सामाजिक सेवा नै मेरो खुसी …

सादाजीवन उच्च विचार सादगी अनि सहज जीवनशैली, बिहान ६ बजेदेखि साझँसम्म आफ्नो कर्ममा तल्लीन, रुकुममा जन्मिएर हाल दाङलाई कर्मथलो बनाएका प्रणवकुमार खड्का सधैँ कर्ममा तल्लीन रहन्छन् । चाहे आफ्नो व्यापार व्यवसाय होस् या सामाजिक सेवामा, उनले दैनिकी बिताउने गरेका छन् । उनी गरिब, दुःखी असहायलाई सहयोग तथा सामाजिक सेवामा लाग्दा खुसी मिल्ने गरेको बताउँछन् ।
‘मेरो जीवनशैली तपाईँले देख्नुभएको छ, असहाय र दुःखीको सेवा गर्दा आनन्द हुन्छ, मलाई खुसी लाग्छ’, खड्काले भने । जीवनका उकालीओराली गर्दाका सुख–दुःख धेरै छन्, दुःखभित्र पनि खुसी मिल्छ भनेर खुसी खोज्ने मान्छे हुँ म’, खड्का भन्छन् । खड्काले आफ्नो पहिलो खुसी बिमबहादुरले आँखा देख्दाको भएको सुनाए । नारायणपुर हापुर बगालेका ७२ वर्षीय बिमबहादुर नेपालीको दुवै आँखा शल्यक्रिया गरी उज्यालो प्रदान गर्दा खुसी भएको सुनाए ।
‘५ वर्षदेखि बिमबहादुर आर्थिक अभावका कारण आँखा शल्यक्रिया नगरी घरमै बसेका रहेछन्, अस्पतालबाट विष्णु खनाल र शालिक गौतमले समन्वय गर्नुभयो, त्यसपछि उनलाई हामीले सहयोग गरेका थियौँ’, खड्काले भने । विसं २०७७ सालको कुरा हो, त्यस दिन म निकै खुसी भएको थिए उनले भने । ‘बिमबहादुरले उज्यालो संसार देख्दाको मेरो पहिलो खुसी हो, त्यही लेखिदिनुहोला’, खड्काले सम्झँदै भने ।
त्यस्तै गुरु जजुर माध्यमिक विद्यालय नमुना विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्काले करिब ९ वर्ष विद्यालयको भौतिक, शैक्षिक विकासका लागि लाग्न पाउँदा अर्को खुसी लागेको सुनाए । ‘कठिन परिस्थतिलाई आत्मसात गर्दै विद्यालयलाई नमुना बनाउन पाउँदा खुसी लाग्छ यो मेरो दोस्रो खुसी हो’, उनले भने ।
उनले विद्यालयको रानागाउँ स्थित विद्यालयको अतिक्रमण जमिन भोग चलनमा ल्याइ भौतिक संरचना तयार पारेको भन्दै हाल गुरु जजुर माविको प्रगति, उन्नति देख्दा निकै खुसी लाग्ने गरेको उनले सुनाए । ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा मैले काम गरेँ, धेरै अनुभव सङ्गाल्न पाएको छु, म यसमा पनि खुसी छुँ’, उनले भने ।
त्यस्तै खड्काले गत पुस महिनामा अर्को व्यक्ति भक्तबहादुर विकको आँखाको शल्यक्रियाका लागि आफू र ध्रुव गौतमले सहयोग गरी आँखा उपचार गर्न पाउँदा खुसी लागेको सुनाए । त्यस्तै गत फागुनमा देउखुरी गढवा निवासी यादव परिवारको ४ दिने सुत्केरीलाई दैनिक जीवनको समस्या टार्न आर्थिक सहयोग गर्दा अर्को खुसी लागेको सुनाए । ‘म र साथीभाइले लायन्स क्लब तथा अन्य सङ्घसंस्था र व्यक्तिगत सहयोग निरन्तर गर्ने गरेका छौँं, यसमा पनि मलाई आनन्द लाग्ने गर्छ, समाज सेवा नै मेरो खुसी हो’, खड्काले भने ।
