले समस्या झेल्नु पर्ने बाध्यता छ ।
शुरुवाती चरणमा विपदबाट मानिसलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर सरोकारवाला निकायसंग व्यापक छलफल थालेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले मनसुन सक्रिय हुन लाग्दा पूर्वतयारीका बारेमा सुरक्षा निकाय, सबै वडामा रहेको विपत समिति, जनप्रतिनिधि, सरोकारवालालाई राखेर पुर्व तयारीका बारेमा छलफल गरेको हो ।
विपद आउँदा बाजा बजाएर नआउने भएकोले नगरबासीको सुरक्षाका लागि सबै अलर्ट भएर बस्न सबै सरोकारवाला निकायलाई नगर प्रमुख चौधरीले आग्रह गरेका छन् । ‘बर्षायाम शुरु भैसकेको छ, पुर्वीनेपालमा ठुलो संख्यामा मानविय क्षति भएको हामी सबैलाई थाहै छ, गएको दशैँ तिहार ताका मानविय क्षति नभएपनि सास्ती धेरै पायौं, भोग्यौं पनि’,नगर प्रमुख चौधरीले भने,‘त्यसकारण हाम्रो गाउँ ठाउँमा त्यस्ता घटना हुन् नदिन सबै सतर्क रहौं । आवश्यक तयारीमा जुटौ ।’
सकेसम्म विपतमा कोहि नपरौं, यदि परिहालेमा नगरपालिका वा मातहतका निकायमा जानकारी गराउन समेत सबैलाई नगर प्रमुख चौधरीले अनुरोध गरेका छन् । अबरुद्द भएका सडक खुलाउनेदेखि लिएर विद्युत आपूर्ति, खानेपानी, खाद्यान्न जस्ता अत्यावश्यक राहत प्याकेजको बन्दोबस्त सबै स्थानीय सरकारले गर्ने समेत बताए । साथै विपद्का बेला सहयोग गर्न दाताहरुले नगरपालिकासंग समन्वय गर्न सक्ने पनि उनले जानकारी गराएका छन् ।
त्यस्तै पालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा रहेका खोज तथा उद्धारका सामग्रीहरू सशस्त्र प्रहरी बल, नेपाल नं ४१ रिजर्भ गण हेक्वा चन्द्रौटा, कपिलबस्तु, अर्जुनखोलामा भण्डारण गर्ने विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले जानकारी दिनु भयो । थापाका अनुशार वर्षायाम शुरु भएसंगै जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरुको खोज तथा उद्दारका लागि नगरपालिकामा रहेका सवारी साधन चौबिसै घण्टा सेवा दिन सक्ने गरि तयारि अवस्था राख्ने भएको छ ।
१२ लाख प्रभावित हुनसक्ने अनुमान
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक मनसुनजन्य विपद्बाट १२ लाख ५४ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरेको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी कोशीमा ३ लाख १ हजार र सबैभन्दा कम कर्णालीमा करिब ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने प्राधिकरणको अनुमान छ ।
मधेशमा ४ लाख ३ हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४ जनसंख्या प्रभावित हुनसक्ने अनुमान छ । लुम्बिनीमा १ लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूपश्चिममा १ लाख ४७ हजार ६० जना प्रभावित हुने अनुमान छ । नेपालमा मनसुन भित्रिएको एक साता समेत नपुग्दै पूर्वी पहाडी जिल्लामा परेको भारी वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन् भने ५४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।