त्यस्तै तुलसीपुर–४ को गायाघाट शवदाहगृह निर्माण गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ध्रुव गौतम तथा आफू र अन्य व्यक्तिहरूको सहयोगबाट शवदाह निर्माण गरेको भन्दै उनले त्यसलाई पनि अर्को खुसीको रूपमा लिए । उनले आफ्नो छुट्टै लगानीबाट २५० मिटर माथिबाट पानीको धारा शवदाहगृह नजिक पानीको धारा जडान गर्दा अर्को खुसी लागेको सुनाए ।
त्यस्तै तुलसीपुर–४ स्थित ठुला खालीमा मन्दिर निर्माण र मन्दिरमा सहयोग गर्न पाउँदा अर्को खुसी मिलेको उनले सुनाए । यस्तै सल्यान रोडदेखि गायाघाटसम्म जाने बाटो निर्माणमा गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘ध्रुव गौतम, पर्साराम खड्का, लोकबहादुर वली, गणेश वलीलगायतको सक्रियातामा हामीले शवदाह स्थल जाने बाटो गराएका थियौँ’, उनले सम्झिए । सो बाटो नहुँदा मानिसलाई अन्त्यष्टि गर्न मलामीहरू हिड्दा निकै समस्या हुने गरेको र हाल सहज भएको उनले बताए ।
त्यस्तै गादीवराह समुदायिक वनको कोषाध्यक्ष भइ काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए । उनले लायन्स क्लब इन्टरनेसनल ३२५ एन को एरिया नं. २ को सचिव हुँदै स्वगद्वारीको पूर्व अध्यक्ष भइ लायन्सको अभियानमा लाग्न पाउँदा अर्को खुसी लागेको सुनाए । त्यस्तै नेपाल नेत्रज्योति सङ्घ दाङको सदस्य भइ परोपकारी संस्थाकामा नेतृत्व गरी सेवा गर्न पाउँदा बेग्लै खुसी लाग्ने गरेको सुनाए । ‘मलाई समाज सेवा र नविनतम कार्य गर्न पाउँदा खुसी मिल्छ’, उनले भने । चाहे त्यो गरिब दुःखीलाई उपचार सहयोग होस् वा खाद्यानदेखि लत्ता–कपडा सहयोग गर्न पाउँदा निकै खुसी लाग्छ’, उनी भन्छन् ।
त्यस्तै उनले विसं २०६३ सालमा बुवा धेरै बिरामी हुँदा भगवानको कृपाले बुवालाई सन्चो हुदा पनि अर्को खुसी लागेको सुनाए । ‘बुवा धेरै बिरामी पर्नुभएको थियो तर भगवान्को कृपाले बुवालाई सन्चो भयो त्यो पल सम्झँदा दुःख लाग्छ भने बुवा सन्चो हुँदा खुसी’, खड्काले भने ।
त्यस्तै आफूलाई व्यापार व्यवसाय, समाज सेवा गर्दा साथ सहयोग गर्ने जीवनसंगीनी ओवाकुमारी खड्का, छोरा प्रज्ज्वल, बुहारी पिमा, छोरीहरू भाग्यलक्ष्मी र निरुता बुवाआमाप्रति उनले आभार व्यक्त गरे । खड्काले आफूलाई सत्कर्म गर्न सहयोग गर्ने र प्रेरणाका स्रोत रामबहादुर खड्का र ध्रुव गौतमलाई समेत सम्झिए । ‘सबै घरपरिवार, इष्टमित्र, साथीभाइले म यो स्थानसम्म आउन र सामाजिक सेवामा लाग्न सहयोग र साथ दिनुभएको छ म त्यसैमा खुसी छु’, खड्काले भने ।
प्रस्तुती : बालाराम खड्का